१० महिनामा ४६६ नेपालीबिरुद्ध अमेरिकी अध्यागमन अदालतमा देशनिकालाको मुद्दा


प्रकाशित मिति : भाद्र २२, २०७७ सोमबार

१० महिनाको अवधिमा अमेरिकामा ४६६ जना नेपालीबिरुद्ध अध्यागमन अदालतमा देशनिकालाको प्रकृयाका लागि मुद्दा दायर गरिएको छ । त्यसमा युएससीआईएसमा एसाइलम स्वीकृत नहुनेहरुदेखि अमेरिकामा विना भिसा प्रवेश गर्नेहरुसम्म रहेका छन् ।

आर्थिक २०२० को १० महिनाको अवधि अर्थात् जुलाईसम्मको अवधिमा ४६६ जना नेपालीहरुलाई देशनिकालाका लागि मुद्दा दायर गरिएको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांकमा उल्लेख गरिएको छ । देशनिकालाको मुद्दा दायर गरिएकाहरुमध्ये ३२ जना विना भिसा मेक्सिकोबाट अमेरिका छिर्नेहरु रहेका छन् ।

२०२० मा जघन्य अपराधका कारण देशनिकालाको मुद्दा दायर गरिएका १ जना र अन्य अपराधका कारण देशनिकालाको मुद्दा दायर गरिएका ५ जना नेपालीहरु रहेका छन् । अन्य इमिग्रेशन चार्ज लगाइएकाहरु ३५० जना रहेका छन् । त्योबाहेक अरु ७८ जना छन् ।

सबैभन्दा धेरै क्यालिफोर्नियामा २०८, त्यसपछि टेक्सासमा ८७ जना र न्युयोर्कमा ५६ जना नेपालीहरुबिरुद्ध देशनिकालाको मुद्दा दायर गरिएको छ । क्यालिफोर्नियाको सान फ्रान्सिकोमा रहेको अदालतमा मात्र १३५ जना नेपालीहरुबिरुद्ध मुद्दा दायर गरिएको छ ।

खासगरी अमेरिकामा युएससीआईएसबाट एसाइलम अस्वीकृत भएपछि त्यस्तो व्यक्तिलाई अदालतमा देशनिकालाका लागि मुद्दा दायर गरिन्छ । उक्त मुद्दा जितेको खण्डमा व्यक्तिले ग्रिनकार्डसमेत पाउनसक्छ । हारेको खण्डमा भने देशनिकाला हुनुपर्छ ।

त्यस्तै मेक्सिकोको सिमाक्षेत्रबाट विना भिसा गैरकानुनी रुपमा प्रवेश गर्नेहरुको पनि क्रेडिबल फियर अन्तरवार्तापछि उक्त अन्तरवार्ता उत्तिर्ण गरेमा केस अदालतमा रिफर गरिन्छ । अदालतले स्वीकृत गरेको खण्डमा ग्रिनकार्ड वा देशनिकाला स्थगन गरिन्छ भने अस्वीकृत गरेको खण्डमा देशनिकाला हुनुपर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com