विशेष रिपोर्ट : बेचिदै पुरुष

प्रकाशित मिति : श्रावण २८, २०७३ शुक्रबार

 

-अस्मिता खड्का / काठमाडौं

मानव बेचबिखन तथा ओसारपसार गम्भिर अपराध हो । यो अपराधले समाजका हरेक तप्का कुनै न कुनै हिसाबले प्रतावित बन्न पुगेका छन् । मानव बेचबिखन तथा ओसारपसार विश्वमै अबैध हातहतियार र लागू पदार्थ ओसारपसार पछिको तेस्रो ठूलो संगठित अपराध भनिएको छ । नेपालको हकमा यो कार्य वैदेशिक रोजगारीबाट सुरु भई मानव बेचबिखनमा टुंगने गरेको पाइन्छ । वैदेशिक रोजगारीमा जान पाउनु व्यक्तिको अधिकार हो । तर, प्राप्त जानकारी विना वैदेशिक रोजगारीमा जाँदा नेपाली युवा बेचिन पुगेका छन् ।
मानव बेचबिखन भन्न बित्तिकै, महिला तथा बालबालिकालाई यौन शोषणको लागि बेचबिखन गर्नु हो, भन्ने बुझाई नेपाली समाजमा अहिले पनि व्याप्त छ । जसको ठूलो सिकार बनेका छन् पुरुषहरु !
बेचबिखन यौन कार्यको लागि मात्र नभई, इच्छा विपरित श्रम गर्न लगाउने, एउटा काम भनेर अर्को गर्न लगाउने, मानव अंग झिक्ने÷बेच्ने र सर्कस जस्ता निकृष्ट कार्यमा लगाउनु पनि बेचबिखन हो भन्ने कुरा राज्यको कानुनले स्पष्ट रुपमा बोलेको छैन । जसको कारण वैदेशिक रोजगारीमा पुगेका पुरुषहरुको ठूलो संख्या यसको मारमा परेका छन् । उनीहरु इच्छा विपरित विदेशमा काम गर्न बाध्य पारिएकोलाई म्यानपावरले ठगी गरेको हो भन्ने मात्र बुझेको पाइन्छ । तर, अन्तरराष्ट्रिय कानुनले यसलाई बेचबिखननै भनेको छ ।

वैदेशिक रोजगारीबाट सुरु हुने मानव बेचविखनका घटनालाई बेचबिखनको नजरले नहेर्दा धेरै पुरुषहरु पीडित बन्न पुगेका छन् ।
ती मध्ये एक हुन् महोत्तरी हात्तीलेटका रामपुकार महत्तो । उनी गाउँमै बसेर घर परिवार पाल्न गाह्रो भएपछि विदेश जाने निधो गरे । उनका धेरै गाउँले साथीहरु दुवही र कतारमा रोजगारीका लागि गएका छन् ।
उनी पनि परिवारको गर्जो टार्न वैदेशिक रोजगारीमा जाने निधो गरेपछि विदेश पठाउने गाउँकै एक जना एजेण्टलाई  विदेश जान चाहेको बताए । एजेण्टले पार्सपोर्ट बनाउन सल्लाह दियो । उनले महोत्तरी जलेश्वर स्थित जिल्ला प्रशासन कार्यलयबाट पासपोर्ट बनाए ।
पासपोर्ट बनाएको खबर एजेण्टलाई सुनाएको २० दिनपछि एजेण्टले कतारमा राम्रो काम पाइएको र एक लाख रुपैयाँ खर्च गरे आपूmले कतार पठाइदिने बतायो । उनी एजेण्टको कुरामा सहमत भए ।
सालोले रामपुकारलाई विदेशबाट कमाएर तिर्ने शर्तमा चालीस हजार रुपैयाँ ऋण दिए । रामपुकारले बाँकी साठी हजार भिसा आएपछि दिने सर्तमा एजेण्टलाई चालीस हजार र पासपोर्ट जिम्मा लगाए । लगभग बीस दिनपछि एजेण्टले स्वास्थ्य परीक्षणको रिपोर्ट बनाउनुपर्छ भन्दै काठमाडौं ल्यायो ।
