कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिन दोश्रो डोज लगाएको ६ महिनापछि पनि ९० प्रतिशत प्रभावकारी
कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिन दोश्रो डोज लगाएको ६ महिनापछि पनि ९० प्रतिशत प्रभावकारी रहेको तथ्यांक सार्वजनिक भएको छ । मोडेर्नाले भ्याक्सिनको दोश्रो डोज लगाएको ६ महिनापछि पनि कोरोनाबिरुद्ध संरक्षण प्रदान गर्न ९० प्रतिशत र सिकिस्त हुनबाट रोक्न ९५ प्रतिशत प्रभावकारी रहेको तथ्यांक सार्वजनिक गरिएको हो ।
नयाँ तथ्यांकमा अप्रिल ९ सम्मका मामलाहरु समावेश गरिएको छ भने ९ सय भन्दा धेरै मामलाको मूल्यांकन गरिएको थियो । जसमा एकसय सिकिस्त बिरामीका मामलाहरु समेत थिए । नयाँ तथ्यांकले मोडेर्ना भ्याक्सिनलाई अमेरिकामा पूर्णरुपमा प्रयोगको अनुमतिका लागि आवेदन दिन एककदम नजिक ल्याएको छ ।

गत डिसेम्बरमा अमेरिकामा मोडेर्ना भ्याक्सिनले आपतकालिन प्रयोगको अनुमति पाएको थियो । तर पूर्णरुपमा अनुमति पाउनका लागि भने भ्याक्सिनको प्रभावकारिता सन्दर्भमा कडा प्रकारको पुनरावलोकन उत्तिर्ण गर्नुपर्छ । पूर्णरुपमा अनुमति पाएपछि भने कम्पनीले भ्याक्सिन सिधै ग्राहक र अमेरिकामा रहेका निजी कम्पनीहरुलाई बेच्न पाउनेछ ।
मोडेर्नाले आपतकालिन अनुमतिका लागि २ महिनाको तथ्यांक एफडीए समक्ष पेश गरेको थियो । पूर्णरुपमा अनुमति पाउनका लागि कम्तीमा ६ महिनाको तथ्यांक पेश गर्न आवश्यक छ । अहिले अमेरिकामा यो भ्याक्सिन १८ बर्षभन्दा माथिका व्यक्तिलाई लगाउन स्वीकृति प्रदान गरिएको छ ।
मोडेर्नाले यो तथ्यांक प्राथमिक रहेको र लक्षण नदेखिनेसंक्रमण भ्याक्सिनको प्रभावकारिता तथा एन्टीबडीको अवस्थाबारे बर्षभरी नै अद्यावधिक तथ्यांकहरु सार्वजनिक गर्दै जाने बताएको छ । यसअगाडि अर्को भ्याक्सिन फाइजरले पनि दोश्रो डोज लगाएको ६ महिनापछि पनि भ्याक्सिनको प्रभावकारिता उच्च रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।

मोडेर्नाले अहिले १७ बर्षभन्दा कम उमेरका व्यक्तिमा भ्याक्सिनको परीक्षण गरिरहेको छ । १२ देखि १७ बर्षसम्मका व्यक्तिमा भ्याक्सिनको परीक्षण भइरहेको र परीक्षणमा अमेरिकामा ३ हजार सहभागी रहेको कम्पनीले जनाएको छ । ६ महिनादेखि ११ बर्षसम्मकाहरुमा पनि भ्याक्सिनको परीक्षणका लागि सहभागीहरुलाई समावेश गराइदैछ । अमेरिका र क्यानडामा ६ हजार ७ सय ५० सहभागी हुने अपेक्षा गरिएको छ ।





