न्युयोर्कमा भोलिदेखि १६ बर्षमाथिका सबै भ्याक्सिनका लागि योग्य
न्युयोर्कमा भोलि अप्रिल ६ देखि १६ बर्षमाथिका सबै भ्याक्सिनका लागि योग्य हुने भएका छन् । गभर्नर एन्ड्रयु कुमोले सोमबार यसको घोषणा गर्दै अप्रिल ६ बाट भ्याक्सिन र अप्वाइन्टमेन्टका लागि १६ बर्ष माथिका सबै योग्य हुने जानकारी दिएका हुन् ।
राष्ट्रपति जो बाइडेनले मे १ बाट अमेरिकाभर सबै भ्याक्सिनका लागि योग्य हुने डेडलाइन तय गरेपनि त्यो भन्दा एकमहिना अगाडि नै सबै न्युयोर्कबासीहरु योग्य हुने भएका छन् ।
न्युयोर्क र न्युजर्सीमा कोरोना संक्रमणको दर बढ्दै गर्दा यो घोषणा आएको हो ।

न्युयोर्कमा कोरोनाको नयाँ प्रकारका कारण महामारीको नयाँ छाल फैलिनसक्ने स्वास्थ्य अधिकारीहरुले चेतावनी दिएका छन् ।
यसैबीच स्टाण्डफोर्ड युनिभर्सिटीका शोधकर्ताहरुले कोरोना भाइरसको भारतीय प्रकारको पहिलो संक्रमण अमेरिकाको क्यालिफोर्नियामा फेला परेको पुष्टी गरेका छन् । भारतमा पहिलोपटक देखिएको उक्त भाइरसको प्रकार उत्तरी क्यालिफोर्नियामा देखिएको हो ।
नयाँ प्रकारको भाइरसका पनि दुईवटा म्युटेशन रहेको जनाएको छ । सान फ्रान्सिस्कोको बे एरियामा रहेका बिरामीमा कोरोनाको उक्त प्रकार भएको पुष्टी भएको हो । स्टाण्डफोर्ड हेल्थ केयरका प्रवक्ता लिसा किमका अनुशार अमेरिकामा यो प्रकारको कोरोना भेटिएको पहिलो घटना हो ।

कोरोनाको यो प्रकार गत महिना भारतमा भेटिएको अधिकारीहरुले बताएका छन् । भारतमा कोरोना संक्रमण सेप्टेम्बरबाट घटेको थियो । तर पछिल्लो समयमा कोरोनाको संक्रमण तीब्र बनेको छ ।
अमेरिकाको क्यालिफोर्नियामा कोरोना संक्रमणदर घटिरहँदा नयाँ प्रकार भेटिएपछि स्वास्थ्यविदहरुले चिन्ता व्यक्त गरेका छन् । कोरोना संक्रमण घटेपछि लस एन्जलस लगायतका क्षेत्रमा नियमहरु खुकुलो पार्दै अर्थतन्त्र विस्तारै खुला गरिदैछ ।
देशभरमा क्यालिफोर्नियामा सबैभन्दा धेरै कोरोनाका संक्रमणहरु रिपोर्ट गरिएको छ ।





