पर्यटकको पर्खाईमा लुम्बिनी


प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार

कोरोना महामारीका कारण आठ महिनादेखि बन्द रहेको बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ ।

लुम्बिनी विकास कोषले लुम्बिनी खुलेको घोषणा गरे पनि कोरोना सङ्क्रमणको त्रासले पर्यटक अझै आउन सकेका छैनन् । लुम्बिनी खुलेपछि व्यवसायीले पर्यटकको स्वागतका लागि तयारी भने थालेका छन् ।

मायादेवी क्षेत्र खुलेसँगै उत्साहित भएका व्यवसायीलाई अहिले लामो समयदेखि बन्द रहेका होटलका कोठा सफा गर्न, विस्तारा मिलाउन, होटल तथा रेस्टुराँमा जमेको धुलो टक्टक्याउन, झ्याल ढोकाका सिसा पुछ्न र फर्निचर टल्काउन भ्याइनभ्याइ छ । कतिपयले त रङ्गरोगनका कामसमेत गर्दैछन् । “लुम्बिनी खुलेको घोषणाले यहाँका व्यवसायीलाई ठूलै उत्सव वा चाड आएको अनुभूति भएको छ”, लुम्बिनी होटल व्यवसायी सङ्घका महासचिव लीलामणि शर्मा भन्छन् ।

यहाँ सरकारले बनाएको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने तयारीसमेत गरिएको छ । कोरोना सङ्क्रमणको रोकथामका लागि होटललाई पटकपटक स्यानिटाइजेसन गर्ने, पहिलाको तुलनामा सरसफाइलाई बढी जोड दिने, कोठा तथा हातको प्रयोग हुने सामग्रीमा स्यानिटाइजेसन गर्ने काम भइरहेको छ । राम्रो सरसफाइ गरी होटल, माला पसल तथा अन्य व्यवसायलार्ई चिटिक्क पारेर पर्यटकलाई स्वागत गर्ने तयारी उनीहरुको छ । होटल तथा आफ्ना व्यवसायलाई पुरानै लयमा फर्काउन उनीहरुलाई अहिले भ्याइनभ्याइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“लामो समयदेखि बन्द रहेका होटल तथा अन्य व्यवसायको सरसफाइ तथा व्यवस्थापनका काम सम्पन्न गरेर पर्यटकको पखाईमा छौँ, लामो समयकोे बन्दले हामी थप गुणस्तरीय सेवा दिनसक्ने गरी तयार भएका छौँ”, लुम्बिनी होटल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठ भन्छन् ।

सरकारले धार्मिकस्थल खुला गर्ने निर्णय गरेपछि लुम्बिनीको मायादेवी मन्दिर क्षेत्र पनि पर्यटकका लागि खुला गरिएको हो । मायादेवी मन्दिर नखुले पनि पवित्र उद्यान क्षेत्र खुलेसँगै यहाँका व्यवसायी, लुम्बिनी विकास कोष तथा भिक्षु भिक्षुणी मिलेर मायादेवी मन्दिरमा दैनिक दीप प्रज्वलन गर्ने, पूजापाठ गर्नेलगायतका काम शुरु गरिएको छ । हरेक दिन साँझमा मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन गरी कोरोना महामारी अन्त्यको कामना गरिएको छ ।

यससँगै लुम्बिनी विकास कोषले पनि आठ महिना अवधिको सदुपयोग गर्दै केही सौन्दर्यीकरणका काम सम्पन्न गरेको छ भने केही शुरु गरेको छ । लामो समयपछि पर्यटक आउँदा उनीहरुलाई केही नौलो अनुभूति होस् भन्नका लागि सौन्दर्यकरणका काम गरिएको कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेश कुमार त्रिपाठी)को भनाइ छ ।

लुम्बिनी परिसर बाहिर रहेको महिलवारस्थित ५ नम्बर प्रवेशद्वारबाट मायादेवी मन्दिर पुग्ने पैदलमार्गमा रङ्गिन इँटा बिछ्याइएको छ । यसअघिको कालोपत्र सडक भत्काएर रङ्गिन इँटा बिछ्याउँदा मायादेवी मन्दिरतर्फ जाने यो सडक निकै सुन्दर देखिएको छ । पाँच नम्बर प्रवेशद्वारबाट मायादेवी मन्दिर जाने सडकको दुवैतिर लहरै राखिएका इटालियन पोलमा बालिएका बत्ती रातिको समयमा मनमोहक देखिन थालेका छन् । यसअघि रातिको समयमा लुम्बिनी भ्रमण असहज रहेकामा बत्तीको व्यवस्थाले लुम्बिनी भ्रमण निकै सहज भएको छ । मायादेवी मन्दिर परिसरमा घाँस, दुबो काटेर विभिन्न ठाउँमा फूल फुलाइएको छ । पवित्र कुण्ड सफा गरिएको छ । माटो भरेर प्राचीन बोधि वृक्षको संरक्षण र मन्दिर परिसरमा रहेका पुरातात्विक संरचनाको मर्मतसम्भार गरिएको छ ।

मायादेवी मन्दिरदेखि शान्तिदीप जाने सडकका दुवै किनारामा पनि इटालियन खम्बा सहितका सडक बत्ती जडान गरेर आकर्षक बनाइएको छ । केन्द्रीय नहरको पानी सुकाएर सफा बनाइएको छ भने दुवैतिर टुटेफुटेका इँटा मर्मत गरेर चिटिक्क पारिएको छ । इँटा छापेर बनाइएका सडक, बत्ती, फूल र सफा गरिएको पानीमा त्यसको प्रतिबिम्ब निकै मनमोहक देखिन थालेको छ । सफा गरिएका सम्पदा निकै आकर्षक देखिएका छन् । शान्ति दीपबाट केन्द्रीय नहरतिर फर्केर तस्वीर खिच्दा डेढ किलोमिटर टाढा रहेको शान्ति स्तूपा प्रष्ट देखिन थालेको छ ।

केन्द्रीय नहरमाथि बनाइएका आर्क ब्रिज र छेउमा निर्मित मण्डलाको पनि सफाइ गरिएको छ । केन्द्रीय नहरको दुवैतर्फ लहरै रहेका कदमको रुखमूनि फूल फुलाएर सिंगारिएको छ । बगैँचा सफा गरिएको छ भने पैदलमार्ग मर्मत गरिएको छ । नयाँ लुम्बिनीग्राम क्षेत्रमा सारसलगायतका पक्षी र जनावरको संरक्षणका लागि पोखरी बनाएर सिमसार क्षेत्रको विकास गरिएको छ । जहाँ अहिले सारसका बच्चा हुर्किरहेका छन् । यस्तै गुरुयोजनको लुम्बिनी ग्राम क्षेत्रभित्र फलफूलका बिरुवा रोपेर हुर्काइएको छ ।

कोषका सदस्य सचिव सानुराजा शाक्यले सौन्दर्यकरणका कामसँगै अन्य पूर्वाधार निर्माणका काम धमाधम भइरहेको बताए । गत हप्तादेखि पर्सा–लोखडिया सडक विस्तार तथा सौन्दर्यकरणको कामसमेत शुरु गरिएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com