अधिकृत र सुब्बा धेरै घुस्याहा !


प्रकाशित मिति : श्रावण २, २०७७ शुक्रबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो एक वर्षमा २०८ जना राष्ट्रसेवक कर्मचारीमाथि कारबाही गरेको छ । आयोगले कारबाही गरेको राष्ट्र सेवकमध्ये सबैभन्दा बढी शाखा अधिकृत र नायब सुब्बा सरहका कर्मचारी छन् ।

आयोगले गत आव २०७६/७७ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गत वर्ष १८१ वटा घुस लिएको उजुरीको आधारमा रङ्गेहात पक्राउ ‘स्टिङ’ गरेको थियो । जसमा २७७ जनाको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभएको छ । उक्त ‘स्टिङ’मा २०८ जना राष्ट्रसेवक परेका हुन् । जसमध्ये ११० जना अप्राविधिक र ४४ जना प्राविधिक तथा ४८ जना प्रहरी छन् ।

प्रहरी बढी कारवाहीमा
विधागत रुपमा सबैभन्दा बढी कारबाहीमा परेको प्रहरी सङ्गठनका छन् । चालक अनुमति पत्र नभएकासँग घुस लिने, मुद्दा मिलाउने नाममा घुस लिने प्रवृत्तिका मुद्दाहरूमा प्रहरीको संलग्नता देखिएको आयोगले जनाएको छ ।

आयोगको वार्षिक गतिविधि केलाउँदा विकास निर्माणमा पेश्की फर्छयौटका लागि भुक्तानी दिँदा कमिसन माग गरेको आधारमा स्थानीय तह तथा अन्य पूर्वाधार निर्माण अड्डाका कर्मचारीहरू घुससहित पक्राउ परेर आयोगको कारबाहीमा परेका छन् । गत आवमा २९६ दिन कार्यालय सञ्चालन भएको थियो । प्रतिदिन करिब एक जना व्यक्ति घुस लिएको कारबाहीमा परेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आयोगको प्रतिवेदन अनुसार १३ जना उपसचिव स्तरका कर्मचारी, ५३ जना शाखा अधिकृत वा सो सरहका, ६९ जना नायब सुब्बा, २७ जना खरिदार र २८ जना जुनियर कर्मचारी घुससहित पक्राउ परेका छन् । १६ जना कार्यालय सहयोगीलाई आयोगले घुससहित पक्राउ गरेको दाबी गरेको छ । छ जना शिक्षक र एक अदालतमा कार्यरत कर्मचारीसमेत अख्तियार दुरुपयोग गरेको आरोपमा कारबाही भोगेको उल्लेख गरिएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार अनियमिततामा संलग्न १४ जना निर्वाचित तथा मनोनित पदाधिकारीमाथि समेत कारबाही गरिएको छ । घुस लेनदेनमा ५५ जना बिचौलीयाको संलग्नता देखिएको छ ।

४४१ मुद्दामा ८०३ जना राष्ट्रसेवक प्रतिवादी
आयोगले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा घुस लिएको वा अनियमितता भएको दाबीसहित आयोगमा २४ हजार ८९० वटा उजुरी परेको छ । आर्थिक वर्ष २०७५र७६ मा उजुरीको सङ्ख्या २४ हजार ८५ थियो ।

आयोगमा परेको उजुरीमध्ये गत आवमै १६ हजार ५८६ वटा फर्छयौट गरिसकेको छ । आव २०७५/७६ मा आयोगले १५ हजार ५२७ उजुरीको फर्छ्यौट गरेको थियो । ३५१ वटा उजुरीको सूक्ष्म अध्ययन गरी मुद्दा प्रक्रियामा लगिएको थियो । सर्वसाधारण एवम् संस्थागत रुपमा परेको उजुरीलाई विभिन्न चरणमा छनोट, अध्ययन र अनुसन्धान गरी आयोगले थप कारबाहीका लागि मुद्दा दर्ता गर्दैआएको छ । गत आवमा आयोगले ४४१ वटा मुद्दा विशेष अदालत, काठमाडौँमा दायर गरेको छ ।

आयोगले दायर गरेको मुद्दामा एक हजार १९६ जना प्रतिवादी छन् । विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारी छ जना, अन्य राष्ट्र सेवक कर्मचारी ८०३ जना छन् । ४४१ मुद्दामा ३१५ जना बिचौलियाको भूमिकामा रहेको दाबीसहित आयोगले उनीहरूलाई प्रतिवादी बनाएको छ । उक्त मुद्दामै एक जना भूतपूर्व उपप्रधानमन्त्री, दुईजना भूतपूर्व मन्त्री र ७२ जना निर्वाचित पदाधिकारीहरू छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा किनबेच प्रकरणमा तात्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित तीनजना तत्कालीन मन्त्रीमाथि समेतविरुद्ध मुद्दा दायर गरेको थियो । भूतपूर्व मन्त्रीहरू चन्द्रदेव जोशी र डम्बर श्रेष्ठलाई समेत उक्त प्रकरणमा प्रतिवादी बनाइएको छ । एउटै प्रकरणमा आयोगले ५७ जना पूर्व र कार्यरत कर्मचारी तथा ११५ जना जग्गा खरिदमा संलग्न रहेको आरोपमा गत माघ महिनामा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगले दायर गरेको ४४१ वटा मुद्दामध्ये २८ वटा मुद्दामा एक करोडभन्दा बढी बिगो कायम गरिएको छ । गैरकानूनी सम्पत्ती आर्जनतर्फ १८ वटा मुद्दामा एक अर्ब नौ करोड ६१ लाख ९४ हजार बिगो मागदाबी लिएर आयोग अदालत पुगेको छ ।

वि. सं. २०४७/४८ मा आयोग पहिलोपटक गठन हुँदा त्यसयता अनियमिततासम्बन्धी उजुरीको सङ्ख्या वार्षिक रुपमा बढ्दैआएको छ । उक्त वर्ष ५६४ वटा उजुरी परेको थियो । भ्रष्टाचार न्यूनीकरणका लागि आयोगले गत वर्ष नै पाँच वर्षे संस्थागत रणनीतिक योजनासमेत सार्वजनिक गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com