रामपुकारले एजेण्ट र म्यानपावर कम्पनिले भनेका सम्पूर्ण प्रक्रियाहरु पूरा गरेर घर फर्किए । झण्डै डेढ महिनापछि एजेण्टले रामपुकारको भिसा आएको खबर सुनायो र पन्ध्र दिन भित्रमा पैसा ठीक पार्न ठाडो आदेश दियो । रामपुकारले पैतालीस हजार रुपैयाँ छत्तिस प्रतिशत ब्याजमा सापटी लिए र आफूसँग भएको पन्ध्र हजार थपेर एजेण्टलाई बुझाए ।
एजेण्टले दूधको परिकारहरु बनाउने कारखानामा काम गर्नुपर्ने र मासिक पैंतालीस हजार रुपैयाँ तलब हुने उनलाई बताएको थियो । रामपुकार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिसा देखाएर कतार एयरवेज मार्फत् दोहा उडे । उनलाई लिन एक जना मानिस कतार एयरपोर्टमा आइपुग्यो र दुई दिन पछि उनले काम गर्ने भनेको ठाउँमा पु¥यायो ।
काम गर्ने ठाउँ, उनलाई एजेण्टले भने जस्तो दूध डेरी थिएन, बन्दै गरेको होटेलको भवन निर्माण गर्ने थियो ।
ऋण काडेर विदेश पुगेका रामपुकारसँग जस्तो भएपनि काम गर्नु बाहेक अर्को कुनै विकल्प थिएन । उनी त्यहाँको पचास डिग्री भन्दा बढी तातो घाममा मजदुरी गर्न बाध्य भए । त्यती मात्र होइन, तलब पनि नेपाली रुपैयाँ २४ हजार मात्र रहेछ । काम सुरु गरेको पाँचौ महिनामा उनीसँगै काम गर्ने एक जना बंगालादेशी नागरिकको मुदिर (पेटी ठेकेदार)सँग भनाभन प¥यो । बंगलादेशी नागरिक र रामपुकार सहित ६ जना कामदारलाई प्रहरीले पक्राउ ग¥यो । पन्ध्र दिनपछि दुई जना बंगलादेशी बाहेक चार जनालाई प्रहरीले मुक्त गरिदियो ।
कम्पनीले नियम विपरित काम गरेको भन्दै चारै जनालाई कामबाट निकालि दियो । त्यति बेलासम्म रामपुकारले दुई महिनाको तलब बुझेर एकतीस हजार रुपैयाँ मात्र घर पठाएका थिए । म्यानपावर र दलाललाई दिन काडेको ऋण उनले चुक्ता गर्न नपाउँदै कम्पनीले उनलाई नेपाल पठाई दियो ।
कम्पनीले नेपाल फर्कने प्लेन भाडा र प्रहरीबाट छुटाउन खर्च भएको भन्दै बाँकी तलब दिएन । एजेण्टबाट  ठगिएको भन्दै रामपुकारले गाउँमा पञ्चायत गुहारे । पञ्चायतमा एजेण्टले आफ्नो कुनै दोस नभएको जिद्धी गरिरह्यो । तर,पञ्चायतले रामपुकारको पारिवारिक हालतलाई हेरेर एजेण्टले पैंतालीस हजार रुपैयाँ रामपुकारलाई दिनु पर्ने निश्कर्ष निकाल्यो । उनले पनि आफू बेचबिखनमा परेको भन्दै कानुनको साहारा लिएनन् । रामपुकारको जस्तो पीडा भोगेकाहरुले न्यायको आशामा वैदेशिक रोजगार विभागमा २०६६/०६७ देखि २०७०/०७२ सम्म ८ हजार ६ सय ५१ मुद्दा दर्ता भएका छन् भने न्यायधिकरणमा २ हजार ३ सय १५ मुद्दा दर्ता भएका छन् । यी मध्ये निकै कम पीडितले न्याय पाएका छन् भने एजेण्ट र म्यानपावर कम्पनी विरुद्ध उजुरी दिने पीडितलाई पीडकले डर, धम्की दिने, आर्थिक प्रलोभन देखाउने र झन्झटिलो न्याय प्रणालीका कारण मुद्दा फिर्ता लिनेको संख्या पनि धेरै नै रहेको छ ।
