मार्चमा अमेरिकी दूतावासबाट अमेरिकी नागरिकका परिवारका ३५४ जनालाई भिसा, डिभी विजेतालाई दिइएन


प्रकाशित मिति : बैशाख ९, २०७८ बिहीबार

नियमित भिसा सेवा सुचारु नभइसकेको अवस्थामा अमेरिकी दूतावास काठमाडौंले अमेरिकी नागरिकका दम्पत्तिको भिसालाई उच्च प्राथमिकता दिएको छ । मार्च महिनामा अमेरिकी दूतावास काठमाडौंले ४७५ जनालाई आप्रवासी भिसा जारी गरेकोमा अमेरिकी नागरिकका दम्पत्तिहरु २३३ जना  र २४ जना अमेरिकी नागरिकका छोराछोरीहरु रहेका छन् ।

मार्च महिनामा काठमाडौं दूतावासबाट पेशागत तथा अन्य दक्ष कामदारका रुपमा आप्रवासी भिसा पाउनेहरु ६ जना रहेका छन् । ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीहरु ७८ जना तथा ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरी एकजनाले आप्रवासी भिसा पाएका छन् । अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरु ४ जनाले अमेरिकी दूतावास काठमाडौंबाट भिसा पाएका छन् ।

अमेरिकी दूतावास काठमाडौंबाट मार्चमा जारी विभिन्न श्रेणीका आप्रवासी भिसा संख्या

मार्चमा अमेरिकन नागरिकका बुबाआमा ९३ जना, एकबर्ष भन्दा लामो समय बसेका ग्रिनकार्डवाहकका लागि रिटर्निङ रेसिडेण्ट भिसा पाउने ३३ जना रहेका छन् । विदेशमा रहेका अमेरिकी सरकारका निश्चित कामदार वा पूर्व कामदारहरु ३ जनाले मार्चमा काठमाडौं दूतावासबाट आप्रवासी भिसा प्राप्त गरेका छन् ।

ट्रम्प प्रशासनबाट डाइभर्सिटी भिसामा लगाइएको रोक राष्ट्रपति जो बाइडेनले हटाएपनि काठमाडौं दूतावासले मार्चमा डाइभर्सिटी भिसा भने जारी गरेको छैन । बाइडेनले ट्रम्पको आप्रवासन रोक खारेज गरेपछि फेबु्रअरीको अन्तिम साताबाट काठमाडौंको दूतावासले सन् २०२१ का विजेताहरुलाई डाइभर्सिटी भिसा जारी गर्ने अपेक्षा गरिएको थियो । तर फेबु्रअरीमा पनि कुनै डिभी विजेतालाई भिसा दिइएन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मार्चमा विश्वका अधिकांश अमेरिकी दूतावास र कन्सुलेटबाट डाइभर्सिटी भिसा जारी नगरिएको अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको तथ्यांकमा देखिएको छ । विश्वभरबाट मार्चमा २० जनालाई मात्र डाइभर्सिटी भिसा जारी गरिएको तथ्यांकमा देखिएको छ । जसमा घानाका २ जना, अल्जेरियाका १७ जना र क्यामरुनका एकजना रहेका छन् ।

अमेरिकी दूतावास काठमाडौं

कोरोनाको महामारीका कारण अमेरिकी दूतावास काठमाडौंमा नियमित भिसा सेवा सुचारु भएको छैन । कहिलेदेखि सुचारु हुने भन्ने सन्दर्भमा पनि दूतावासले केही बताएको छैन । तर चरणबद्ध भिसा सुचारु गर्ने नियम अनुशार अरु कैयन श्रेणीमा भने सिमित संख्यामा भिसा जारी गरिएको छ ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या भने ३८०१ रहेको छ ।  उनीहरुले गत अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि  ट्रम्पको आप्रवासन रोकका कारण भिसा पाउनमा ढिलो भएको थियो । तर अहिले बाइडेन प्रशासनले रोक हटाउँदा पनि भिसा जारी नगर्नुले उनीहरुमा अन्यौल छाएको छ ।

सन् २०२१ का डिभी विजेताहरुले आगामी सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्ने नियम रहेको छ । सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ ।

