ओली-दाहालबीच लगातार छलफल, निर्णय शून्य


प्रकाशित मिति : असार २३, २०७७ मंगलबार

सत्तारुढ दल नेकपामा बढेको किचलोमा कुनै प्रगति छैन। तीन दिनयता अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ। पार्टी बैठक बुधबारसम्मलाई रोकेर छलफलमा बस्दासमेत दुबै नेताले आफ्ना अडानमा खुलस्त कुरा राख्नेबाहेक अन्य सहमतिको कुनै सुत्र फेला पारेका छैनन्।

आइतबार निकट सहयोगीसहित भएको छलफलमा दुई अध्यक्षबीच एक आपसमा भनाभन, आरोप प्रत्यारोप गर्दै छलफलबाट केही मथ्थर बनेर उठेका थिए। तर, सोमबार र मंगलबार भने वान टु वान वार्ता गर्दा ओली–दाहालले विषय प्रवेश गरेर छलफल थालेका थिए। सोमबार प्रधानमन्त्री ओलीले आफ्ना अडान र धारणा तथा मंगलबार दाहालले पनि आफ्ना धारणासहित माग राखेका छन्। जारी स्थायी समिति बैठकमा सरकारको नेतृत्व गरेको साढे २ वर्षको अवधिमै अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सरकारलाई स्वेच्छाचारी ढंगले सञ्चालन गरेको र पार्टीलाई पनि स्वतन्त्र रुपमा चल्न नदिई बन्धक बनाएकोले दुवै पदवाट राजीनामा दिनपर्ने माग उठेको थियो।

त्यसपछि चर्किएको कलह समाधान गर्ने सुत्रको खोजीमा अहिले दुई अध्यक्ष एक्ला एक्लै छलफलमा छन् भने पार्टीका दोस्रो र तेस्रो तहका नेता पनि विवाद मिलाउन उत्तिकै दबाब दिइरहेका छन्। ‘छलफल उहाँहरु (अध्यक्षदय)का बीचमा भइरहेको छ, ठोस प्रगति अहिलेसम्म भइसकेको छैन’, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘बुधबार पनि पार्टी बैठक बस्दैछ। बैठक अगाडि पनि उहाँहरुले फेरि एकपटक छलफल गर्ने भन्नुभएको छ। हेरौ, बुधबारको छलफलमा के हुन्छ।’ अहिलेसम्मको छलफलमा प्रधानमन्त्री ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछोड्ने अडानमा देखिएका छन्। अध्यक्ष दाहालले भने प्रधानमन्त्री र अध्यक्ष दुई पदमध्ये एक पद छोड्न र ओलीसँग आग्रह गरेका छन्। मंगलबारको छलफलमा पनि उनले दुई मध्ये एक पद स्वेच्छाले छोडन ओलीलाई आग्रह गरे।

ओलीसँगको छलफलपछि दाहालले साँझ आफ्नै निवास खुमलटारमा सचिवालयका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता श्रेष्ठलाई तीन दिनयता बैठकमा भएका छलफलका विषयमा ब्रिफिङ गरे। ‘तपाई (प्रधानमन्त्री)ले पार्टी विधि पद्धतिमा चलाउनु भएन, पार्टीलाई बेवास्ता गर्नुभयो सरकार नि राम्रोसँग चलेन। तपाईले नेताहरुलाई नै अनेक आरोप लगाउनेसम्मका कुरा राख्नुभयो। पार्टी विभाजनसम्मको योजना बनाउनुभयो। यस्तो स्थितिमा निकास दिनैपर्छ। दुई मध्ये एउटा पद स्वेच्छाले छोडनुहोस। मुख्यत प्रधनमन्त्री नै छोडनुहोस्’, मंगलबार ओलीसँगको छलफलमा दाहालले राखेको भनाइ उद्धृत गदै एक सचिवालय सदस्यले भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ओलीकै नेतृत्वमा सरकार रहेमा आगामी चुनावमा नेकपा पराजित हुनुपर्ने निष्कर्षका साथ राजीनामा माग गरिरहेका नेताहरुको माग सम्बोधनका लागि पनि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनपर्ने मागमा दाहाल अडिग देखिएका छन्। दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठाउँदै आएको ओली इतर खेमाले एउटा पद छोडेर बाटो खुलाउन प्रधानमन्त्रीसँग मंगलबार ठोस रुपमै प्रस्ताव राखेको छ। पार्टीको अध्यक्ष भन्दा पनि प्रधानमन्त्री पदबाट राजीनामा दिएर विवाद मिलाउने गरी अगाडि बढ्न ओलीसमक्ष दाहालले प्रस्ताव राखेका हुन्। ‘त्याग त केही न केही प्रश्न उठेपछि गर्नै पर्छ’, दाहालको भनाइ उद्धृत गदै ती सचिवालय सदस्यले भने, ‘दुईमध्ये प्रधनमन्त्री पद छोडेर अगाडि जान हाम्रो आग्रह छ। यहीलाई बटमलाइन बनाएर सहमति खोजेरै जाऔं।’

