३९४० नेपालीका एसाइलम अमेरिकी अदालतमा अझै पेन्डिङ


प्रकाशित मिति : कार्तिक २, २०७६ शनिबार

३९४० जना नेपालीका एसाइलम आवेदनहरु अझै अमेरिकी अदालतमा पेन्डिङ अवस्थामा रहेको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको नयाँ तथ्यांकले देखाएका छ । उनीहरुमध्ये अधिकांशले आफूलाई माओवादीपीडित उल्लेख गर्दै शरण दावी गरेका छन् ।

सबैभन्दा धेरै न्युयोर्कको अदालतमा २१९० नेपालीका एसाइलम आवेदनहरु पेन्डिङ अवस्थामा रहेका छन् । तीमध्ये २ जनाको बफेलोमा र ८ जनाको बटाभियामा रहेको छ भने बाँकीको एसाइलम न्युयोर्क सिटी र भेरिकमा पेन्डिङ अवस्थामा रहेको छ ।

न्युयोर्कपछि क्यालिफोर्नियामा ९७४, टेक्सासमा ३३३, मासाचुसेट्समा १११, भर्जिनियामा ८२, मेरिल्याण्डमा ७८, कोलोराडोमा ४१ र न्युजर्सीमा ३२ जना नेपालीको एसाइलम पेन्डिङ रहेको छ । त्यो बाहेक मिनिसोटामा २४, इलिनोयमा १९, जर्जियामा १७, पेन्सिलभेनियामा १५ र वासिंटनमा १३ नेपालीहरुको एसाइलम पेन्डिङ अवस्थामा रहेको छ ।

अदालतमा नेपालीहरुको एसाइलम केस पेन्डिङ रहेको दर अहिलेसम्मकै उच्च हो । आर्थिक बर्ष २०१८ को अन्त्यसम्म ३९५८ जना नेपालीका आवेदनहरु पेन्डिङ अवस्थामा रहेका थिए । जबकी २०१७ मा ३६७० आवेदनहरु पेन्डिङ अवस्थामा रहेका थिए ।

ठूलो संख्यामा नेपालीहरु सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गर्ने र एसाइलम दावी गर्ने दर बढेपछि अदालतमा पेन्डिङ एसाइलमको संख्या पनि बढेको हो । सन् २००९ मा जम्मा १२३० नेपालीका एसाइलम अदालतमा पेन्डिङ अवस्थामा रहेका थिए । १० बर्षको अवधिमा त्यो दर तीनगुणा बढेको छ ।

पेन्डिङ एसाइलमको संख्या बढेसँगै अदालतबाट मुद्दामा छिनोफार्ने गर्नका लागि लाग्ने समय पनि बढेको छ । आर्थिक बर्ष २०१८ मा नेपालीका मुद्दा औषतमा ७१४ दिनमा टुंगो लाग्ने गरेकोमा आहिले औषतमा ८०३ दिन लाग्ने गरेको छ । युएससीआईएसमा अस्वीकृत भएका एसाइलमका मुद्दापनि अध्यागमन अदालतमा पुग्ने गर्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com