विद्युतीय मेसिनमा खराबी आएपछि एनआरएनएको चुनाव भोलि कागजी मतपत्रबाट हुने
प्रकाशित मिति : आश्विन २९, २०७६ बुधबार
काठमाडौंको हायात होटलमा जारी एनआरएनए ग्लोबल सम्मेलनबाट नयाँ नेतृत्व चयनका लागि एनआरएनए चुनावमा मतदान गर्दा गर्दै विद्युतीय मतदान मेसिनमा खराबी आएको छ । मेसिनमा खराबी आएपछि अब भोलि विहान १० बजेदेखि मतपत्रबाटै पुन मतदान हुने भएको छ ।
निर्वाचन समितिले प्रविधिमा समस्या आएको भन्दै बेलुका ९ बजे मतदान स्थगित गरेको थियो । त्यस लगत्तै अध्यक्ष उम्मेदवार तथा एनआरएनए आईसीसीका उपाध्यक्ष कुमार पन्तले सामाजिक सञ्जालमार्फत मतपत्रबाटै मतदान हुने जानकारी गराएका छन् ।
निकै ठूलो उत्साहका साथ संसारभरबाट आएका एनआरएन प्रतिनिधि, सचिवालय टिम र सबै पक्षको धैर्यताको कदर गर्दै विचलित नहुन पन्तले आग्रह गरेका छन् । साथै भोलि फेरी मतदानका लागि सरिक हुनसमेत अनुरोध गरेका छन् ।

यसपटकको एनआरएनए चुनावमा अध्यक्षमा जर्मनी निवासी कुमार पन्त र बेलायत नेपाली कुल आचार्यले उम्मेदवारी दिएका छन् । त्यस्तै ४ जना निर्वाचित हुने उपाध्यक्षमा ९ जनाले उम्मेदवारी दिएका छन् । जसमा सोनाम लामा, डाक्टर बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, मन केसी, नरेन्द्र बहादुर भाट, धर्मराज अधिकारी, हिक्मतबहादुर थापा, डाक्टर केशव पौडेल र किरणबिक्रम थापाले उम्मेदवारी दिएका छन् ।
१ जना निर्वाचित हुने महिला उपाध्यक्ष पदमा सपिला राजभण्डारी र रविना थापाले उम्मेदवारी दिएका छन् । त्यस्तै एकजना निर्वाचित हुने महासचिवमा जानकी गुरुङ र डाक्टर हेमराज शर्मा उम्मेदवारी दिएका छन् ।
२ जना निर्वाचित हुने सचिव पदमा आरके शर्मा, गौरीराज जोशी, अभिमानसिंह बस्नेत, विनय अधिकारी, दिपकप्रसाद ओली, शिवकुमार बरुवाल र सुस्मा लिम्बुले उम्मेदवारी दिएका छन् । कोषाध्यष पदमा महेस कुमार श्रेष्ठ र सुदन थापाले उम्मेदवारी दिएका छन् भने सहकोषाध्यक्षमा गोविन्द प्रसाद गौतम र लोकप्रसाद दाहालले उम्मेदवारी दिएका छन् ।
त्यस्तै एनआरएनए आईसीसीको चुनावमा विभिन्न पदमा १२ जना निर्विरोध निर्वाचित भएका छन् । अफ्रिका क्षेत्रीय संयोजकमा रोशन थापा निर्विरोध निर्वाचित भएका छन् भने उपसंयोजकमा उम्मेदवारी परेन । अफ्रिका क्षेत्रीय महिला संयोजकमा मनकला थापा विष्ट निर्विरोध निर्वाचित भएकी छिन् ।
त्यस्तै एसिया प्रशान्तमा क्षेत्रीय युवा संयोजकमा दिपक प्रसाद कँडेल निर्विरोध निर्वाचित भएका छन् । अमेरिका क्षेत्रको क्षेत्रीय युवा संयोजकमा विमला सापकोटा निर्विरोध भएकी छिन् ।
मध्यपूर्व क्षेत्रीय संयोजकमा प्रविन गुरुङ निर्विरोध निर्वाचित भएका छन् भने उपसंयोजकमा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल निर्विरोध निर्वाचित भएका छन् । मध्यपूर्वकै महिला संयोजकमा सुमित्रादेवी पौडेल र युवा संयोजकमा राजु रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।
ओसेनियाको क्षेत्रीय महिला संयोजकमा जानकी पौडेल र युवा संयोजकमा राजुकुमार थपलिया निर्विरोध निर्वाचित भएका छन् । युरोपको क्षेत्रीय महिला संयोजकमा कुमारी योगिता थापा र युवा संयोजकमा जय कृष्ण ठाकुर निर्विरोध निर्वाचित भएका छन् ।






