नेकपाका सांसद गुरुङविरुद्ध पक्राउ पूर्जी जारी
प्रकाशित मिति : आश्विन २९, २०७६ बुधबार
नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रतिनिधिसभाका सांसद पार्वत गुरुङविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । दोलखाका सांसद तथा नेकपाका केन्द्रीय गुरुङलाई ज्यान लिने मुद्दामा पक्राउ पूर्जी जारी भएको हो । ज्यान लिने उद्योग मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले ८ असोजमा सांसद गुरुङलाई पक्राउपूर्जीको म्याद तामेल गरेको हो ।
सांसद गुरुङविरुद्ध वीरध्वज खड्काले २०७६ को वैशाख २९ गते काडमाडौँ जिल्ला अदालतमा ज्यान लिने कसुरको जाहेरी दर्ता गरेका थिए । मुद्दामा गुरुङसँगै दोलखाको गौरीशंकर गाउँपालिकाकै मिनबहादुर तामाङ, कसराङ मन्ने कर्ण तामाङ, उर्मिला थामी, जीवन तामाङ, सागर तामाङ, सविन तामाङलाई प्रतिवादी बनाइएको छ ।
काठमाडौँ जिल्ला अदालतले १२ भदौ २०७६ मा जिल्ला प्रहरी कार्यालय दोलाखालाई पत्र पठाउँदै अदालत उपस्थित गराउन आदेश गरेको थियो । गुरुङ २०७४ सालको निर्वाचनमा दोलखाबाट कुल सदर मतमध्ये ५५ हजार ९५४ मत पाउँदै विजयी भएका थिए ।






