कोभिड १९ : जनसम्पर्क समितिको पहलमा अमेरिकामा नेपालीका लागि कानुनी र चिकत्सकीय सुविधा


प्रकाशित मिति : चैत्र ११, २०७६ मंगलबार

नेपाली जनसम्पर्क समिति,अमेरिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका विरुद्ध सामुदायिक सतर्कता र समन्वयका लागि समिति गठन गरेको छ । यसैगरी अमेरिकामा रहेका नेपाली कांग्रेस निकट चिकित्सकहरुको सहभागितामा सहयोग र परामर्श समिति, भाइरस संक्रमणको सम्भावित खतराका कारण बेरोजगार भएका नेपाली समुदायका सदस्यहरुले यस कठीन घडीमा प्राप्त गर्न सक्ने सरकारी सहयोगका लागि निस्शुल्क परामर्शका लागि कानुनी सहायता समिति,राज्यस्तरीय तहमा स्थानीय संघ,संस्था र सरकारी निकायसंग समन्वय गर्न स्थानीय समुदाय समन्वय समिति र समितिका तर्फबाट गर्नसक्ने सहयोगका लागि आर्थिक समिति समेत गठन गरेको छ ।

पछिल्लो समय अमेरिकामा यसको संक्रमण तीव्र रुपमा फैलदै गएको अवस्थामा समितिको सोमवार बसेको केन्द्रीय समिति र च्याप्टर समितिको आकस्मिक संयुक्त बैठकले यस्तो समितिहरु गठन गर्ने र आवश्यक सतर्कताका लागि समुदायका सबै सदस्यलाई अपील गर्दै सचेतता अपनाउन सबैले पहल गर्ने निर्णय गरेको छ । समितिका सभापति एवं कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको सभापतित्वमा सम्पन्न कन्फरेन्स बैठकले सामुदायिक सतर्कता र समन्वयका लागि सभापति विष्टको संयोजकत्वमा केन्द्रीय समितिका सबै पदाधिकारीसहित सदस्यहरुसहित सबै च्याप्टरका सभापति सदस्य रहने गरी एक समिति गठन गर्ने निर्णय गरेको छ ।

साथै स्थानीय तहमा यसको संक्रमण विरुद्ध जनचेतना जगाउन र सतर्कता अपनाउन समितिको तर्फबाट पहल गर्न सबै च्याप्टरका सभापतिहरुले आ आफ्नो संयोजनमा स्थानीय समन्वय समिति गठन गर्ने जनाइएको छ ।

जनसम्पर्क समिति अमेरिकामा सभापति तथा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट ।

यसैगरी समितिका सल्लाहकार डाक्टर विनोद शाह,एनआरएन अमेरिकाका पूर्व अध्यक्ष डाक्टर केशब पौडेल, डाक्टर रितेश भण्डारी,डाक्टर शृष्टि घिमिरे,डाक्टर रुद्र घिमिरे,डाक्टर चिरन्जीवी भट्टराई,डाक्टर अनुप श्रीवास्तव,डाक्टर सन्तोष घिमिरे र डाक्टर रबिन्द्र शाहसम्मिलित कोरोना प्रकोपको संक्रमणबाट जोगिन र आवश्यक सतर्कता अपनाउन के गर्नुपर्छ भन्ने बारे निशुल्क परामर्शका लागि नौ सदस्यीय चिकित्सकहरुको परामर्श समिति गठन गरिएको छ ।

समितिका कानुनी सल्लाहकार एवं पूर्व संयोजक खगेन्द्र जीसीको संयोजकत्वमा समितिका सदस्य पिताम्बर भुषाल र अधिवक्ता बासु फुलारा सदस्य रहेको कानुनी सहायता समिति गठन गरिएको छ । समितिले यो प्रकोपको संकटका कारण बेरोजगार भएका समुदायका सदस्यहरुले प्राप्त गर्नसक्ने सुविधा लिने कानुनी आधारहरुका बारे आवश्यक सहयोग गर्नेछ ।

समितिका महासचिव मुनिन्द्र नेम्वाङ्गको संयोजकत्वमा कोरोना संक्रमित समुदायका सदस्यहरुलाई सरकारी निकायबाट प्राप्त हुने सहयोग र श्रोत परिचालनका लागि अर्को एक समिति गठन गरिएको छ । समितिका उपसभापति केशब बराललाई संक्रमित समुदायका सदस्यलाई समितिले गर्न सक्ने आर्थिक सहयोगको श्रोत परिचालन र समन्वयका लागि जिम्मेवारी प्रदान गरिएको छ ।
यसैगरी समितिका प्रचार विभाग प्रमूख गौतम दाहाललाई यसको बढ्दो संक्रमणबाट सुरक्षित रहन अपनाउनुपर्ने सतर्कताका लागि आवश्यक प्रचार प्रसारका लागि समन्वय गर्न समेत बैठकले जिम्मेवारी दिएको छ ।

बैठकमा विशेष आमन्त्रितको रुपमा सहभागी हुनु भएका कानुनविद खगेन्द्र जीसी र चिकित्सकद्वय विनोद शाह र केशव पौडेलले कोरोना प्रकोपको यो आपतकालीन अवस्थामा आफुहरु नेपाली समुदायको लागि आफ्नो तर्फबाट निस्शुल्क सेवा र सहयोग गर्न तयार रहेको भन्दै जनसम्पर्क समितिले गरेको पहलको सह्राहना गर्नुभएको थियो ।

समितिका महासचिव मुनिन्द्र नेम्वाङ्गले संचालन गरेको बैठकमा सभापति विष्टले समिति समुदायको हितका लागि सधैं क्रियाशील रहेको भन्दै संकटको यस घडीमा सबैलाई आवश्यक समन्वय र पहलका लागि अनुरोध गर्नुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com