डिभी लोटरीबारे अमेरिकी दूतावास काठमाडौंले दिएका १० प्रश्नका जवाफ


प्रकाशित मिति : आश्विन १३, २०७६ सोमबार

डिभी लोटरीबारे अमेरिकी दूतावास काठमाडौले फेसबुकमार्फत प्रश्नकर्ताका जिज्ञासाहरु मेटाउने प्रयास गरेको छ । फेसबुकमा कन्सुलर अधिकृतले डिभी लोटरीबारे विभिन्न प्रश्नका जवाफ दिएकाथिए । अधिकांशले यसपटक डिभी लोटरी भर्दा पासपोर्ट अनिवार्य भए नभएको बारे सोधेका थिए । कन्सुलर अधिकृतले प्राथमिक आवेदकका लागि पासपोर्ट अनिवार्य भएको स्पष्ट पारेका थिए । हामीले त्यसको सारसंक्षेप प्रस्तुत गर्दैछौं ।

म अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिदैछु । के मैले डिभी भरेका कारण यसमा प्रभाव पर्छ ?

यदि तपाईले डिभीका लागि आवेदन दिदैमा भिजिटर भिसाका लागि स्वत अयोग्य भइदैन । तर डिभी आवेदनको अर्थ तपाई स्थायीरुपमा नै अमेरिकामा बसाई सर्न चाहनु हो । पर्यटक भिसाका लागि एउटा प्रावधान तपाईको नेपालमा बलियो सम्बन्ध हुनुपर्छ र भिसा सकिएपछि तपाई अमेरिकाबाट प्रस्थान गर्ने आशय हुनुपर्छ । पर्यटक भिसाका लागि आवेदन दिंदा तपाईको अमेरिकामा बसाई सर्ने चाहना अब किन छैन भन्नेबारे व्याख्या गनुपर्छ । डिभी लोटरी भरेकाहरुका कैयन आवेदनहरु पर्यटकभिसाका लागि सफलतापूर्वक योग्य भएका छन् ।

डिभी परेपछि अमेरिका जाँदा स्पोन्सरको जरुरत छ ? डिभी भरेपछि पर्ने मौका बढाउने कुनै उपाय छ कि ?

सबै आवेदनहरु कम्प्युटरबाट छानिन्छन् । डिभी पार्ने एउटामात्र तरिकाले सही ढंगले आवेदन दिनु हो । डिभी परेपछि अमेरिका जानका लागि स्पोन्सरको जरुरत हुँदैन । तर डिभी पर्दैमा अमेरिकाको भिसा पाउने ग्यारेन्टी हुँदैन । डिभीका लागि छानिएका सबैले सम्बन्धित अमेरिकी कानुन र डिभी कार्यक्रमका योग्यताका प्रावधानहरु पूरा गर्नुपर्छ । त्यसमध्येको एउटा कानुनी प्रावधान तपाई अमेरिका गइसकेपछि आफैले आफैलाई आर्थिक रुपमा सघाउन सक्नुपर्ने र अमेरिकी सरकारको आर्थिक सहायतामा भर नपर्ने कुरा तपाईले देखाउन सक्नुपर्छ । उपयुक्त आम्दानी भएको स्पोन्सर जसले तपाईलाई रोजगार प्राप्त नगर्दासम्म सघाउन सक्छ, त्यो उक्त प्रावधान पूरा गर्ने एउटा बाटो हुनसक्छ ।

के डिभी २०२१ मा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य छ ?

हो । सबै प्राथमिक आवेदकले पासपोर्ट नम्बर, जारी भएको देश र म्याद उल्लेख गर्नुपर्छ । पासपोर्ट म्याद नसकिएको हुनुपर्छ । यो प्रावधान प्राथमिक आवेदकको हकमा मात्र लागु हुनेछ, डिपेन्डेन्टको हकमा होइन । पासपोर्टको विवरण उल्लेख नगर्ने आवेदकहरु स्वत अयोग्य हुनेछन् ।

डिभीका लागि छनौट प्रकृया के हो ?

