एनआरएनएका संरक्षकदेखि कार्यसमितिका नेतासम्म टकअफ द टाउनमा, अनलाइन मतदानमा जोड


प्रकाशित मिति : कार्तिक २, २०७६ शनिबार

एनआरएनएका संरक्षकहरुदेखि वर्तमान कार्यसमितिका नेताहरुसम्मले एनआरएनएको चुनाव अब अनलाइनमार्फत हुनुपर्ने र सबै साधारणसदस्यहरुलाई मताधिकार प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रम टक अफ द टाउन एनआरएनए विशेषमा पत्रकार किशोर पन्थीसँग कुरा गर्दै उनीहरुले एनआरएनए संस्थामा राजनीतिक हस्तक्षेप र आर्थिक प्रभाव कम गर्न यो विधि उपयुक्त हुने बताएका छन् ।

कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष तथा पूर्व प्रमुख संरक्षक जीवा लामिछानेले सबै साधारणसदस्यहरुलाई मताधिकार प्रदान गरेर अनलाइनमार्फत मतदान हुनुपर्ने बताउनुभयो । एनआरएनएमा चर्को राजनीतिक हस्तक्षेप भित्रिएको बताउँदै उहाँले डेलिगेट्स प्रणालीमा भएको विकृति हटाउनुपर्ने बताउनुभयो । लेवी र सदस्यता शुल्कको प्रावधान हटाएर एनआरएनएलाई आर्थिक रुपमा सवल बनाउन वैकल्पिक उपायहरु खोज्नुपर्ने उहाँले बताउनुभयो ।

एनआरएनएका संस्थापकमध्येका एक तथा पूर्व प्रमुख संरक्षक रामप्रताप थापाले पनि एनआरएनएमा बढेका विकृति कम वैकल्पिक उपायहरु र परिवर्तनको खाँचो रहेको बताउनुभयो । डेलिगेट्सहरु किनबेच, राजनीतिक तथा आर्थिक चलखेल तीब्र बनेकाले त्यसलाई कम गर्न डेलिगेट्सलाई नीति निर्माणको काममा लगाउने र आम सदस्यहरुलाई अनलाइनमार्फत मताधिकार प्रदान गर्नुपर्ने उहाँको धारणा छ ।

कार्यक्रममा एनआरएनए नेता सोनाम लामाले पनि अनलाइनमार्फत मतदान र निशुल्क साधारणसदस्यता वितरणमा जोड दिनुभयो । उहाँले राजनीतिक हस्तक्षेप हुनुहुँदैन भनेरमात्र नहुने बरु त्यसलाई रोक्ने संयन्त्र नै बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । लामा वर्तमान कार्यसमितिमा उपाध्यक्षमा समेत निर्वाचित हुनुभएको छ ।

कार्यक्रम टक अफ द टाउनमा बोल्दै एनआरएन नेता आरके शर्माले पनि अनलाइन मतदानमा नै जोड दिनुभयो । अनलाइनमार्फत मतदानको व्यवस्था गर्दा सहज र वैज्ञानिक हुने तथा आफू त्यसका लागि लागिपर्ने उहाँले बताउनुभएको छ । आम साधारणसदस्यलाई मताधिकार प्रदान नगर्दा डेलिगेट छनौटमा व्यापक राजनीतिकरण हुने गरेको उहाँको तर्क छ । शर्मा वर्तमान कार्यसमितिमा सचिव पदमा निर्वाचित हुनुभएको छ ।

त्यस्तै एनआरएनए नेता लोक तिवारीले पनि सबै सदस्यलाई मताधिकार प्रदान गर्नेमा जोड दिनुभयो । सबै साधारणसदस्यलाई मताधिकार प्रदान गरेमा मतदातामाथि राजनीतिक प्रभाव पार्न सहज नहुने उहाँको तर्क छ । एनआरएनहरु सम्मेलनका बेलामा नेपाल आउँदा नेपालमा ब्यापार व्यवशाय र पर्यटनका क्षेत्रमा योगदान हुने गरेको बताउँदै पूरै अनलाइनमा जाँदा त्यसमा पर्नसक्ने असरबारे भने विचार गर्नुपर्ने उहाँको भनाई छ ।

कार्यक्रम टक अफ द टाउन एनआरएनए विशेष अक्टोबर ११ देखि १५ सम्म एबीसी टेलिभिजनमा प्रशारण भएको थियो । यसको पहिलो र दोश्रो सिजन सन् २०१५ र २०१७ मा प्रशारण गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com