कुमार पन्त र गौरी जोशीबाट एनआरएनएलाई दिइएको एकएक करोड विना ब्याजको ऋण


प्रकाशित मिति : भाद्र ३१, २०७६ मंगलबार

एनआरएनए नेताहरु कुमार पन्त र गौरी जोशीले एनआरएनए आईसीसीलाई विना ब्याज एकएक करोड ऋण प्रदान गरेका छन् । एनआरएनएमा आर्थिक अभाव भएपछि विभिन्न परियोजना अगाडि बढाउन र संचालनको खर्च धान्नका लागि ऋण प्रदान गरिएको हो ।

यो ऋण एनआरएनएले आफ्नो कोषमा रकक जम्मा भइसकेपछि फिर्ता गर्ने शर्तमा प्रदान गरिएको हो । तर कहिलेसम्म फिर्ता गर्ने भन्नेबारेमा भने केही समयसिमा दिइएको छैन । संघका वर्तमान अध्यक्ष भवन भट्टले संस्थामा रकम अभाव भएको भन्दै ऋणका लागि आग्रह गरेका थिए ।

एनआरएनएका विभिन्न परियोजनाहरुलाई निर्वाध संचालन गर्न आर्थिक अभाव परेको बेलामा एनआरएनएका अभियन्ताहरुले विगतमा पनि ऋण सहयोग गर्दै आएका थिए । तर विगतमा प्रदान गरिने ऋण सहयोगहरु सार्वजनिक नहुने भएपनि यसपटक भने यो विषय बाहिर आएको छ ।

एनआरएनएलाई ऋण प्रदान गरिएको विषय स्वीकार्दै एनआरएनए आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि क्षेत्रीय संयोजक गौरी जोशीले यो विषय कसरी बाहिर आयो भन्ने विषयमा आफू आश्चर्यचकित भएको बताए ।

कुमार पन्त एनआरएनए आईसीसीका वर्तमान उपाध्यक्ष हुन् भने उनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । त्यस्तै गौरी जोशीले पनि एनआरएनए आईसीसीको सचिवमा उम्मेदवारीको घोषणा गरेका छन् ।

कतिपय संचारमाध्यमहरुमा प्रदान गरिएको एकएक करोडलाई डोनेशनका रुपमा प्रचार गरिएपनि यो डोनेशन भने नभएको जोशीले जानकारी दिएका छन् । जोशीले खसोखाससँग भने -‘हामीले अध्यक्षको आग्रह अनुरुप ऋण प्रदान गरेका हौं । चुनावलाई प्रभावमा पार्न यसो गरिएको होइन । यसले आगामी चुनावमा कुनै प्रभाव पार्नेछैन भन्ने हामीले अपेक्षा गरेका छौ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com