२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026
भ्याक्सिन अपडेट

रगतका थोपा जम्ने समस्यापछि अमेरिकाभर जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरण स्थगित

भ्याक्सिन लगाएका व्यक्तिमा रगतका थोपा जम्ने समस्यापछि अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सीडीसी र फुड एण्ड ड्रग एड्मीनिष्ट्रेशन एफडीएले अमेरिकाभर जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरण स्थगित गरेका छन् । अमेरिकामा उक्त भ्याक्सिन लगाएका कम्तीमा ६ जनामा दुर्लभ र गम्भिर प्रकारको रगतका थोपा जम्ने समस्या पाइएपछि संघीय अधिकारीहरुले मंगलबार भ्याक्सिन वितरण स्थगित गरेका हुन् ।

सबै ६ वटा मामलाहरु १८ देखि ४८ बर्षभित्रका व्यक्तिमा भ्याक्सिन लगाएको ६ देखि १३ दिनभित्र देखिएको एफडीए र सीडीसीले जारी गरेको वक्तब्यमा जनाइएको छ । सीडीसीले पुनरावलोकनका लागि सल्लाहकार समितिको बैठक बुधबारका लागि बोलाएको छ । एफडीएले पनि अनुसन्धान जारी राख्ने भएको छ ।

अनुसन्धानको प्रकृया जारी रहुन्जेलसम्मका लागि सावधानीका लागि भ्याक्सिनको प्रयोग स्थगित गरिएको वक्तब्यमा उल्लेख छ । रगतका प्लेटलेसमा कम स्तरमा रगतका थोपा जमेको पाइएको एजेन्सीले जनाएको छ । त्यस्तो अवस्था आएमा उपचार कसरी गर्ने भन्ने सन्दर्भमा पनि अनुसन्धान भइरहेको छ ।

सामान्यतया रगत जम्ने समस्या आउँदा हेपारिन नामको औषधी दिनुपर्ने भएपनि यो अवस्थामा उक्त औषधी चलाउनु खतरापूर्ण रहेको जनाइएको छ । त्यसैले वैकल्पिक उपचार विधि अपनाउनुपर्ने संघीय एजेन्सीहरुले जनाएका छन् । रगत जम्ने समस्या दुर्लभ भएपनि जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएकाहरुमा तीनसाताभित्र पेट दुख्ने, असाध्यै टाउको दुख्ने, खुट्टा दुख्ने स्वास फेर्न गाह्रो हुने समस्या देखिएमा चिकित्सकसँग सम्पर्क गर्न सुझाव दिइएको छ ।

जोन्सन एण्ड जोन्सनले भने भ्याक्सिन लगाएका व्यक्तिका सबै प्रकारका रिपोर्टहरु आफूहरुले सार्वजनिक गर्ने बताउँदै अहिलेसम्म दुर्लभ प्रकारका त्यस्ता साइड इफेक्टहरु र भ्याक्सिनबीच कुनै स्पष्ट सम्बन्ध नरहेको बताएको छ । आफूहरुले विज्ञहरु र नियामकहरुसँग नजिकबाट काम गरिरहेको कम्पनीले जनाएको छ ।

रगतका थोपा जम्ने समस्या ४० को उमेरकी नेब्रास्का निवासी एकजना महिलामा जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएको दुईसातापछि देखिएको थियो । उनलाई नेब्रास्का मेडिकल सेन्टर ओमाहामा भर्ना गरिएको थियो । अहिले पनि ती महिलाको अस्पतालमा नै भइरहेको जनाइएको छ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →
लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →