२०१७ देखि एनआरएनएमा चर्को राजनीतिक हस्तक्षेप भित्राइयो : जीवा लामिछाने


प्रकाशित मिति : आश्विन २६, २०७६ आईतबार

सन् २०१७ देखि एनआरएनएमा चर्को राजनीतिक हस्तक्षेप भित्राइएको एनआरएनए पूर्व अध्यक्ष जीवा लामिछानेले बताउनुभएको छ । एबीसी टेलिभिजनमा कार्यक्रम टक अफ द टाउन एनआरएनए विशेषमा पत्रकार किशोर पन्थीसँग कुराकानी गर्दै एनआरएनएका संस्थापक तथा पूर्व प्रमुख संरक्षक लामिछानेले राजनीतिक दलका कारण भन्दा एनआरएनए नेताहरुकै कारण राजनीतिक हस्तक्षेप भित्रिएको बताउनुभएको छ । लामिछाने एनआरएनए आईसीसीमा संरक्षक हुनुहुन्छ ।

एनआरएनएका उम्मेदवारहरु नै राजनीतिक दलका नेताहरुको दैलो चहार्ने र आशिर्वाद लिने परिपाटी बढेको स्वीकार्दै उहाँले यस्तो परिपाटीको अन्त्य गरेर एनआरएनएलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने बताउनुभएको छ । हरेक व्यक्तिको राजनीतिक पृष्ठभूमि हुने भएतापनि एनआरएनए संस्थाभित्र त्यस्तो राजनीतिक हुल्न नहुने उहाँको भनाई छ । डेलिगेट्सहरुलाई नीति निर्माणको काममा सहभागी गराउने र सबै साधारण सदस्यहरुलाई आईसीसीमा पनि मताधिकार प्रदान गरेर अनलाइनमतदानको व्यवस्था हुन सकेमा राजनीतिक हस्तक्षेप कम हुनसक्ने उहाँको तर्क छ ।

सबै साधारण सदस्यलाई आईसीसीमा मताधिकार प्रदान गरेमा दशौं हजार आम सदस्यहरुलाई राजनीतिक रुपमा प्रभावित पार्नसक्ने सम्भावना कम हुने उहाँको भनाई छ । अमेरिका लगायतका एनआरएनए एनसीसीका चुनावहरु अनलाइनमार्फत नै हुने गरेको सन्दर्भमा विज्ञहरुसँग सुझाव दिएर सबै सदस्यहरुलाई मताधिकार प्रदान गर्ने विषयमा प्रणालीको विकाश गर्नुपर्ने लामिछानेले बताउनुभयो ।

एनआरएनए डेलिगेट्स छनौटमा विकृति बढेको बताउँदै उहाँले आम सदस्यहरुलाई मताधिकार प्रदान गरेमा डेलिगेट्स छनौटमा बढेका बिकृति कम हुने उहाँको अपेक्षा छ । एनआरएनएमा निशुल्क साधारण सदस्यता वितरणको आवश्यकता रहेको र संस्थालाई आर्थिक रुपमा सबल बनाउन वैकल्किप उपायहरु खोज्नुपर्ने उहाँको धारणा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com