जनसम्पर्क समिति अमेरिका : सुवेदीलाई कार्यसमिति सदस्यबाट पदमुक्त गर्ने बिष्टलाई हटाउने प्रस्ताव
प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार
जनसम्पर्क समिति अमेरिकामा सभापति तथा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट ।
नेपाली काँग्रेस सम्बद्ध नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक विष्णु सुवेदीलाई वर्तमान सभापति आनन्द बिष्टले पत्र काटेर कार्यसमिति सदस्यबाट पदमुक्त गरेपछि अमेरिकामा रहेका कांग्रेसहरुको सुवेदी पक्षधर समुहले जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट बिधान अनुसार पदमा नरहेको घोषणा गरेका छन् । उनीहरुको बैठकले सभापति बिष्ट बिधान अनुसार पद नरहेको र अधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले अधिवेशन तयारी समिति बनाइएको जनाएका छन् ।
उनीहरुको बैठकले सभापति बिष्ट केन्द्रिय सदस्यमा मनोनित भएपछि पनि पदमा बसिरहेको र अधिवेशन गर्नुपर्ने भएकाले यस्तो निर्णय गरिएको जनाएका छन् ।
भेलाले जनसम्पर्क समितिका पूर्व वरिष्ठ उपसभापति धनन्जय नरसिंह केसीको संयोजकत्वमा अधिवेशन तयारी समिति बनाउने निर्णय गरेको छ । समितिको सदस्यहरुमा इश्वर सापकोटा, बिष्णु सुवेदी, प्रमोद सिटौला, कृष्ण लामिछाने, भक्त थापा र प्रतिक पाण्डे रहेको जनाइएको छ । समितिमा सदस्यहरु थप गर्दै जाने र जतिसक्दो छिटो अधिवेशन सम्पन्न गर्ने जनाइएको छ ।

यसअगाडि नेपाली काँग्रेस सम्बद्ध नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदीलाई वर्तमान सभापति आनन्द बिष्टले एक पत्र काटेर कार्यसमिति सदस्यबाट पदमुक्त गरिएको जानकारी दिएका थिए ।
सुवेदीलाई सन् २०१५ को अक्टोबर ७ मा जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो । तर समितिमा आपसी भाइचारा र मित्रवत सम्बन्ध प्रगाढ बनाउने, सांगठिनक एकता र सदभाव कायम गर्ने लगायतका विषयमा समितिको साझा भावना विपरित काम गरेको, समितिको कुनै पनि औपचारिक गतिविधिमा सहभागी नभएको भन्दै सुवेदीलाई पदमुक्त गरिएको थियो ।








