सम्भावित विपद् : क्षति रोक्न सरकारको उच्च तयारी


प्रकाशित मिति : श्रावण २, २०७७ शुक्रबार

साउन ४ गते साँझदेखि मनसुनी वायु सक्रिय भई मुलुकका धेरै भागमा पानी पर्ने तथा कतिपय स्थानमा भारी र केही स्थानमा उच्च भारी वर्षा हुने पूर्वानुमान भएसँगै सरकारले सम्भावित घटनाबाट हुने क्षति रोक्न उच्च तयारी थालेको छ ।

सरकारी तथा गैरसरकारी निकाय, नीजि क्षेत्रसमेत तुरुन्त परिचालन गर्न सक्ने गरी तयारीमा जुटेको छ । सबै सुरक्षा निकायलाई समेत आवश्यक तयारीमा राखिएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कुनै प्रकोप भइहालेमा कसरी हुन्छ कम भन्दा कम क्षति होस् भन्ने योजनाका साथ पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै पूर्वसावधानीका योजना निर्माण गरिएको छ ।

यसका लागि प्राधिकरणसहित खानी तथा भू–गर्भ विभाग, सिँचाई विभाग, जल तथा मौसम विज्ञान विभागले समन्वयात्मक रुपमा काम गरिरहेका छन् । यसरी चारवटै संस्था मिलेर बाढी र पहिराको विषयमा पूर्वानुमान गर्न सँगै काम गरेको पहिलो हो । विगतमा यसरी समन्वय हुन सकेको थिएन ।जिल्लाका सरोकारवाला निकायसँग समेत समन्वय गरी आवश्यक तयारीमा रहन भनिएको प्राधिकरणक प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । पोखरेलले सर्वसाधारणसँग अपिल गर्दै भने, “त्यस समयमा जोखिम क्षेत्र हेरेर सुरक्षित स्थानमा सर्न विनम्रतापूर्वक अनुरोध छ, सुरक्षित ठाउँ भए पाहुना लागेरै भए पनि जानुहोला ।”

सोही विषयमा शुक्रबार गृह मन्त्रालयमा चारवटै निकायले संयुक्त पत्रकार सम्मेलनमार्फत साउन ४ देखि ७ गतेसम्म उच्च सावधानीमा रहन सर्वसाधारणमा अनुरोध गरेको छ । विपद्को पूर्व तयारीस्वरुप यसवर्ष बिभिन्न जोखिम मानिएका १४ जिल्लामा २÷२ वटाका दरले मोटरबोटसमेत पठाइसकिएको छ । आवश्यक यन्त्र उपकरण (डोजर लोडर, स्काभेटर) तयारी अबस्थामा राखिएका छन् । उद्धार तथा राहत सामग्रीलाई समेत ठाउँठाउँमा बन्दोबस्त गरिएको र कतै बाँध लगाउनु परे जालीसहितका सामग्री तयारी हालतमा राखिएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सुरजकुमार बैद्य साउन ४ देखि भारतमा रहेको न्यून चापीय रेखा नेपाल नजिक आउने हुँदा भारी वर्षाको सम्भावना रहेको बताउँछन् । उनका अनुसार साउन ७ गते उक्त रेखा नेपालमाथि पर्नेछ । त्यो बेला ठाउँठाउँमा भारी वर्षा हुनेछ । साउन ८ गतेबाट विस्तारै दक्षिण जाने जनाइएको छ । प्राप्त विवरणमा डिसेम्बरदेखि अहिलेसम्मको आँकडा विश्लेषण गर्दा मुलुकमा औषत भन्दा बढी अर्थात २३० प्रतिशत पानी परिसकेको छ । प्रिमनसुनको समयमा १३० प्रतिशत पानी परिसकेको छ । मौसम शुरु भएपछि पनि औषतभन्दा धेरै पानी परेर जमिन गलेकाले यो पटक थोरै पानी पर्दा पनि जोखिम बढी हुने विज्ञको भनाइ छ ।

