एनआरएनएबाट निर्मित लाप्राक नमूना बस्तीका ५ सय ७३ नीजि आवास भोलि हस्तान्तरण गरिदै
प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार
गैर आवासीय नेपाली संघको मेगा प्रोजेक्टको रुपमा रहेको ऐतिहासिक लाप्राक नमूना बस्तीको भोलि बिहीबार हस्तान्तरण गरिने भएको छ । नेपालमा २०७२ सालमा गएको महाभूकम्पपछि भूकम्पपीडितका लागि एनआरएनएले बस्ती निर्माणको परियोजना अगाडि सारेको थियो ।
ऐतिहासिक लाप्राक नमूना बस्तीको निर्माण सम्पन्न हस्तान्तरण हुन लागेकोमा आफूलाई गौरवको महसुस भएको एनआरएनए उपाध्यक्ष सोनाम लामाले जानकारी दिए । संघको उपाध्यक्षमा निर्वाचित भएसँगै सोनाम लामालाई लाप्राक नमूना बस्ती परियोजनाको जिम्मा दिइएको थियो ।
ढेढ वर्षको अथक प्रयासपछि आफूले पाएको जिम्मेवारी पूरा गर्न सफल भएको र परियोजना सम्पन्न भएसँगै सबैको सपना साकार भएको लामाले बताउनुभयो । विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउँपालिका वडा नम्बर ४ का ५ सय ७३ वटा नीजि आवास जग्गा धनी पूर्जासहित लाभग्राहीहरुलाई हस्तान्तरण गर्न लागिएको हो ।
उपाध्यक्ष लामाले यस परियोजनालाई सफलताका साथ सम्पन्न गर्न सहयोग गर्ने नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सहरी विकास मन्त्रालय, नेपाली सेना, गोरखा जिल्लाका स्थानीय सरकार, जनप्रतिनिधिहरु, गाउँपालिकाका अध्यक्ष लगायत सम्पूर्ण सदस्यहरु, नेपाल प्रहरी, समाजसेवीलगायत सहयोग गर्ने सबैप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ ।
परियोजनालाई सम्पन्न गर्न अहोरात्र खट्ने एनआरएनए पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घले, जमुना घले लगायत आइसिसी तथा एनसिसीहरु, सम्पूर्ण दाताहरु लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग सबैमा धन्यवाद प्रकट गर्नुभएको छ ।
लामाले भन्नुभयो – ‘नमूना बस्तीका सबै लाभग्राहीहरु, सबै कर्मचारी तथा परामर्श दाताहरु तथा सहयोग गर्नुहुने सबैप्रती हार्दिक आभार प्रकट गर्दछु । यस परियोजनालाई आर्थिक सहयोग गर्नुहुने गैर आवासीय नेपाली संघका अग्रजहरु, सहयोग गर्नुहुने विभिन्न संघसंस्था तथा सहयोगी दाताहरु, नेपाल सरकार, स्थानीय सरकार लगायत सम्पूर्ण दाता एवं अन्य सहयोगी र स्वयसेवक तथा योगदान गर्नुहुने सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै हस्तान्तरण कार्यक्रममा सहभागिताका लागि सबैमा हार्दिक अनुरोध गर्न चाहान्छु ।’