मंगलबार थोरै मात्र बोलेका प्रधानमन्त्री ओलीले दुवै पदवाट राजीनामा नदिने अडान दोहोर्‍याए। ओलीले सोमबार आफू विरुद्ध पार्टी र सरकारमा नेताहरुले के कसरी घेराबन्दी गरेका छन् भन्ने फेहरिस्त राखेका थिए। ‘तपाईहरु (दाहाल सहितका पार्टी नेता) ले असहयोग गर्नु भएको छ, तैपनि सरकारको काम प्रभावकारी रुपमै अगाडि गएको छ, तपाइहरुले केही देख्न सक्नुभएन, त्यसभित्र कतै पूर्वाग्रही सोच पो छ कि ? तपाइहरुले अप्ठ्यारो मात्र पार्ने भएपछि मैले केही गतिविधि अगाडि बढाएकै हो, नत्र त्यसरी जानुपर्ने अवस्था आउने थिएन’, उनले सोमबारको छलफलमा भनेका थिए।

ओलीले दाहालसँग अहिलेलाई ४ मंसिरको सहमतिलाई थप व्याख्या गर्ने, महाधिवेशनमा अध्यक्ष बन्न दाहाललाई सघाउने र आफूपछि प्रधानमन्त्रीका लागि पनि सहयोग गर्न सकिने गरी दुइ अध्यक्षभित्रको अधिकार मिलाउने मिलाउन प्रस्ताव गरेका थिए। ‘प्रधानमन्त्री ४ मंसिरको दई अध्यक्षको अधिकार वाँडफाँडकै विषयमा मात्र थप व्याख्या गरेर अहिलेलाई जान सकिन्छ भन्नेमा हुनुहुन्छ। उहाँले अन्य कुनै पद छोडने कुरा गर्नुभएको छैन। उहाँ आफ्नै अडानमा अडिग देखिनुभएको छ’, ओली–दाहाल वार्ताको ब्रिफिङ सुनेका ती सचिवालय सदस्यले भने।

सहमतिका लागि कमजोरी स्वीकार गर्ने, आफ्नो सचिवालय हेरफेर गर्ने, मन्त्रिमण्डल हेरफेर गर्ने र प्रदेश सरकारमा पनि मुख्य मन्त्रीदेखि मन्त्रीसम्म अदल वदल गर्न सकिने तर आफूले भने कुनै पनि हालतमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदवाट राजीनामा नदिने अडान ओलीले सोमबारको बैठकमा दोहोर्‍याए। भनाभन र आरोप प्रत्यारोपबाट सुरु भएको छलफल एक दिन प्रधानमन्त्री ओली र अर्को दिन अध्यक्ष दाहालले आफ्ना कुरा राख्नेसम्मको वतावरण निर्माण हुनुलाई पनि सकारात्मक लिनुपर्ने छलफलमा सहभागी नेता बताउँछन्। ‘तर एजेण्डा केन्द्रीत छलफलमा ठोस प्रगति भने शून्यकै अवस्थामा छ’, ती नेताले भने। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com