तरकारी किन्न घरमै गाडी पुगेपछि कृषकलाई राहत


प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार

गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरकी भगवता कुँवर आफ्नै करेसाबारीमा फलेका खुर्सानी टिपेर सिमीचौरको बाँसखर्क आइन् । उनले आफ्नै करेसाबारीबाट टिपेर ल्याएको खुर्सानी खरिद गर्न रेसुङ्गा नगरपालिकाको गाडी त्यस स्थानमा पुगेकी थिइन् । नगरपालिकाले तोकेको भाउअनुसार आधा किलो खुर्सानीको उनले रु ७० पाउने भइन् । “खुर्सानी, केराउका मन्टा, रायो साग, पिडालुलगायतका तरकारी नगरपालिकाले खरिद गरिदिन्छ”, उनले भनिन्, “तरकारी बेचेको पैसा पनि केही दिनपछि घरमै आउँछ ।”

आफूहरुले तरकारी बिक्री गरेर मासिक रु पाँच हजारसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । घरमा भएको सबै कृषि उपज नगरपालिकाले खरिद गरिदिँदा स्थानीय कृषकले उत्पादन गरेको तरकारीले बजार पाएको र राम्रो आम्दानीको स्रोत भएको उनले बताइन् । श्रीमान् रोजगारीका लागि विदेशमा भए पनि घरमा आफू र छोरीको खर्च चलाउन श्रीमान्को आस गर्नुनपर्ने उनको अनुभव छ ।

सोही ठाउँकै मीना पाण्डे पनि नगरपालिकाले उत्पादित सबै कृषि उपज खरिद गरिदिन थालेपछि स्थानीय उत्पादनले राम्रो बजार पाएको र आम्दानीको स्रोत बढेको बताउँछिन् । नगरपालिकाको गाडी आउँदा प्रत्येकपटक थोरै भए पनि तरकारी बिक्री गर्ने र त्यसबाट घर खर्च चलाउन सहज भएको उनको बुझाइ छ । “पहिले–पहिले एक पाउ तरकारी बोकेर बजारमा बेच्न जाँदैन थियौँ”, उनले भनिन्, “अहिले गाउँमा आएको गाडीले तरकारी लैजान्छ ।”

नगरपालिकाले पिडालु प्रतिकिलो रु ५० र अदुवा प्रतिकिलो रु ९० मा खरिद गर्ने गरेको उनले बताइन् । पिडालु, गिठ्ठाजस्ता कहिल्यै बिक्री नहुने तरकारी र फलफूलजन्य उपज पनि नगरपालिकाले खरिद गरिदिँदा आफूहरुको आम्दानीको स्रोत राम्रो भएको उनी बताउँछिन् । नगरपालिकाले हाटबजार सञ्चालन गरी कृषकले उत्पादन गरेका कृषि उपजको बजारको ग्यारेन्टी गरेपछि कृषक लाभान्वित भएका छन् । नगरपालिकाले २०७६ कात्तिक २३ गतेदेखि हाटबजार सञ्चालन गरेको छ तर कोरोना महामारी शुरु भएसँगै गत चैतबाट बन्द भएको थियो । त्यसको नौ महिनापछि गत पुस ८ गतेदेखि हाटबजार पुनः सञ्चालनमा आएपछि कृषकले उत्पादन गरेको कृषि उत्पादनले बजार पाएको छ । नगरपालिकाले समय मिलाएर रेसुङ्गा–४ अर्खले, वडा नं १० सिमीचौर, धुर्कोट गाउँपालिका तथा अर्घाखाँचीको ढिकुरासम्म पुगेर कृष उपज सङ्कलन गरी हाटबजारमार्फत बिक्री गर्दै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाँसखर्ककै सुमित्रा पाण्डेका श्रीमान् वैदेशिक रोजगारीमा छन् । घरमा दुई छोरी र आफूको खर्च तरकारी बिक्रीबाटै जुटाउने गरेको उनी बताउँछिन् । पहिले–पहिले डोकोमा बोकेर बजारसम्म तरकारी बेच्न हिँड्ने पाण्डेका लागि अहिले तरकारी लिन घरमै गाडी आउँछ । नगरपालिकाले सञ्चालन गरेको यो योजनाले स्थानीयवासी कृषकको समयको बचत, सबै तरकारी बिक्री तथा तत्काल भुक्तानी पाइनेजस्ता फाइदा रहेको उनले सुनाइन् । उनले भनिन् “अहिले नसोचेको काम स्थानीय सरकारले गरेको छ ।” यसरी तरकारी खरिद गर्न नगरको गाडी टोलटोलमै पुग्छ भन्ने आफूले कहिल्यै नसोचेको बताइन्। डोकोमा बोकेर तरकारी लैजाँदा व्यापारीका अनेकथरीका भनाइ सुन्नुपरे पनि अहिले सम्मानजनकरूपमा तरकारी बिक्री हुने र उत्पादन गर्न हौसला मिलेको उनको अनुभव छ ।

स्थानीयवासी ५१ वर्षीय खेतबहादुर कुँवरले तरकारी खेतीका लागि पानीको समस्या भएको बताए । पानी भए आफूहरुले जति पनि तरकारी उत्पादन गर्ने बताउँदै उहाँले सिँचाइको व्यवस्था मिलाइदिन आग्रह गरे। कृषकले उत्पादन गरेको कृषि र कृषिजन्य उत्पादनलाई हाटबजारमार्फत उपभोक्तासम्म पुर्याउने उद्देश्यले रेसुङ्गा नगरपालिकाले हाटबजार सञ्चालन गरेको हो । नगरपालिकाका कृषि शाखा प्रमुख हरिशरण पन्थीका अनुसार तम्घास चारिखोलामा रहेको हाटबजार प्रत्येक दिन दिउँसो १ बजे पछाडि सञ्चालनमा आउँछ । हाटबजारमा अहिले विभिन्न स्थानमा उत्पादन भएका स्थानीय तरकारीजन्य सामग्री खरिद बिक्री हुन्छ ।

लोकल कुखुरा, लोकल अण्डा, प्याज, टमाटर, गाजर, आलु, पिडालु, अदुवा, बन्दागोभी, धनियालगायतका ३३ प्रकारका स्थानीय उत्पादन पाइन्छन् । तरकारीको दर प्रत्येक दिन फरक–फरक हुन्छ । औसतमा सागको मुठा रु तीन, अदुवा प्रतिकिलो रु ९०, टमाटर प्रतिकिलो रु ५५, प्याज प्रतिकिलो रु ८० लगायतको दरमा खरिद तथा बिक्री भइरहेको कृषि शाखा प्रमुख पन्थीले बताए ।

हाटबजारमा तरकारी किन्न पुगेकी रेसुङ्गा–१ की आरुसी खनालले हाटबजार सञ्चालन हुँदा आफूहरुलाई सहज भएको बताइन् । रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले हाटबजारलाई थप व्यवस्थित बनाउन जिल्ला तथा जिल्लाबाहिरका पालिकासँग समन्वय भइरहेको जानकारी दिइन् । कृषि र पशुपालनमार्फत रोजगारको सिर्जना गर्ने लक्ष्य लिएकाले नगरपालिकाले आवश्यक लगानी गर्ने बताइन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com