गैरकानुनी रुपमा बेलायत छिर्न खोज्दा ज्यान गुमाउने ३९ मध्ये एक युवतीको सन्देश – ‘म मर्दैछु’


प्रकाशित मिति : कार्तिक ८, २०७६ शुक्रबार

बेलायतमा बुधबार ट्रकभित्र भेटिएका ३९ आप्रवासीका शवमध्ये एकजनाले ज्यान गुमाउनुअगाडि घर परिवारलाई टेक्स्ट मेसेज गरेको आशंका गरिएको छ । ज्यान गुमाउने ३९ जनामा एकजना भियतनामकी महिला भएको आशंका गरिएको हो ।

२६ बर्षकी भियतानामी नागरिक फाम थी ट्रा मेका पिताले त्यसैदिन आफ्नी छोरीले टेक्स्ट मेसेज पठाएको र त्यसमा उनले आफूले स्वास फेर्न नसकेको कुरा उल्लेख गरेको जानकारी दिएका छन् । ती महिला अक्टोबर ३ मा गैरकानुनी रुपमा बेलायत जानका लागि चीन र फ्रान्सहुँदै प्रस्थान गरेको जनाइएको छ ।

ती महिलाले बेलायतको समय अनुशार मंगलबार राती साढे १० बजे मेसेज पठाएकी थिइन् । त्यतीबेला उक्त ट्रक ट्रान्जिटमा रहेको विश्वास गरिएको छ ।

उनले मेसेजमा भनेकी छिन् – ‘बुबाआमा मलाई माफ गर्नुहोला । म जुन तरिकाले विदेश आएँ, त्यो सफल भएन । आमा, म तपाई र बुबालाई एकदम माया गर्छु । म मर्दैछु किनभने मैले स्वास फेर्न सकिरहेकी छैन । मलाई माफ गर्नुहोला आमा ।’

ती महिलाको परिवारले दलाललाई ३८ हजार डलर बुझाएको जनाइएको छ । त्यसपछि दलालले उनलाई बेलायत पुराउने आश्वासन दिएका थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com