‘एनआरएनएको ग्लोबल सम्मेलन काठमाडौंबाहेक नेपालमा अन्य सहरमा पनि हुनुपर्छ’


प्रकाशित मिति : आश्विन २९, २०७६ बुधबार

एनआरएनएको ग्लोबल सम्मेलन काठमाडौंमा हुँदै आएकोमा अबदेखि काठमाडौं बाहेकका अन्य सहरमा समेत आयोजना गर्नेतर्फ सोंच्ने बेला आएको एनआरएनए वैदेशिक रोजगार सहायता कोषका को चियर लोक तिवारीले बताउनुभएको छ । एबीसी टेलिभिजनमा कार्यक्रम टक अफ द टाउन एनआरएन विशेषमा पत्रकार किशोर पन्थीसँगै कुरा गर्दै एनआरएन अमेरिकाका पूर्व बरिष्ठ उपाध्यक्ष तिवारीले नेपालका अन्य सहरमा एनआरएनए सम्मेलन गर्दा त्यहाँको पर्यटन र व्यापार प्रवद्र्धनमा टेवा पुग्ने तर्क गर्नुभयो ।

एनआरएनए संस्थामा बढेका विकृतिहरु हटाउन व्यापक परिवर्तनको खाँचो रहेको बताउँदै तिवारीले डेलिगेट्स प्रणालीमा सुधारको आवश्यकता रहेको औल्याउनुभयो । राजनीतिक र आर्थिक चलखेल रोक्न त्यही खालको संयन्त्रको आवश्यकता रहेको समेत उहाँको भनाई छ । अनलाइनमार्फत साधारण सदस्यसमेतलाई ग्लोबल सम्मेलनमा मताधिकार प्रदान गर्नु उपयुक्त हुने भएतापनि त्यसो गर्दा भौतिक रुपमा हुने उपस्थीति कम हुनसक्ने उहाँको तर्क छ ।

भौतिक रुपमा ग्लोबल सम्मेलनमा नेपालमा एनआरएनहरु आउँदा नेपालमा व्यापार र पर्यटनमा ठूलो टेवा पुग्ने गरेकाले त्यसलाई अझ बढाउने गरी संयन्त्र र नीति निर्माणको आवश्यकता रहेको उहाँको भनाई छ । एनआरएनएमा भित्रिएको राजनीतिक चलखेल रोक्न नसके संस्थाको गरिमा अझ गिर्दै जाने उहाँले बताउनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com