अब १६ बर्षमाथिका न्युयोर्क सिटीबासीलाई विना अप्वाइन्टमेन्ट भ्याक्सिन
अब १६ बर्षमाथिका न्युयोर्क सिटीबासीलाई विना अप्वाइन्टमेन्ट कोरोनाबिरुद्धको भ्याक्सिन दिन सुरु गरिएको छ । मेयर बिल ब्लाजिओले सिटीबाट संचालन भ्याक्सिन वितरण केन्द्रहरुमा अब सबैजना विना अप्वाइन्टमेन्ट भ्याक्सिन लगाउनका लागि योग्य भएको घोषणा गरेका हुन् ।
न्युयोर्क सिटीका १६ बर्षमाथिका बासिन्दाहरु अब फाइजर भ्याक्सिन लगाउनका लागि सिटीबाट संचालित साइटहरुमा विना अप्वाइन्टमेन्ट गएर भ्याक्सिन लगाउन सक्नेछन् । त्यस्तै १८ बर्षमाथिका बासिन्दाहरु सिटीबाट संचालित साइटहरुमा विना अप्वाइन्टमेन्ट गएर मोडेर्ना भ्याक्सिन लगाउन सक्नेछन् ।

आजदेखि न्युयोर्क सिटीका ५ वटै बोरोका सिटीबाट संचालित भ्याक्सिनेशन सेन्टरमा सबैका लागि विना अप्वाइन्टमेन्ट भ्याक्सिन दिन सुरु गरिएको हो । यसभन्दा अगाडि ५० बर्षभन्दा माथिकालाई मात्र विना अप्वाइन्टमेन्ट भ्याक्सिन दिइदै आएको थियो ।
न्युयोर्क सिटीमा अहिलेसम्म ६० लाख डोज भ्याक्सिन वितरण भइसकेको छ । २१ लाख न्युयोर्कबासीहरुले दुबै डोज भ्याक्सिन लगाइसकेका छन् ।





