ग्रिनकार्डबाहकका सबै दम्पत्ति र छोराछोरीका लागि नोभेम्बरमा पनि भिसा करेन्ट


प्रकाशित मिति : कार्तिक ३, २०७६ आईतबार

अमेरिकी ग्रिनकार्ड बाहकका दम्पत्ति र छोराछोरीका लागि नोभेम्बर महिनामा पनि भिसा करेन्ट भएको छ । ग्रिनकार्डबाहकले अमेरिकामा नै रहेका आफ्ना दम्पत्ति र छोराछोरीहरुका लागि नोभेम्बर महिनामा पनि आई १३० आवेदनसँगै ग्रिनकार्ड आवेदन आई ४८५ दिन सक्नेछन् ।

आई ४८५ आवेदन दिइसकेपछि ग्रिनकार्डबाहकका दम्पत्ति र छोराछोरीहरुले वर्क परमिट आवेदन दिएर अमेरिकामा कानुनी रुपमा काम गर्न पाउनेछन् । उनीहरुले विगतमा जस्तो भिसा करेन्ट हुन्जेल पर्खेर विभिन्न तरिकाले आफ्नो गैरकानुनी उपस्थीति हुनबाट बच्ने झन्झट हुनेछैन ।

जुलाईदेखि नै सबै ग्रिनकार्डबाहकका दम्पत्ति र छोराछोरीहरुका लागि अमेरिकी नागरिक सरह भिसा करेन्ट रहदै आएको छ । युएससीआईएसबाट आई १३० आवेदन स्वीकृत भइसकेका र केस नेशनल भिसा सेन्टरमा पुगेमा विदेशमा दम्पत्ति र छोराछोरी भएकाहरुको भिसा प्रकृया पनि अगाडि बढाइनेछ ।

तर आई १३० स्वीकृत नभएका तथा दम्पत्ति र छोराछोरी विदेशमा भएकाहरुका लागि भने यसले कुनै अर्थ राख्ने छैन । यद्यपी आई १३० स्वीकृत नभएका तर दम्पत्ति र छोराछोरी अमेरिकामा नै भएकाहरुले भने आई १३० पेन्डिङ अवस्थामा नै रहेका बेला आई ४८५ ग्रिनकार्ड आवेदन दिन सक्नेछन् । जसका कारण भिसा जोगाइराख्ने झन्झट हुनेछैन भने त्यसको आधारमा वर्क परमिट वा अमेरिकाबाहिर यात्रा गर्ने एड्भान्स परोल जस्ता सुविधा समेत प्राप्त गर्न सकिनेछ ।

अमेरिकामा ग्रिनकार्डबाहकसँग विवाह गर्ने योजनामा रहेकाहरुका लागि पनि केही महिनायता सुनौलो अवशर मानिएको छ । त्यो अवशर नोभेम्बरमा पनि कायम नै रहनेछ । उनीहरुले विवाहपश्चात आई १३० आवेदनका साथमा एकैपटक आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गर्न सक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com