महामारीमा निगमको सुरक्षित उडान


प्रकाशित मिति : असार १६, २०७७ मंगलबार

सिबी अधिकारी/ कोभिड–१९ महामारीमा नयाँ गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्नु क्याप्टेन सुरज भण्डारीका लागि कम्ती चुनौतीको विषय थिएन । माल्दिभ्सको विमानस्थलमा पहिलो पटक आफ्नो व्यावसायिक जिम्मेवारी स्वास्थ्य सर्तकता अपनाएर उडाउनुपर्ने उनको बाध्यता थियो  ‘पाइलट नयाँ गन्तव्यमा विशेष सजज हुनुपर्छ किनकी उडान निकै चुनौतिपूर्ण हुन्छ, विमानस्थलबारे आवश्यक जानकारी दुई–तीन दिन अघि अध्ययन गरेर पूर्ण तयारी गर्र्नुपर्छ’, क्याप्टेन भण्डारीले भने ।

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को लुम्बिनी नामको एयरबस ए३२० जहाजमाफर्त मलेसियाको क्वालालम्पुरबाट नेपाली लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार बिहान उत्रिएका भण्डारीले कोभिडको महामारीमा सुरक्षित उडान गर्दाका अनुभव सञ्चारकर्मीमाझ बाँड्दै थिए ।

एकहप्ता माल्दिम्स, बहराइन, दुबई र मेसियामा उडान गर्नुभएका क्याप्टेन भण्डारीलाई ती मुलुकले उडान सुरक्षाका लागि सामाजिक दूरी कायम गर्ने र स्वास्थ्य सजगता अपनाउने गरेको देखे । यात्रुको स्वास्थ्य सजगताबारे नेपालको सन्दर्भमा भने उनले बिल्कुलै फरक अवस्था पाए ।
‘नेपालको भन्दा फरक कुरा के छ, भने उनीहरुले यात्रुलाई एकै पटक हुलमा लिने गरेको देखियो । हामीले ३०–३० जना गरेर जहाजभित्र लैजाने र ल्याउने गरेका छौँ’ उनले भने– ‘‘हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सामाविक दूरीका लागि मार्किङ गरिएको छ । स्वास्थ्य सजगता अपनाइएको छ । यसले पनि अरु देशको व्यवस्थापनको तुलनामा हामी पनि अगाडि छौ भन्ने देखिएको छ ।’

जहाजकी विमान परिचारिका सोरिका केसीले पहिलाको तुलनामा अहिलेको उडान फरक र विशेष सजगता अपनाउनुपर्ने बाध्यता रहेको बताइन् । ‘अहिलेको उडानमा मनोवैज्ञानिक रुपमा पनि असर पर्छ, यात्रुसँग धेरै कुरा सोध्नुपर्ने हुन्छ । सामाजिक दूरी कायम र धेरै हिँडडुल नगर्न बारम्बार भन्नुपर्छ’ उनले भनिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

६ वर्षदेखि सेवारत केसीले बन्दाबन्दीको अवधिमै जापान, हङ्कङ्, अष्ट्रेलियाको मेलबर्नलगायत गन्तब्यमा पुग्ने अवसर पाइन् । राष्ट्रिय ध्वजाबाहक निगमले कोरोना महामारीबीच आफ्नो सीमित स्रोत साधनका बाबजुद अन्तर्राष्ट्रिय प्रतिस्पर्धी एयरलाइन्सको भन्दा स्तरीय सेवा दिइरहेको छ ।

असहज परिस्थितिमा स्वास्थ्य सतर्कता अपनाएर विकसित मुलुकका एयरलाइन्सको भन्दा गुणस्तरीय सेवा प्रदान गरिएको निगमले दावी गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डमा रही नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको उडान निर्देशिकालाई परिपालना गर्दै सेवा सञ्चालन गरिरहेको निगमले जनाएको छ ।

कोभिडको सङ्क्रमणबाट बचेर उडान गर्नु तथा यात्रुलाई पनि सुरक्षित सेवा दिनु अहिलेको महामारीका बेला कम चुनौतिको विषय हैन । विकसित मुलुक समेत अहिलेको सङ्क्रमणको मारमा छन् । अहिले विश्वका सयौँ एयरलाइन्स ठप्प भएको, हजारौँ संख्याका जहाज ग्राउण्डेड भएको तथा लाखौँ कर्मचारीको जागिर गएको अवस्थामा नेपालको राष्ट्रिय ध्वजाबाहकले अहिले विषम परिस्थितिमा पनि आफ्नो भूमिकालाई अब्बल तुल्याएको निगमका अपरेशन विभाग प्रमुख दीपु ज्वाहर्चनले बताइन् ।

