भ्याक्सिन कार्ड लेमिनेशन गर्नु अगाडि ध्यान दिनुपर्ने केही कुराहरु
यदि तपाईले कोरोनाबिरुद्धको भ्याक्सिनका पूरै डोज लगाउनुभएको छ भने तपाईले आफ्नो भ्याक्सिन कार्ड लेमिनेट गरेर राख्न सक्नुहुन्छ । स्टापल, अफिस डिपो लगायतले तपाईलाई निशुल्क कार्ड लेमिनेट गर्न समेत सहयोग गर्दै आएका छन् ।
जोन्सन एण्ड जोन्सनको एउटा डोज र अन्य भ्याक्सिनको दुईवटा डोज लगाएपछि तपाईले कार्ड लेमिनेशन गर्न सक्नुहुनेछ । तर लेमिनेशन गर्नु अगाडि तपाईले केही कुरामा ध्यान दिन आवश्यक छ ।
पहिलो, कार्डमा भएको विवरण सही भए नभएको राम्रोसँग चेक गर्नुहोला । तपाईको नाम, जन्ममिति, भ्याक्सिन लगायतको मिति र स्थान लगायतका विवरणहरु सही छन् भने तपाईले आफ्नो कार्ड लेमिनेशन गर्न सक्नुहुनेछ । कार्डमा यस्ता विवरणहरु हातैले लेखिने भएकाले कहिलेकाही गल्ती समेत भएको हुनसक्छ ।

तपाईले कार्डको ब्याकअप समेत राख्न नविर्सनुहोला । कार्डको फोटो खिचेर आफ्नो फोनमा राख्न सुझाव दिइएको छ । अझ इमेलमा पठाएमा अझ सुरक्षित हुनेछ । पहिलो डोज लगाएपछि पनि दोश्रो डोज लगाउने बेलासम्म कार्ड हराउनसक्ने जोखिमलाई ध्यानमा राखेर फोटो खिचेर सुरक्षित गर्न सुझाव दिइएको छ ।
लेमिनेशन गर्दा कार्डमा क्षति समेत हुनसक्छ । यसबारे ध्यान दिनुपर्छ । कहिलेकाँही मसी लतपतिएर कार्ड काम नलाग्ने हुनसक्छ । तपाईको कार्ड क्षति भएमा तपाईले भ्याक्सिन प्रदायकलाई सम्पर्क गरेर नयाँ कार्ड प्राप्त गर्न सक्नुहुनेछ । तर यो प्रकृया झन्झटिलो हुनसक्छ ।
आफ्नो भ्याक्सिन कार्ड सामाजिक सञ्जालमा पोष्ट नगर्नुहोला । गरिहाले पनि विवरणहरु छोपेरमात्र गर्नुहोला । तपाईको नाम, जन्ममिति, भ्याक्सिनको लट नम्बर लगायतका कैयन विवरणहरु हुने भएकाले उक्त विवरणको दुरुपयोग समेत हुनसक्छ ।
तपाईले कार्ड लेमिनेशन गरेपनि नगरेपनि प्रमाणलाई महत्वपूर्ण मानिन्छ । न्युयोर्कले अनलाइनबाट भ्याक्सिन पासपोर्ट उपलब्ध गराएको छ । तपाईले भ्याक्सिनको पूरै डोज लगाएको १४ दिनपछि भ्याक्सिन पासपोर्टमा पहुच कायम गर्न सक्नुहुनेछ । कार्डको प्रमाण सुरक्षित राखेको खण्डमा लेमिनेशन अनिवार्य भने छैन ।





