तत्वहरुको मिक्सअपपछि अमेरिकामा फ्याकियो जोन्सन एण्ड जोन्सनको १५ मिलियन डोज भ्याक्सिन
भ्याक्सिन निर्माणका लागि आवश्यक तत्वहरुको मिक्सअपपछि अमेरिकामा कोरोनाबिरुद्धको भ्याक्सिन जोन्सन एण्ड जोन्सनको १५ मिलियन डोज फ्याकिएको छ । कम्पनीको बाल्टिमोरमा रहेको उत्पादन केन्द्रमा तत्वको मिश्रण भएको हो । जसका कारण भ्याक्सिनको डेलिभरीमा समेत ढिलाइ हुने भएको छ ।
बाल्टिमोरमा रहेको भ्याक्सिनको उत्पादन केन्द्र इमर्जिङ बायोसोलुसनमा कर्मचारीहरुले भ्याक्सिनका दुइवटा डोजहरु मिक्सअप गरेका थिए । एफडीएको अनुसन्धानका कारण जोन्सन एण्ड जोन्सनको भ्याक्सिनको वितरणमा ढिलाई गरिएको छ । भ्याक्सिनमा भएको यो नोक्सानीले मेसम्म अमेरिकामा सबैलाई भ्याक्सिन दिइसक्ने योजना प्रभावित नहुने अधिकारीहरुले बताएका छन् ।

यसैसातादेखि अमेरिकामा प्राय सबै राज्यमा १६ बर्षमाथिका सबै कोरोनाबिरुद्धको भ्याक्सिन प्राप्त गर्न योग्य बनाइएको छ । जोन्सन एण्ड जोन्सनले यसैबर्षको अन्त्यसम्ममा भ्याक्सिनका १ बिलियन डोज डेलिभर गर्ने योजना बनाएको छ । अहिले अमेरिकाभर वितरण गरिएका जोन्सन एण्ड जोन्सनका डोजहरु भने नेदरल्याण्डसमा उत्पादन गरिएका हुन् ।

तर अप्रिलमा वितरणका लागि अमेरिकाको बाल्टिमोरमा रहेको उत्पादन केन्द्र इमर्जिङ बायोसोलुसनमा भ्याक्सिन उत्पादनको काम भइरहेको थियो । ती भ्याक्सिन अप्रिलमा अमेरिकाभर वितरण गर्ने योजना बनाइएको थियो । इमर्जिङ बायोसोलुसन जोन्सन एण्ड जोन्सन र आष्ट्राजेनेका भ्याक्सिन दुबैको पार्टनर कम्पनी हो ।