भूगर्भविद् शिव बाँस्कोटा साउन ४ पछि भने पुरानो पहिरो सक्रिय हुने, भुकम्पले क्षति पुर्याएको र धाँजा फाटेको स्थानबाट पानी पसेर पहिरो खसाउने सम्भावना अधिक हुने बताउँछन् । उनका अनुसार मानवीय गतिविधि लगायत बाटो खन्दा फालिएको माटो एकै पटक बगेर पहिरोको रुप पनि लिन सक्नेछ । विगतमा गरिएको अध्ययनमा नेपालको जोखिम क्षेत्रमा नै घरहरु रहेको देखिन्छ । पछिल्लो पटक गएको पहिरो पनि जोखिम क्षेत्र भनेर पहिचान भएको स्थान मै खसेको बाँसकोटाले बताए। “मुल तथा तल्लो क्षेत्रमा पानी एक्कासी बढ्यो, धमिलो आउन थाल्यो, मुल सुक्यो भने पनि जमिन चलायमान रहेछ भनेर बुझ्नुपर्छ र तत्कालै सुरक्षित स्थानमा सर्नुपर्छ”, उनले सावधानी अपनाउन आग्रह गर्दै भने।

सिँचाई विभागका सिनियर डिभिजनल ईन्जिनियर विष्णुदेव यादवले कुनै ठाउँमा नदीले क्षति पुर्यायो भने तत्काल निर्माण गर्न सक्ने गरी जाली, बाँस, बोरा, डोरी सबैको आवश्यक व्यवस्थापन गरिएको जानकारी दिए।

भारतको बाँधले डुबान

तराईको सीमावर्ती क्षेत्रमा भने भारतले बनाएको सडकसहितका बाँधले कतिपयस्थान डुबानमा पार्ने गरेको छ । कतिपय स्थानमा भारतले सम्झौता अनुसारको तटबन्धसमेत बनाएको छैन । कोभिड–१९ का कारण नेपाल भारतको संयुक्त समितिको बैठक बस्न नसकेकाले केही निर्णय गर्न सकिएको छैन । नेपालतर्फ भने एक हजार २६ किलोमिटर तटबन्ध बनिसकेकाले धेरैजसो स्थानमा यसपटक डुबान नहुने यादवले बताए। तर सावधानी अपनाउन भने उनले स्थानीयलाई अनुरोध गरेका छन् ।

मौसम विज्ञान विभागका अनुसार साउन ४ गतेपछि मुख्यगरी प्रदेश नं १, २, ५, वाग्मती, गण्डकीका केही स्थानमा र सुदूपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक/दुई स्थानमा अति भारी वर्षा हुनेछ । मुख्यगरी साउनको ५ देखि ८ गतेसम्म प्रदेश नं १, २, बागमती, गण्डकी, प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बागमती, नारायणी, बुढीगण्डकी, सेती, मस्याङ्दी, कालीगण्डकी, तथा तिनका सहायक नदीमा उल्लेख्य मात्रामा जलसतह बढ्नेछ । केही नदीले सतर्कता तह पार गर्नेछ ।

ती प्रदेशका मध्यपहाडी तथा चुरे र तराई भइ बग्ने स–साना नदीनालामा साउन ९ गतेसम्म नै आकस्मिक बहावको सम्भावना छ । साउनको ५ देखि ७ गतेसम्म प्रदेश नं ५ को तिनाउ, पश्चिम राप्ती तथा बबई नदी र यसका सहायक नदी तथा कर्णाली प्रदेशको भेरी, पश्चिम सेती र यसका सहायक नदीमा समेत बहाव बढ्नेछ । केही नदी सतर्कता तह आसपास पुग्नेछन् । प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी तथा चुरे र तराईबाट बग्ने केही साना नदीनालामा समेत आकस्मिक बहाव आउने सम्भावना छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com