अमेरिकाबाहिर ६ महिना बढी बसेको ग्रिनकार्डवाहकले फर्केको साढे ४ बर्षमै नागरिकता आवेदन दिनसक्ने


प्रकाशित मिति : कार्तिक १, २०७७ शनिबार

अमेरिकाबाहिर ६ महिनाभन्दा बढी बसेको ग्रिनकार्डवाहकले फर्केपछि अमेरिकी नागरिकताका लागि आवेदन दिन ४ बर्ष ९ महिना कुर्न नपर्ने कानुन व्यवसायी केशवराज सेडाईले जानकारी दिनुभएको छ । ग्रिनकार्डवाहक अमेरिकाबाहिर एकपटकमा ६ महिनाभन्दा बढी बसेपछि आवासीय निरन्तरता भंग हुने भएपनि अमेरिकी नागरिकता प्राप्त गर्न फर्केपछि पूरै ५ बर्ष कुर्न नपर्ने उहाँले जानकारी दिनुभयो ।

अमेरिकाबाहिर ६ महिनाभन्दा बढी बसेको व्यक्तिले सामान्य अवस्थामा समेत अमेरिका फर्केको ४ बर्ष ६ महिनामा अमेरिकी नागरिकताका लागि आवेदन दिनसक्ने उहाँले जानकारी दिनुभयो ।

तर विदेशमा रहँदासमेत अमेरिकी रोजगारदातासँगको जागिर कायमै राखेको, आवेदकको दम्पत्ति वा छोराछोरी अमेरिकामानै रहिरहेको र विदेशमा रहँदा पनि अमेरिकामा घर वा लिज रहेको अवस्थामा भने ६ महिना नाघेपछि एकबर्ष नपुग्दै फर्किएको ग्रिनकार्डवाहले आवासीय निरन्तरता तोडेको अनुमानमा जीत हासिल गर्नसक्छ । यदि आवासीय निरन्तरता तोडेको अनुमानमा जीत हासिल गर्न सकेमा उसले छिटो नागरिकता प्राप्त गर्नसक्छ ।

तर आवासीय निरन्तरता तोडेको अनुमानमा जीत हासिल गर्न नसकेमा पनि उसले अर्को ५ बर्ष कुनु पर्दैन, ४ बर्ष ६ महिनामा नै अमेरिकी नागरिकताका लागि आवेदन दिनसक्छ ।

त्यस्तै अमेरिकी ग्रिनकार्डवाहक १ बर्षभन्दा बढी अमेरिकाबाहिर बसेर फर्केको खण्डमा उसले अमेरिका फर्केपछि नागरिकताका लागि आवेदन दिन ५ बर्ष कुनुपर्दैन । उसले ४ बर्ष ६ महिनामा नै आवेदन दिनसक्ने कानुन व्यवसायी केशवराज सेडाईले जानकारी दिनुभयो ।

यदि एकबर्षभन्दा बढीसमय अमेरिकाबाहिर बसेको व्यक्तिको नागरिकता प्राप्तीका उद्देश्यका लागि आवासीय निरन्तरता संरक्षण गर्ने आवेदन एन ४७० स्वीकृत भएको छ भने उसले छिटो नागरिकता प्राप्त गर्नसक्छ । तर स्वीकृत भएको छैन भनेपनि उसले अमेरिका फर्केको ४ बर्ष ६ महिनामा नागरिकताका लागि आवेदन दिनसक्ने उहाँले जानकारी दिनुभयो ।

६ महिना वा १ बर्षभन्दा बढी अमेरिकाबाहिर बसेको ग्रिनकार्ड वाहकका सन्दर्भमा नागरिकता प्राप्त गर्नका लागि अमेरिका फर्केको मितिभन्दा ६ महिना अगाडिदेखि नै गणना गरेर ५ बर्ष पुर्याइने नीति निर्देशिका भएकाले पछिल्लो पटक अमेरिका ४ बर्ष ६ महिनामा नागरिकताका लागि आवेदन दिनसकिने भएको सेडाईले जानकारी दिनुभयो ।

तर १ बर्षभन्दा बढी अमेरिकाबाहिर बस्दा अमेरिकी सरकारले ग्रिनकार्ड त्यागेको अनुमान गर्नसक्ने भएकाले अमेरिका प्रवेशमा रोक लाग्नसक्नेतर्फ सचेत रहनुपर्ने सेडाईले बताउनुभयो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com