यता संयुक्त राष्ट्र संघका अनुसार करिब २ करोड ४० लाख मानिस प्रत्येक वर्ष मानव बेचबिखनको सिकार हुने गरेका छन् ।
यसरी हेर्दा, मुलुकको अर्थतन्त्रको आधार वैदेशिक रोजगारी मानव बेचबिखन र ओसारपसारको माध्यम पनि बनिरहेको छ । तर, रामपुकार जस्ता पीडितहरु मानव बेचबिखन तथा ओसारपसरामा परेको थाहा छैन । उनीहरु आफू ठगीमा परेको बुझिरहेका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले बेचबिखनमा परेको व्यक्तिले नै आफू बेचिएको भन्ने थाहा नपाउनु गम्भिर समस्या रहेको बताउँछन् । वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन गर्ने दलालहरु सक्रिय रहेको काफ्ले स्विकार्छन् ।
मानब बेचबिखन भन्ने बित्तिकै चेलीबेटी बेचबिखनलाई मात्र बुझ्ने अवस्था समाजमा विद्यमान छ । यौन शोषणका लागि महिलालाई बेच्ने कार्य मात्र बेचबिखन हो भन्ने बुझाइले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध काम गर्न असहजता पैदा भइरहेको मानव बेचबिखन विरुद्ध काम गरिरहेको केआई नेपालका कार्यक्रम निर्देशक इन्द्र भट्टराईको भनाइ छ ।
उनले भने ‘श्रम शोषणसँग सम्बन्धित विषय पनि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी अपराध हो भन्ने समाजका अधिकाशं तप्कालाई थाहा छैन् । यौन शोषण र श्रम शोषण दुवै मानव बेचबिखन तथा ओसारपसार हो भन्ने कुरा आम नागरिकलाई बुझाउनु जरुरी भएको भट्टराइको तर्क छ ।
चितवन जिल्ला अदालतका प्रमुख न्यायाधीश टेकनारायण कुँवर पछिल्लो समय वैदेशिक रोजगारीको नाममा महिलाभन्दा बढी पुरुषहरु बेचबिखन तथा ओसारपसारको शिकार हुन थालेको बताउँछन् । तर, पुरुषहरुसँग सम्बन्धित बेचबिखन तथा ओसारपसारको केसलाई पीडितहरुले नै ठगी मुद्दाको रुपमा स्विकार्ने प्रचलन छ । ‘ठगी मुद्धातर्फ जाँदा बिगो भराउने व्यवस्थाका कारण पनि यस्तो भएको हुनुपर्छ ’ न्यायाधीश कुँवर बताउँछन् । यौन शोषणसँग जोडिएको बेचबिखनका विषयमा जति चर्चा र चासो छ, त्यसको मात्रामा श्रम शोषणसँग सम्बन्धित विषय छलफलमा आउन सकेको छैन ।
वैदशिक रोजगारीमा गएको व्यक्तिलाई दिने भनिएको सेवा सुविधा दिइएन भने पनि उक्त कार्य मानव बेचबिखन तथा ओसारपसार अपराध अन्तर्गत पर्दछ । श्रम विज्ञ गणेश गुरुङले एउटा देश भनेर अर्काे दश लैजाने, एउटा काम भनेर अर्काे काम गराउने, भने जति बिदा नदिने जस्ता कार्यहरुमा पनि मानव वेचबिखन तथा ओसारपसार कानून आकर्षित हुने बताए । ‘बिदेश जाने बित्तिकै कम्पनीलाई पासपोर्ट बुझाउने अभ्यास भइरहेको छ । यो कुनै अर्थमा जायज छैन’ डा. गुरुङ भन्छन् ‘कामदार पठाउँदानै गैर कानुनी रुपमा पठाईन्छ । फ्रि भिषा र फ्रि टिकटको व्यवस्था गरिएको भनिए पनि कामदारले लाख रुपैयाँ तिर्नु परिरहेको छ । काममा जाने व्यक्तिलाई काउन्सिलिङको व्यवस्था छैन । पीडित व्यक्ति नै आपूm बेचबिखन ओसारपसार वा शोषणमा परेको थाहा छैन ।’
