पर्यटकीय गन्तव्यमा चहलपहल, गत वर्षका तुलनामा ९३ प्रतिशत ह्रास


प्रकाशित मिति : पुस ३, २०७७ शुक्रबार

नेपालको तेस्रो पर्यटकीय गन्तव्य मानिएको लाङटाङ पदमार्गमा क्रमिकरूपले चहलपहल बढ्न थालेको छ । कोभिड–१९ का कारण पाहुनाको आगमन बन्द भएपछि सुनसान रहेको सो पदमार्गमा पछिल्लो समय फाट्टफुट्टरूपले आन्तरिक एवं वाह्य पर्यटकको आगमन हुन थालेकोले चहलपहल बढ्ने सङ्केत देखिएको हो ।

असार, साउन एवं भदौ महिनाबाहेक अन्य समयमा यहाँको मौसम प्रायः सफा रहने, राजधानी काठमाडौँबाट नजिक, अन्य क्षेत्रको तुलनामा कम खर्चमा घुम्न सकिने र प्राकृतिक छटा अवलोकनले मन प्रफुल्ल बनाउने भएका कारण अधिकांश पाहुना रसुवा केन्द्रित हुने गरेका छन् ।

रसुवाका पाँच गाउँपालिकामध्ये गोसाइँकुण्ड गाउँपालिकाले आफ्नो कार्यक्षेत्रका सबै बिद्यालय सञ्चालनमा ल्याएपछि मानिसको मनोबल बढ्न गई पर्यटकको समेत आगमन हुन थालेको पर्यटन व्यवसायीले बताएका छन् ।

गोसाइँकुण्ड गाउँपालिका क्षेत्रभित्र पछिल्लो समय कोरोना सङ्क्रमणको प्रभाव शून्यमा झरेको स्वास्थ्यकर्मीले बताएपछि पर्यटकीय एवं धार्मिक क्षेत्रमा रहेका सबै होटल तथा लज पुुनः सञ्चालनमा आइसकेको चन्दनबारीका पर्यटन व्यवसायी पासाङयुर्मी तामाङले जानकारी दिए । यस क्षेत्रमा रहेका सयौँ होटल तथा लज पुनः सञ्चालनमा आइसकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै पवित्र तीर्थ एवं पर्यटकीयस्थल गोसाइँकुण्ड जाने यात्रु पनि फाट्टफुट्टरूपमा ओहरदोहर गर्न थालेको धार्मिक मार्गका होटल व्यवसायीले जानकारी दिएका छन् ।

कोभिड–१९ को असरले यस आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म ९८९ पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको इलाकामा पर्ने लाङटाङ तथा गोसाइँकुण्डको हिमशृङ्खला, कुण्ड तथा ताल, झर्ना र यहाँका जैविक विविधताको अवलोकन गरेका थिए ।

गत वर्षको यसै अवधिमा भने १४ हजार ९३३ पर्यटक आएको अभिलेखबाट देखिँदा कोरोनाको असरले पर्यटकको आगमन सङ्ख्या यस वर्षको पाँच महिनामा ९३ प्रतिशतले कमी भएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

यस आर्थिक वर्षमा आएका पर्यटकमा ६६ विदेशी र ९२३ स्वदेशी रहेको निकुञ्जको तथ्याङ्कले देखाएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गरेवापत लिइने शुल्कको राजश्व भने दुई लाख ३६ हजार ३०० मात्र प्राप्त भएको छ ।

निकुञ्ज क्षेत्रको भ्रमण गर्ने स्वदेशी पर्यटकका लागि प्रतिव्यक्ति रु १०० र विदेशीको हकमा रु तीन हजार आगमन शुल्क लिने कानूनी प्रावधान छ । प्रवेश शुल्कवापत गत वर्ष यस अवधिमा रु तीन करोड १९ लाख ४८ हजार असुली भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन् ।

यस्तै कोभिड–१९ रोग पत्ता लगाउन नियमितरूपले स्वाब सङ्कलन तथा परीक्षण गराउने काम स्थगन भएपछि समुदायमा भइरहेको डर, त्रास क्रमशः हट्दै गएको देखिएको छ ।

जनस्वास्थ्य अधिकृत किरण श्रेष्ठले बिरामी भई उपचारका लागि सम्पर्कमा आएका व्यक्तिको मात्र स्वाब परीक्षण गराइने जानकारी दिएका छन् । स्वाब परीक्षण भएपछि मानिसमा उमङ्ग पैदा भई हिँडडुलको चहलपहल बढ्दै गएको स्थानीय बासिन्दाको भनाइ छ ।

गाउँघरमा ज्वरो, खोकीबेगर लक्षणबिनाका कोरोना सङ्क्रमणबाट आराम भएका व्यक्तिले आफ्ना अनुभवसमेत सुनाउन थालेका छन् ।

रोग लागेका बेला खानाको स्वाद नआउने र आफ्नो शरीरमा शक्ति बढाउन स्वाद नआए पनि खाइरहने, तातोपानी छिनछिनमै खाने, गाउँघरमा पाइने जडीबुटीको साथै स्वास्थ्यकर्मीको सल्लाहअनुसारको औषधि सेवन गर्दै जाँदा लगभग १० दिनमा खानाको स्वाद आउने र रोगसमेत घट्दै गएको पाइएको अनुभव धैबुङका गोविन्द आचार्यले सुनाउनुभयो । रोगसँग लड्नका लागि मनोबल भने निरन्तर उच्च राख्नुपर्ने कोरोना निको भएका व्यक्तिले सुझावसमेत दिन थालेका छन् ।

शुरू–शुरूमा कोरोना रोगको डर, त्रासबाट अत्तालिएका स्थानीय बासिन्दाले स्वास्थ्यको मापदण्ड अपनाई आफ्ना नियमित काम गरिरहेका र रोग नियन्त्रणको खोप औषधि बनेको खबरले अब बाँचिन्छ भन्ने समुदायमा आशाको किरण जागेको स्थानीय समाजसेवी दावापेम्वा तामाङले बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com