पढाई र भिसा सकिएर फर्कन लागेका विद्यार्थीकाबारेमा आइसमै अन्यौल


प्रकाशित मिति : चैत्र २०, २०७६ बिहीबार

अमेरिकामा पढाई र भिसा सकिएर फर्कन लागेका विद्यार्थीकाबारेमा के गर्ने भन्ने सन्दर्भमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टमै अन्यौल उत्पन्न भएको छ । अमेरिकामा पढाई सकिएपछि विद्यार्थीहरुलाई फर्कनका लागि ६० दिनको अवधि दिइएको हुन्छ तर कोरोनाको महामारीका कारण उक्त अवधिमा फर्कन नसकेका विद्यार्थीहरु अन्यौलमा रहेका छन् ।

समयमै फर्कन नसक्दा विद्यार्थीहरु अमेरिकामा गैरकानुनी उपस्थीति हुनसक्ने र भविश्यमा अमेरिका आउनमा प्रतिबन्ध समेत लाग्नसक्ने त्रासमा रहेका छन् । तर यस्ता विद्यार्थीका सन्दर्भमा के गर्ने भन्नेबारेमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले अहिलेसम्म निर्देशिका जारी गर्न सकेको छैन ।

युएससीआईएसकी प्रवक्ता शारोन ई साइडहावरले खसोखासँग कुरा गर्दै भिसा सकिएर वा पढाई सकिएर फर्कन लागेका विद्यार्थीहरुका सन्दर्भमा भने इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको स्टुडेन्ट एण्ड एक्सचेन्ज भिजिटर प्रोग्राम अन्तरगत काम हुने भएकाले युएससीआईएसले यसबारे नहेर्ने जनाएकी छिन् । तर खसोखासले युएससीआईएसकी प्रवक्ता क्यारिशा कट्रेलसँग कुरा गर्दा उनले यसबारेमा आईसले अहिलेसम्म यसबारे कुनै निर्णय नलिएको र निर्णय हुनासाथ त्यसबारेको निर्देशिकाबारे जानकारी दिने बताएकी छिन् ।

यसैबीच अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्कीले नेपाल फर्कन नसकेका गैरआप्रवासी भिसामा रहेका नेपालीहरुका सन्दर्भमा अमेरिकी सरकारको विदेश मन्त्रालयलाई कुटनीतिक नोट पठाइसकेको जानकारी दिएका छन् । उनले यसबारेमा अमेरिकी सरकारले छिट्टै निर्णय गर्ने भन्दै अमेरिकामा रहेका नेपालीहरुलाई जो जहाँ छ , त्यहाँ चिन्ता नगरी सुरक्षित तरिकाले बस्न आग्रह गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com