‘एनआरएनए चुनावमा सबै सदस्यलाई मताधिकार दिनुपर्छ र अनलाइन मतदानको व्यवस्था हुनुपर्छ’


प्रकाशित मिति : आश्विन २४, २०७६ शुक्रबार

एनआरएनए आईसीसीको आगामी सम्मेलनमा सचिव पदका उम्मेदवार तथा एनआरएनए आईसीसीका तर्फबाट मध्यपूर्व क्षेत्रका संयोजक आरके शर्माले एनआरएनए आइसीसीको चुनावमा आम सदस्यहरुलाई मताधिकार प्रदान गर्ने व्यवस्था आवश्यक भएको बताउनुभएको छ । एबीसी टेलिभिजनमा कार्यक्रम टक अफ द टाउन एनआरएनए विशेषमा पत्रकार किशोर पन्थीसँग कुराकानी गर्दै शर्माले भन्नुभयो भविश्वमा एनआरएनए आइसीसीको चुनाव अनलाइनमार्फत हुने व्यवस्था आवश्यक रहेको र सबै सदस्यहरु मताधिकारप्राप्त हुनुपर्ने बताउनुभएको छ ।

सम्मेलनमा प्रत्यक्ष सहभागी हुने डेलिगेट्सहरुको भूमिका नीति निर्माणका सन्दर्भमा हुनुपर्ने र सदस्यहरुले अनलाइनमार्फत मतदान गर्नुपर्ने व्यवस्था भएमा डेलिगेट्स छनौटमा हुने चलखेल र राजनीतिकरण समाप्त हुने शर्माको धारणा रहेको छ । एनआरएनए संस्था धनीहरुकोमात्र संस्था रहेको धारणा तोड्न सबैलाई समेट्ने नीतिहरु आवश्यक रहेको समेत उहाँले बताउनुभएको छ ।

शर्माले सरकारी स्तरबाटै बृहत पहल भएमा फिफा विश्वकपमा कतारमा आउने विश्वभरका पर्यटकलाई नेपालप्रति आकर्षित गर्न सकिने र त्यसका लागि एनआरएनएले सरकारसँग हातेमालो गर्न तयार रहेको बताउनुभएको छ । युरोप र अमेरिकाकामात्र नभई मध्यपूर्वका पर्यटकहरु भित्राउन समेत सरकारी पहल आवश्यक रहेको शर्माले बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै शर्माले एनआरएनए सचिवमा निर्वाचित भएमा गर्ने कामका एजेण्डाहरु समेत प्रस्तुत गर्नुभयो । शर्मा विगत एक दशकभन्दा लामो समयदेखि एनआरएनए अभियानमा सकृय रहदै आउनुभएको छ भने उहाँले कामदारका हकहित र सुविधाका सन्दर्भमा लगातार काम गर्दै आउनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com