वैदेशिक रोजगारीसँग जोडिएको मानव ओसारपसार तथा बेचबिखनसँग सम्बन्धित समस्याले विकराल रुप ग्रहण गर्दैछ । तर, यो सम्बन्धि विषयमा स्वयंम पीडितहरु नै जानकार नहुनु अर्काे समस्या हो । श्रम वा यौन शोषणसँग जोडिएका मानव बेचबिखन तथा ओसारपसारसँग सम्वन्धित नयाँ नयाँ चुनौती र प्रवृत्तिहरु बारे सचेतना बढाउनु अति जरुरी देखिएको के.आई नेपालको भनाइ छ ।
मानव बेचबिखन जस्तो जघन्य अपराधलाई निर्मूल तथा निरुत्साहित पार्ने उद्देश्य ले २०६४ सालबाट के.आई. नेपालले आफ्नो अभियान थालनी गरेको हो । के. आई. नेपालले हाल ६ वटा जिल्लाहरुमा शाखा कार्यालयहरु विस्तार सहित १२ जिल्लामा मानव बेचबिखन विरुद्ध विभिन्न अभियानहरु संचालन गर्दै आइरहेको छ ।
२०६४ सालदेखि सीमा निगरानी कार्यक्रम संचालन गर्दै आइरहेको छ । यो कार्यक्रम मोरङ्ग, पर्सा, चितवन, रुपन्देही, कपिलवस्तु र बाँकेमा सञ्चालित छ । यस कार्यक्रमले सीमा क्षेत्रमा चेकपोष्ट राखेर सीमा बाहिर जाने महिला तथा बालबालिकाहरुलाई परामर्श गर्ने, मानव बेचबिखनको उच्च जोखिममा रहेका महिला तथा बालबालिकाहरुलाई उद्धार गरी परिवार र आफन्तहरुसँग पुनःमिलन गराउने, मानव बेचबिखनमा संलग्न दलालहरु विरुद्ध मुद्धा दर्ता गर्ने र पीडितलाई न्याय दिलाउने कार्य गरिरहेको छ । के आईले श्रम शोषण पनि बेचबिखन हो भन्दै पुरुषका विषमा बहस सुरु गरेको छ ।
वैदेशिक रोजगारीको नाममा हुने घटनालाई मानव बेचबिखनसँग जोडेर वकालत गर्ने प्रयास निकै कम भएको अवस्थामा केआईले सुरु गरेको छलफलले केही भएपनि मानिसमा चेतना अवश्य जगाउने छ ।
मानव बेचविखन र वैदेशिक रोजगारबिचको अन्तरसम्बन्धका बारेमा राज्यले स्पष्ट कानुन बनाउनका लागि सबै क्षेत्रबाट दबाव दिनुपर्ने अधिकारकर्मी शंकर भण्डारीको भनाइ छ । श्रम शोषणलाई बेचबिखन हो भन्ने कुरा राज्यले किटान गर्ने कुरा त छाडौँ यसमाथि खुलेर बहस समेत गरेको पाईदैन । मानव बेचविखनका मुद्दालाई पनि वैदेशिक रोजगार सम्बन्धी कानुन अन्तरगत कार्वाही हुँदा अपराधीहरु सजिलै छुट्टने गरेका छन् । त्यसकारण वैदेशिक रोजगारी,मानव बेचबिखन तथा ओसारपसार र मानव तस्करी बीचको अन्र्तरसम्बन्धलाई राज्यले गहिरो गरि अध्ययन अनुसान्धान गरेर नयाँ कानुन बनाउन जरुरी छ ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved. Namaste International Media Group (worldwide) and Namaste Media Inc (USA)
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com