नेपालमा वितरित चाइनिज भ्याक्सिनको प्रभावकारिता कम रहेको चीनका अधिकारीबाट स्वीकार
चाइनिज भ्याक्सिनको प्रभावकारिता अत्यन्तै कम रहेको चीनका अधिकारीले स्वीकार गरेका छन् । चीनको रोग नियन्त्रण केन्द्रका निर्देशक गाओ फुले चीन र चीनको भ्याक्सिन स्वीकृत गरेका ६० भन्दा बढी देशले उनीहरुको वितरण कार्यक्रममा समायोजन गर्न आवश्यक रहेको बताएका छन् ।
चाइनिज भ्याक्सिनको प्रभावकारिता कम भएका कारण ठूलो डोज लगाउनुपर्ने वा अन्य शटसँग मिसाउनुपर्ने हुनसक्ने चीनका बरिष्ठ अधिकारीले बताएका हुन् । चाइनिज भ्याक्सिनको व्यापक वितरणले भ्याक्सिनबारे कुनै परिवर्तन भएमा करोडौं व्यक्ति प्रभावित हुनेछन् ।
भ्याक्सिनको प्रभावकारिता बढाउन भ्याक्सिनको मात्रा बढाउने, डोजहरु दुईभन्दा बढी बनाउने, दुईडोजबीचको अवधिमा परिवर्तन गर्ने र भ्याक्सिनको प्रकारमा समेत परिवर्तन गर्नुपर्ने हुनसक्ने गाओ फुको भनाई छ । भ्याक्सिनको प्रभावकारिता थोरै वा धेरै हुनसक्ने भएकाले त्यसलाई बढाउन बैज्ञानिकहरुले काम गर्नुपर्ने उनको भनाई छ ।
चीनमा उत्पादन भएको भ्याक्सिन सिनोभ्याक ब्राजिलमा परीक्षण गर्दा त्यसको प्रभावकारिता ५० प्रतिशतमात्र देखिएको थियो । त्यसको तुलनामा वास्तविक विश्वमा अमेरिकामा उत्पादन भएका फाइजर र मोडेर्नाको प्रभावकारिता ९० प्रतिशत देखिएको थियो ।

गत महिना चीनमा उत्पादन गरिएको सिनोफार्म भ्याक्सिन वितरण गरेका यूएईका वितरकहरुले भ्याक्सिनको तेश्रो डोजका लागि प्रस्ताव गरेका थिए । दुईवटा डोजहरु लगाउँदा त्यसको प्रभावकारिता कम देखिएका केही व्यक्तिका लागि यस्तो प्रस्ताव गरिएको थियो ।
नेपालमा वितरण सुरु गरिएको चाइनिज भ्याक्सिनपनि सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन हो । काठमाडौं उपत्यकामा तोकिएका अस्पतालबाट उक्त खोप वितरण भइरहेको छ ।
उक्त खोप चीनको छात्रवृतिमा अध्ययन गरिरहेका विद्यार्थी, हिमालयपार व्यापारमा संलग्न व्यक्ति र अत्यावश्यक सेवामा संलग्न व्यक्ति लगायतलाई प्रदान भइरहेको छ । अत्यावश्यक सेवाहरूमा स्वास्थ्य सेवा, खानेपानी, दुग्धपदार्थ वितरण, हवाई यातायात कर्मचारी, औषधि व्यवसायमा संलग्नहरू पर्छन् ।

चीनले नेपाल सरकारलाई अनुदानमा सिनोफार्मको ‘भेरोसेल’ खोपको ८ लाख डोज दिएको हो। चीन सरकारले चीनले विकास गरेको कोभिड खोप लगाएका विदेशीहरूलाई चीनमा आवतजावत सहज गराउने बताइसकेको छ ।
औषधि व्यवस्था विभागले यो खोपलाई गत फागुन ४ गते नै प्रयोगको अनुमति दिएको थियो। दुई डोज लगाउनुपर्ने खोप करिब २८ दिनको अन्तरालमा लगाउनु पर्छ। यो भ्याक्सिन ७९ प्रतिशत प्रभावकारी रहेको कम्पनीले दावी गरेपनि ब्राजिलमा गरिएको परीक्षणमा ५० प्रतिशत प्रभावकारी देखिएको थियो । यो भ्याक्सिनको प्रभावकारिताबारे फरकफरक तथ्यांकहरु रहेका छन् ।
त्यस्तै नेपालले अक्सफर्ड आस्ट्राजेनेकाले विकाश गरेको र भारतको कम्पनीमा बनाइएको कोभिशिल्ड खोप वितरण गरिसकेको छ । कोभिशिल्ड झण्डै १८ लाखलाई दिइसकिएको छ ।
मन्त्रालयसँग अब करिब साढे पाँच लाख मात्रा कोभिशिल्ड खोप बाँकी रहेको र सुरुमा लगाएकाहरुलाई दोस्रो मात्रा वैशाख ७ गतेदेखि दिइने जनाइएको छ ।