उनले अन्य मुलुकले जहाज थन्क्याउने र कर्मचारी विदा गर्नुपर्ने अवस्थामा पुग्दा निगमले १०० ‘ककपिट क्रु’ र १८० ‘क्याबिन क्रु’ बाट दैनिक सेवा लिन पाउँदा राम्रै उपलब्धिको रुपमा लिएको बताइन् । उनले उड्डयनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आयोटाको मार्गनिर्देशनलाई आधार मानेर नियामक प्राधिकरणको स्वीकृति लिएर कोभिड महामारीसम्बन्धी विस्तृत मार्गनिर्देशिका ‘कोरोना अपरेटिङ प्रोसिडियर’ बनाएर उडान सेवा सञ्चालन गरिरहेको जानकारी दिइन् । त्यसोत निगमका लागि अहिलेको विषम परिस्थितिमा आफ्नो ऐतिहासिक अवसर र जिम्मेवारी पनि छ । व्यावसायिक दक्षताका साथ स्रोत र जनशक्तिको भरपुर उपयोग गर्दै अन्तर्राष्ट्रिय उडानमा आफ्नो छबिलाई उचो बनाउने मौका पनि हो ।

अहिलेको परिस्थितिमा चार्टर्ड उडानका दौरानमा निगको भूमिकाबाट राज्यलाई पनि निकै राहत मिलेको छ । विभिन्न मुलुकमा अलपत्र हजारौँ संख्याका नेपाली ल्याउन निगमका जहाज प्रयोग भएका छन् । यसले निगमको व्यवसायिक जीवनमा पनि सकारात्मक प्रभाव परेको छ । लामो समयदेखि आर्थिक सङ्कट खेपिरहेको निगमका लागि बन्दाबन्दीमा धमाधम भइरहेका चार्टर्ड उडानले आर्थिक राहत मिलेको छ ।

उडानमा खटिने कर्मचारीको परिवारमा जोखिम नहोस भनेर विशेषगरी चालक दलका सदस्यलाई पाँचतारे होटलमा क्वारेन्टिनमा राखिएको छ । उनीहरुको पिसिआर परीक्षण गरेर मात्रै घर पठाउने व्यवस्था गरिएको प्रमुख ज्वाहर्चनले बताइन् । प्रत्येक उडानपछि यो प्रक्रिया गरिन्छ । चालकदलका सदस्यलगायत जहाजमा खटिने कर्मचारीलाई, मास्क, पिपिई, सेनिटाइजर अनिवार्य गरिएको छ ।

निगमले जहाजका चालकदलका सदस्य देखि यात्रुको सुरक्षा र सहजताका लागि चार्टर्ड उडानमा गरिरहेको व्यवस्थापन प्रसंशनीय रहेको बताइएको छ ।

जहाजमै ‘इनफ्लाइट आइसोलेसन जोन’

निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानका जहाजमा कोभिडका सम्भावित सङ्क्रमितलाई मध्यनजर गरी जहाजभित्रै ‘इनफ्लाइट आइसोलेसन जोन’ व्यवस्था गरेको छ । निगमको अन्तर्राष्ट्रिय उडानका सबै चार जहाजमा यो सुविधा छ ।
जहाजको पछाडिको छ सिटलाई आइसोलेसन बनाइएको छ । जहाज उडेको केही अवधिमा यात्रुमा कुनै लक्षण देखिएमा आइसोलेसनमा राखेर रेखदेख गरिने गरेको छ । यद्यपि अहिलेसम्म जहाजमा कुनै त्यस्ता सङ्क्रमित फेला नगरेको निगमले जनाएको छ ।

बन्दाबन्दीको अवधिमा निगमले ५८ चार्टर्ड उडान गरेको छ । यो यात्रु चार्टर्ड र कार्गोसहितको सङ्ख्या हो । यी उडानमध्ये नौ कार्गोसहित २९ चार्टर्ड उडान हुन् भने बाँकी २९ उडान विभिन्न मुलुकबाट अलपत्र नेपालीको उद्धारका लागि गरिएका उडान भएको निगमले जनाएको छ । यो अवधिमा निगमका जहाजले मात्रै एक लाख ८४ हजार १८७ कार्गो नेपालबाट बाहिर पठाएको छ भने एक लाख ९३ हजार ९२७ कार्गो भित्र्याएको छ ।

बन्दाबन्दीको परिस्थितिमा निगमले आफ्नो उडान गन्तब्य विस्तार गर्दै १४ नयाँ गन्तव्यमा चार्टर्ड उडान गरेको छ । यो निगमको उडान सेवाका लागि सुखद अवसर हो । निगमले यो बीचमा चीनको बेइजिङ, अष्ट्रेलियाको सिड्नी, मेलबर्न, व्रिश्वेन, माल्दिभ्स, साउदी अरेबिया, बहराइन, कुवेतलगायत गन्तब्यमा उडान गरेको निगमको अपरेशन विभागले जनाएको छ ।    निगमले सामान्य अवस्थामा भारतका तीनसहित विभिन्न देशका नौ गन्तब्यमा उडान गर्दै आएको छ । निगमले अन्तर्राष्ट्रियतर्फ दुई वाइड बडी र दुई न्यारोबडी जहाजले उडान भर्दै आएको छ ।रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com