एनआरएनलाई दोहोरो नागरिकताको सुविधा असम्भव छ : माधव नेपाल
प्रकाशित मिति : कार्तिक ३, २०७६ आईतबार

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले गैर आवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि निर्वाचित पदाधिकारीलाई नेपालप्रतिको उद्देश्यमा स्पष्ट हुन आग्रह गर्नुभयो । दोहोरो नागरिकता र राजनीतिक अधिकारको खोजीलाई उहाँले चिची पनि पापा पनिको संज्ञा दिँदै त्यस्तो सुविधा असम्भव रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘दुइटा नाउमा खुट्टा राख्ने मान्छे सागर तर्न सक्दैन । चिची पनि पापा पनि हुँदैन । राजनीति गर्न खोजेको भए पहिला जनताको मन र विश्वास जित्नुहोस् । उद्देश्यमा प्रस्ट हुनुहोस् ।’
नेता नेपालले पुँजी, सीप र प्रविधिको राम्रो प्रयोग गरेर देशलाई आर्थिक रुपान्तरणको बाटोमा अग्रसर गराउनुपर्ने र त्यसका लागि बानी व्यवहारमा परिर्वतन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले नियम कानुनलाई खुकुलो बनाइ लगानीमैत्री वातावरण सिर्जना गरी स्वदेशमै रोजगारीको अवसरहरु बनाउनुपर्ने बताउनुभयो ।
विश्वका कतिपय राष्ट्रहरुको दृष्टान्त दिँदै उहाँले सरकारले गैर आवासीय नेपालीलाई सम्मान गर्दै देशको विकासका लागि उनीहरुको साथ र सहयोग लिनुपर्ने बताउनुभयो ।
उहाँ सञ्चार केन्द्र नेपालले शनिबार काठमाण्डौमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै हुनुहुन्थ्यो ।