रिजउड क्षेत्रमा बस्ने नेपाली कांग्रेस आवद्धहरुको परिचयात्मक भेला, अधिवेशन तयारीको झल्को
प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार
न्यूयोर्कको रिजउड क्षेत्रमा बसोबास गर्ने नेपाली कांग्रेस आवद्ध स्थानियहरु भेला भएर शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रम गरेका छन् । बिजया दशमी, शुभदिपाली, नेपाल सम्वत तथा छठ पर्वको शुभकामना आदान प्रदानका साथै परिचयात्मक कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु सहित रिजउड क्षेत्रमा बसोबास गर्नेहरुको बाक्लो उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा जनसम्पर्क समिति अमेरिकाको अधिवेशन तयारी समितिका अध्यक्ष आनन्द बिष्टले प्रजातन्त्रमा आस्था राख्नेहरु एकजुट हुनुपर्ने बेला आएको बताए । उनले अहिले पार्टी प्रतिपक्षमा रहेको र कम्यूनिष्ट सरकारले मनपरी ढंगबाट लोकतन्त्र मास्नेगरी कृयाकलाप जारी राखेको भन्दै, सचेत भएर खबरदारी गर्दै लोकतन्त्रको रक्षामा एक हुनुपर्नेमा जोड दिए । बिष्टले आफु अधिवेशन सम्पन्न गरेर इच्छुक साथीहरुलाई समिति हस्तान्तरण गर्ने गरी तयारी गरिरहेको र छिटो भन्दा छिटो अधिवेशन सम्पन्न गर्नका लागि सबैको आवश्यक सहयोग रहेको जनाए ।
यस्तै कार्यक्रममा जनसम्पर्क समितिका पूर्व संयोजक बिष्णु सुवेदीले अधिवेशनका लागि सबैलाई एक हुन आग्रह गर्दै प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि कटिवद्ध साथीहरु एक हुनुपर्ने बेला आएको बताए । जनसम्पर्क समिति अमेरिकाका संगठन बिभाग प्रमुख बेदप्रसाद खरेलले रिजउड क्षेत्रमा नेपाली कांग्रेसमा आस्था राख्ने धेरै साथीहरु बसोबास गर्ने भएकाले पनि आजको परिचयात्मक भेला आवश्यक रहेको बताए । उनले आपसी मतभेत अन्त्य गरेर अधिवेशनमा लाग्नुपर्ने तर्फ संकेत गरेका छन् ।

कृष्ण बिष्ट अध्यक्षतामा भएको कार्यक्रममा जनसम्पर्क समितिका महासचिव मुनेन्द्र नेम्वाङ, न्यूयोर्क च्याप्टर अध्यक्ष रोशन ढुङगाना लगायतका स्थानिय नेताहरुले बोलेका थिए । संगठन बिभाग प्रमुख बेद खरेल, कृष्ण बिष्ट, रविकिरण कोइराला, नारायण तिमिल्सिना, पण्डित हरिनारायण सापकोटा र उद्धव शास्त्रीले भेलाको आयोजना गरेका थिए । अधिवेशनको क्रममा रहेको जनसम्पर्क समिति अमेरिकाको अध्यक्ष पदका आकाक्षी बेदप्रसाद खरेलले शुरुवाती भेलाको आयोजना गरेको बुझिन्थ्यो ।