आर्थिक बर्ष २०२२ का गत अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भरिएको थियो । यो डिभीको नतिजा भने सन् २०२१ को मे ८ मा सार्वजनिक हुनेछ ।

महामारी सुरुभए यताकै सबैभन्दा धेरै भिजिटर भिसा नविकरण

अमेरिकी दूतावास काठमाडौंले मार्चमा महामारी सुरु भएयताकै सबैभन्दा धेरैको भिजिटर भिसा नविकरण गरेको छ । गत मार्चको अन्तिमसातादेखि दूतावासमा नियमित भिसा सेवा सुचारु भएको छैन तर पनि दूतावासले विना अन्तरवार्ता भिजिटर भिसा भने नविकरण गरिरहेको छ ।

यो मार्चमा अमेरिकी दूतावास काठमाडौंले ७६१ जनाको भिजिटर भिसा नविकरण र जारी गरेको छ । सन् २०२० को मार्चको अन्तिमसाता महामारी बढेदेखि नै काठमाडौं दूतावासले यति धेरै भिजिटर भिसा नविकरण र जारी गरेको यो नै पहिलो पटक हो । अधिकांश भिजिटर भिसा नविकरण भएपनि आपतकालिन अवस्थामा अमेरिका भ्रमण गर्नुपर्ने अवस्था भएकाहरुका लागि नयाँ भिसा पनि जारी गरिएको जनाइएको छ ।

मार्चमा जारी ७६१ भिजिटर भिसामध्ये कतिजनालाई नयाँ भिसा जारी गरिएको हो र कतिजनाको भिसा नविकरण गरिएको हो भन्नेबारे पनि अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलरको तथ्यांकमा खुलाइएको छैन । यद्यपी अमेरिकी दूतावास काठमाडौंले आपतकालिन अवस्था र नविकरणबाहेक नियमित भिजिटर भिसा भने जारी गर्न सुरु गरेको छैन ।

काठमाडौं दूतावासले फेबु्रअरीमा ४९४ जनालाई, जनवरीमा ४१२ जनालाई, डिसेम्बरमा ५६७ जनालाई, नोभेम्बरमा १९६ जनालाई र अक्टोबरमा ४०४ जनालाई भिजिटर भिसा जारी गरेको थियो । त्यस्तै गत सेप्टेम्बरमा ७३ जनालाई र अगस्तमा १४४ जनालाई भिजिटर भिसा जारी गरेको थियो ।

जुलाई र मेमा भने काठमाडौंमा रहेको अमेरिकी दूतावासले कसैलाई पनि गैरआप्रवासी भिसा जारी गरेन । जुनमा ८ जनालाई र अप्रिलमा ९ जनालाई काठमाडौं दूतावासले भिजिटर भिसा जारी गरेको थियो । यसरी जारी गरिएका अधिकांश भिजिटर भिसा पहिले नै भिसा भएकाहरुलाई विना अन्तरवार्ता नविकरण गरिएका भिसा हुन् ।

मार्चमा कुन गैर आप्रवासी श्रेणीमा कतिलाई भिसा ?

सन् २०२१ को मार्चमा अमेरिकी दूतावास काठमाडौंले ६ जनालाई कुटनीतिक भिसा, १३ जनालाई क्रु मेम्बर भिसा, २० जनाालाई विद्यार्थी भिसा, २९ जना विद्यार्थीका डिपेन्डेन्टहरुलाई भिसा, अन्तर्राष्ट्रिय संगठनहरुमा काम गर्ने ९ जनालाई जी फोर भिसा, ७ जनालाई एचवानबी कामदार भिसा, कामदार भिसाका डिपेण्डेण्ट ९ जनालाई एचफोर भिसा जारी गरेको छ ।

मार्चमा काठमाडौं दूतावासबाट जारी विभिन्न श्रेणीका गैरआप्रवासी भिसा

त्यस्तै ७ जनालाई एक्सचेन्ज भिजिटर जे वान भिसा, उनीहरुका डिपेण्डेण्ट ५ जनालाई जे टु भिसा, अमेरिकी नागरिकका मंगेतर १० जनालाई के वा भिसा र एकजनालाई एम वान भिसा जारी गरेको छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com