विमानस्थलको अध्यागमन डेस्क तोडफोड गर्ने एनआरएनलाई ५० हजार जरिवाना


प्रकाशित मिति : आश्विन २८, २०७६ मंगलबार

लामो लाइन बस्नुपरेपछि आक्रोशित भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन डेस्क तोडफोड गरेको आरोप लागेका एकजना नेपाली मूलका अस्ट्रेलियाली नागरिक रमेशकुमार थापालाई ५० हजार रुपैयाँ जरिवाना गराइएको अध्यागमन विभागले जनाएको छ।

उनलाई साथ दिएका अन्य चार नेपाली मूलका अस्ट्रेलियाली नागरिकमध्ये एक जनालाई २५ हजार रुपैयाँ र बाँकी तीन जनालाई कागज गराएर छोडिएको छ ।

गत आइतवार राती आएका उनीहरूले अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीमाथि अपशब्द बोलेको र सम्झाउन खोज्दा समेत अभद्र व्यवहार गरेका थिए । अध्यागमन डेस्कको सिसा फुटाइदिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

एउटा विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागले नेपाली मूलका विदेशी नागरिकहरूबाट पटकपटक आफ्ना कर्मचारीहरूलाई अभद्र व्यवहार गरिएको भन्दै त्यस्तो व्यवहार नगर्न सार्वजनिक अनुरोध गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com