अमेरिकामा जोन्सन एण्ड जोन्सन भ्याक्सिनको वितरण सुचारु, ५० बर्षमुनीका महिलालाई चेतावनीको सिफारिस
अमेरिकाका संघीय स्वास्थ्य नियामक एजेन्सीहरुले कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिनको प्रयोगमा लगाइएको स्थगन हटाउदै राज्य र स्थानीय अधिकारीहरुलाई भ्याक्सिन वितरणका लागि बाटो खोलिदिएका छन् । भ्याक्सिन लगाएकाहरुमा रगतका थोपा जम्ने समस्या देखिएको भन्दै अमेरिकाभर जोन्सन एण्ड जोन्सनको भ्याक्सिनको वितरण स्थगित गरिएको थियो ।
अमेरिकाको रोग नियन्त्रण र रोकथाम केन्द्र सीडीसीको खोप अभ्यासबारेको समितिले भ्याक्सिनको फाइदाको तुलनामा जोखिम नगन्य रहेको निष्कर्ष निकालेपछि सीडीसी र खाद्य तथा औषधी प्रशासन एफडीएले भ्याक्सिन वितरण सुचारु गर्ने निष्कर्ष निकालेका हुन् । शुक्रबार यस्तो निष्कर्ष निकाल्ने खोप अध्यासबारेको समिति सीडीसीलाई सल्लाह दिने बाहिरको विज्ञहरुको प्यानल हो ।

सल्लाहकार प्यानलले जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लिंग र उमेरको आधारमा प्रयोगका लागि कुनै कडाई वा निषेधको सिफारिस गरेको थिएन । तर ५० बर्षभन्दा कम उमेरका महिलाका लागि भने चेतावनी थप गर्न एफडीएलाई सिफारिस गरेका थिए । शुक्रबार अबेर निकालेको वक्तब्यमा सीडीसी र एफडीएले आफूहरु कोभिड १९ बिरुद्ध भ्याक्सिनको सुरक्षा र प्रभावकारितामा सुनिश्चित भएको र रगतका थोपा जम्ने जोखिम असाध्यै कम रहेको बताएका छन् ।
सुरक्षा आफूहरुको उच्च प्राथमिकता रहेको तथा भ्याक्सिनको स्थगन सुरक्षा जाँचका सन्दर्भमा आफूहरु गम्भिर रहेको उदाहरण रहेको एफडीएका कार्यवाहक कमिश्नर डाक्टर जानेट उडककले बताए । आफूहरुले एफडीए र सीडीसीमा उपलब्ध तथ्यांकका आधारमा सबै स्थगनहरु हटाएको तथा १८ बर्षमाथिकाहरुमा जोन्सन एण्ड जोन्सनको भ्याक्सिनको फाइदालाई जोखिमलाई पराजित गरेको उनले बताएका छन् ।

मोडेर्ना र फाइजरजस्तै जोन्सन एण्ड जोन्सनको भ्याक्सिनले पनि अमेरिकामा आपतकालिन प्रयोगको स्वीकृति पाएको थियो । मार्चमा आपतकालिन प्रयोगको स्वीकृति पाएपछि एकडोजमात्र लगाए पुग्ने यो भ्याक्सिनको वितरण अमेरिकामा तीब्र पारिएको थियो । दुईमहिनाको तथ्यांक सहित आपतकालिन प्रयोगको अनुमति दिइएपनि ६ महिनाको तथ्यांक हेरेर यी भ्याक्सिनहरुलाई प्रयोगको पूर्ण अनुमति दिन सकिनेछ ।
अप्रिल १३ मा १८ देखि ४८ बर्ष उमेरभित्रका ६ जना महिलामा रगतका थोपा जम्ने समस्या देखिएको भन्दै जोन्सन एण्ड जोन्सन भ्याक्सिनको वितरण स्थगित गरिएको थियो । रगतका थोपा जम्दा मस्तिष्कलाई रगत प्रवाहमा बाधा पुग्नसक्ने र मस्तिष्कमा क्षति पुग्नसक्ने खतरा रहन्छ ।
रगतका थोपा जम्ने समस्या १८ बर्षदेखि ४९ बर्षभित्रका हरेक १ मिलियन महिलामध्ये ७ जनामा देखिएको छ । त्यस्तै ५० बर्षमाथिका हरेक १ मिलियन महिलामा शुन्य दशमलव ९ जनामा देखिएको छ । सीडीसीले रगतका थोपा जम्ने समस्याका १५ वटा केसहरु फेला पारेको थियो । जसमा १२ जना महिलाहरु रहेका छन् । तीनजना महिलाको मृत्यु भएको र ७ जनालाई अस्पताल भर्ना गरिएको थियो ।