सही तरिकाले आवेदन दिएका आवेदकका आवेदनहरु कम्प्युटरमार्फत रयाण्डम तरिकाले छानिन्छन् । तर डिभी पर्दैमा भिसा पाउने ग्यारेन्टी हुँदैन । तपाईले न्युनतम शिक्षा र कामको योग्यता पूरा गरेको हुनुपर्छ । मेडिकल जाँच पास गर्नुका साथै तपाईले अमेरिका पुगेपछि आफैले आफैलाई सपोर्ट गर्नसक्ने कुरा देखाउन सक्नुपर्छ । त्यस्तै विभिन्न सुरक्षा र पृष्ठभूमि परिक्षण पनि उत्तिर्ण गर्नुपर्छ । यी प्रावधानका आधारमा तपाईको भिसा जारी गर्नु अगाडि तपाईलाई कन्सुलर अधिकृतले अन्तरवार्ता लिनेछन् ।

म नेपाली नागरिक थिएँ तर हाल युगाण्डामा बसिरहेको छु । त्यहाँको नागरिकता पनि लिइसकेको छु । के मैले युगाण्डाको पासपोर्ट प्रयोग गरेर डिभी भर्न सक्छु ?

तपाईले आफू जन्मेको देशको आधारमा डिभी लोटरी भर्न सक्नुहुन्छ । यदि तपाईको दम्पत्ति अर्को देशको हुनुहुन्छ भने उहाँले भने आफू जन्मेको देशको आधारमा डिभी भर्न सक्नुहुन्छ । तर उक्त देश डिभी कार्यक्रममा सहभागी हुनका लागि योग्य हुनुपर्छ ।

डिभी कार्यक्रममा सहभागी हुनका लागि शैक्षिक योग्यता के हो ? मैले एसएलसी गरेको छु र कामको अनुभव छ । के मैले डिभी भर्न सक्छु ?

डिभीका लागि योग्य हुनका लागि या त तपाईले प्लस टु गरेको हुनुपर्छ । या त अमेरिकी सरकारले तोकेको प्रावधान अनुशार कामको योग्यता भएको हुनुपर्छ ।

बुधबारदेखि डिभी लोटरी, पासपोर्ट अनिवार्य, यस्तो छ भर्ने सही तरिका

म नेपाली नागरिक हुँ । हाल युएईमा छु । के मैले त्यहाँबाट डिभी लोटरी भर्न सक्छु ?

सक्नुहुन्छ । तपाईले संसारको जुनसुकै स्थानबाट पनि डिभी लोटरी भर्न सक्नुहुन्छ । तर तपाईले डिभीमा सहभागी हुनका लागि तोकिएका योग्यता र मापदण्ड पूरा गर्नुपर्छ ।

म डिभी लोटरीमा छनौट भएँ भने तीनचार बर्षपछिमात्र अमेरिका जान सक्छु ?

यदि आवेदक सफलताका पूर्वक डिभीका लागि योग्य भएमा भिसाको अवधि सकिनुभन्दा अगाडि नै अमेरिका जानुपर्छ । जुन ६ महिना वा त्यो भन्दा कम अवधिको हुनेगर्छ ।

डिभी परेपछि अमेरिका जाँदा हामी जुनसुकै स्थानमा पनि बस्न सक्छौं ?

डिभी परेर भिसा पाइसकेपछि अमेरिका जाने व्यक्ति आफूले चाहेको अमेरिकाको जुनसुकै स्थानमा बसोबास गर्न सक्छ ।

डिभी कार्यक्रममा सहभागी हुनका लागि उमेरको हदबन्दी छ कि ?

डिभी कार्यक्रममा सहभागी हुनका लागि उमेरको हदबन्दी छैन । यद्यपी डिभीमा सहभागी हुन हाइस्कुल स्तरको शिक्षा हासिल गरेको वा सरकारको तोकेको कामको अनुभव भएको हुनुपर्छ ।

अक्टोबर २ देखि डिभी लोटरी, पासपोर्ट अनिवार्य, सरकारबाट औपचारिक सुचना जारी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com