नेपालमा दिइएको आष्ट्राजेनेका अमेरिकामा परीक्षण, सिकिस्त हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी
प्रकाशित मिति : चैत्र ९, २०७७ सोमबार
अमेरिकामा गरीएको परीक्षणमा आष्ट्राजेनेका भ्याक्सिन लक्षणसहितको कोरोना संक्रमण रोक्नमा ७९ प्रतिशत प्रभावकारी देखिएको छ । त्यस्तै सिकिस्त बिरामी हुनबाट रोक्न र अस्पतालमा भर्ना हुनबाट रोक्न भने शतप्रतिशत प्रभावकारी देखिएको कम्पनीले सोमबार जनाएको छ ।
अमेरिकामा गरिएको तेश्रो चरणको क्लीनिकल परीक्षणमा ३२ हजार सहभागी भएका थिए । अक्सफोर्ड युनिभर्सिटीले विकाश गरेको यो भ्याक्सिन अमेरिकामा स्वीकृतिका लागि अमेरिकामा नै परीक्षणको आवश्यकता भएकाले तेश्रो चरणको छुट्टै क्लीनकल परीक्षण गरिएको हो ।
भ्याक्सिनबाट रगत जम्ने वा त्यस्तो प्रकारको कुनै सुरक्षा खतरा नरहेको निष्कर्ष निकालिएको छ । कम्तीमा एउटा डोज लगाएका २१ हजार ५ सय ८३ जना सहभागीहरुमा त्यस्तो प्रकारको कुनै समस्या नदेखिएको एउटा स्वतन्त्र समितिले जनाएको छ । भ्याक्सिन अमेरिकाका साथमा पेरु र चिलीमा पनि तेश्रो चरणको परीक्षण गरिएको थियो ।

अब आष्ट्राजेनेकाले समकक्षीहरुको स्वतन्त्र पुनरावलोनकका लागि बैज्ञानिक जर्नलमा उक्त रिपोर्ट प्रकाशित गर्ने जनाएको छ । अप्रिलको मध्यसम्म अमेरिकामा प्रयोगको अनुमतिका लागि एफडीएसमक्ष आवेदन दिने तयारी गरिरहेको कम्पनीले जनाएको छ । यदि स्वीकृति प्रदान भएमा यो अमेरिकामा उपलब्ध चौथो भ्याक्सिन हुनेछ ।
परीक्षणमा क्रममा ३२ हजार जनालाई चारसाताको अन्तरमा दुईडोज भ्याक्सिन वा सलाइन दिइएको थियो । सहभागीमध्ये ७९ प्रतिशत श्वेत, २२ प्रतिशत हिस्पानिक, ८ प्रतिशत अश्वेत, ४ प्रतिशत आदिवासी अमेरिकन र ४ प्रतिशत एसियन रहेका थिए ।
२० प्रतिशत सहभागीहरु ६५ बर्षभन्दा माथिका रहेका थिए । जसमध्ये ६० प्रतिशत मधुमेह, मुटुको रोग, मोटोपन रहेकाहरु थिए । ६५ बर्षभन्दा माथिकाहरुमा लक्षणसहितको संक्रमण रोक्न भ्याक्सिनको प्रभावकारिता ८० प्रतिशत रहेको जनाइएको छ ।
यो भ्याक्सिन नेपालमा पनि वितरण गरिएको छ । नेपालमा फ्रन्टलाइनर स्वास्थ्यकर्मी, कर्मचारीहरु, पत्रकारहरु, ६० बर्षमाथिकाहरुलाई यो भ्याक्सिनको पहिलो डोज दिइसकिएको छ । भ्याक्सिनको दोश्रो डोज १२ हप्ताभित्र लगाउन सकिने जनाइएको छ ।

नेपालमा कोरोनाविरुद्धको कोभिशिल्ड खोपको १० लाख भारतबाट निशुल्क प्राप्त भएको थियो भने १० लाख डोज नेपाल सरकारले भारतस्थित सीरम इन्स्टिट्यूट अफ इन्डियासँग किनेको हो । नेपाल सरकारले एक डोज ४ डलरका दरले किनेको हो ।
किनेको बाँकी भ्याक्सिन आउन बाँकी छ । विश्व स्वास्थ्य संगठनबाट अनुदानस्वरुप उपलब्ध कोभ्याक्स सुविधाअन्तर्गत ३ लाख ४८ हजार डोज पनि नेपाल आइसकेको छ । तर कोभ्याक्स अन्तरगत बाँकी भ्याक्सिन आउन बाँकी छ ।
चीनले नेपाललाई ३ लाख डोज कोरोनाबिरुद्धको भ्याक्सिन अनुदान दिएपनि नेपाल सरकारले उक्त भ्याक्सिन लिन अझै पठाएको छैन । उक्त भेरोसेल खोप चाइनिज कम्पनी सिनोफार्मले बनाएको हो । उक्त खोपलाई नेपालको औषधि व्यवस्था विभागले अनुमति दिइसकेको छ ।





