जोन्सन एण्ड जोन्सनको भ्याक्सिनको साइड इफेक्टपछि जर्जियासहित तीन राज्यमा वितरणमा रोक
जोन्सन एण्ड जोन्सनको भ्याक्सिनको प्रतिकुल साइड इफेक्टहरु देखिएपछि जर्जियामा भ्याक्सिन वितरणमा रोक लगाइएको छ । यसरी जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरणमा रोक लगाउने जर्जिया अमेरिकामा तेश्रो राज्य भएको छ ।
भ्याक्सिन लगाएका ८ जनामा प्रतिकुल साइड इफेक्टहरु देखिएपछि जर्जियामा जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरण स्थल बन्द गरिएको हो । यस अगाडि नर्थ क्यारोलिनामा १८ जनामा र कोलोराडोमा ११ जनामा जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएपछि प्रतिकुल साइड इफेक्ट देखिएको थियो । जसमा कारण ती राज्यहरुमा जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरण स्थल बन्द गरिएको थियो ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएपछि चक्कर लाग्ने र बेहोस हुनेजस्ता साइड इफेक्ट देखिएको जनाइएको छ । अमेरिकामा तीनवटै भ्याक्सिनबाट अहिलेसम्म झण्डै ६० हजारमा कडा खालको साइड इफेक्ट देखिएको छ । अहिलेसम्म जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरण गर्ने ४ वटा स्थलहरु बन्द गरिएको छ ।
बुधबार जर्जियामा भ्याक्सिन लगाएका ८ जनामा रिंगटा लाग्ने र ढल्ने समस्या देखिएपनि गर्मी मौषमका कारण यस्तो भएको हुनसक्ने समेत जनाइएको छ । वातावरणीय अवस्थाका कारण यस्तो भएको हुनसक्ने र यसको सम्बन्ध भ्याक्सिनसँग भएजस्तो आफूहरुलाई नलागेको नर्थ जर्जियाका हेल्थ डिस्ट्रिक्ट प्रवक्ता डेभ पाल्मरले बताएका छन् ।

जर्जियाको उक्त वितरणस्थलमा भ्याक्सिन लगाएका २ प्रतिशतभन्दा कम अर्थात् ४३५ जनामा कडा खालको साइड इफेक्ट देखिएको थियो । उक्त भ्याक्सिन वितरणस्थल चिसो बनाउन एकदमै कठिन रहेको तथा उक्त स्थलमा पंखाहरु रहेपनि उक्त दिन अत्यन्तै गर्मी रहेको पाल्मरको भनाई छ ।





