विमानस्थलमा चरा धपाउन पाँच सिकारीको व्यवस्था


प्रकाशित मिति : फाल्गुन ८, २०७३ आईतबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चरा धपाउन सिकारीको व्यवस्था गरिएको छ । जहाजमा चरा ठोक्किने समस्या भएपछि धपाउन सिकारी राखिएको हो । सिकारी १८ घन्टासम्म चरा धपाउने ड्युटीमा हुन्छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता पि एन ठाकुरले चरा धपाउन पाँचजना सिकारी रहेको जानकारी दिए । उनका अनुसार सिकारीले बिहान ६ बजेदेखि राति साढे १२ बजेसम्म चरा धपाउने ड्युटी गर्छन् ।

चरा धपाउन सिकारीलाई गुलेली, भरुवा बन्दुक, टर्च लाइटजस्ता सामग्री उपलब्ध गराइएको छ । चरा धपाउन आवाज आउने मेसिन ग्यास क्यानन तथा वेलर, एक्रोक्रोलगायतका प्रविधिको पनि प्रयोग गरिएको छ । विमानस्थल क्षेत्रमा गिद्ध, काग, चिललगायतका चरा आउने गर्छन् ।

विमानस्थलमा खटिएका सबै सिकारी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गतका कर्मचारी हुन् । सिकारीलाई विमानस्थलभित्रै बस्ने र खाना–खाजाको व्यवस्था छ । विभागका महानिर्देशक मनबहादुर खड्काले विमानस्थलका सिकारीलाई वेलावेला सरुवा गर्ने गरिएको जानकारी दिए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

चरा ठोक्किएर दर्जनौँ दुर्घटना
नेपाली आकासमा चरा ठोक्किएर दर्जनौँ दुर्घटना भइसकेका छन् । तर, नागरिक उड्डयन प्राधिकरणसँग सबै तथ्यांक छैन । प्राधिकरणले मानवीय तथा जहाजको क्षति भएका दुर्घटनाको मात्र सूची राख्ने गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र होइन, पोखरा र विराटनगर विमानस्थलमा पनि यस्ता घटना हुने गरेको प्राधिकरणले जनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा चरा ठोक्किएर भएका दुर्घटना
-असारमा काठमाडौंबाट हङकङका लागि उडेको नेपाल एयरलाइन्सको एयरबस ३२० मा चरा ठोक्किएपछि आकस्मिक अवतरण भयो । सोहीकारण जहाज करिब एक साता ग्राउन्डेड भएको थियो ।

-असारमै काठमाडौंबाट ओमानका लागि उड्ने तयारीमा रहेको ओमन एयरको जहाजमा चरा ठोक्किएपछि जहाज ग्राउन्डेड भएको थियो ।

-असार ०७१ मा नेपाल एयरलाइन्सको एमए ६० जहाजमा चरा ठोक्किएपछि जहाज लामो समय ग्राउन्डेड भएको थियो ।

-असोज ०६९ मा काठमाडौंबाट सोलुखुम्बुका लागि उडेको सीता एयरको विमानमा चरा ठोक्किएपछि लोकन्थलीस्थित मनोहरा खोलामा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा १९ जनाको निधन भएको थियो ।

-पुस ०७१ मा मुम्बईबाट काठमाडौं आएको जेट एयरको विमानमा चरा ठोक्किएर आकासमै आगलागी भएको थियो । तर, चालकले साहसिक रूपमा जहाजलाई अवतरण गराएका थिए ।

-कात्तिक ०७२ मा टर्किस एयरको जहाजमा चरा ठोक्किएको थियो ।

-फागुन ०७२ मा गोमा एयरको जहाजमा चरा ठोक्किएको थियो ।

विमानस्थलमा किन आउँछन् चरा ?
विमानस्थलसहित आसपास केही जंगल तथा घाँसेमैदान छ । धावनमार्ग पिच भए पनि आसपासमा बाक्लो घाँस र माटो रहेकाले किराफट्याङ्ग्रा तथा गँड्यौला धावनमार्गमा देखिन्छन् । किराफट्यांग्रा खान चरा विमानस्थलमा पुग्ने गरेकाले चरा धावनमार्गसम्म पुग्छन् । तर, विमानस्थलले किराफट्यांग्रा नआउन् भनेर धावनमार्गमा एकप्रकारको औषधि छर्कने गरेको छ ।

मापदण्डअनुसार विमानस्थलको ३ किलोमिटर आसपास मासु पसल र ७ किलोमिटर आसपास डम्पिङसाइट राख्न मिल्दैन । तर, त्रिभुवन विमानस्थलको गेटबाट बाहिर निस्कनासाथ सेकुवा कर्नरका लाइन छन् । विमानस्थल आसपास बाक्लो मानवबस्ती, दुईतर्फबाट अत्यन्त फोहोर पानी बग्ने नदी रहेकाले चराहरू बढी आउने गरेको विज्ञहरू बताउँछन् ।

विमानस्थल आसपासको क्षेत्रमा फोहोर बढी भएकाले चरा आकर्षित हुने गरेको चराविज्ञ हेमसागर बरालले बताए । बरालले भने, ‘एयरपोर्ट ठूलो मैदानजस्तो छ, चराहरू खेल्न, मुसालगायत स–साना किराफट्याङ्ग्रा खान पनि त्यहाँ पुग्छन् ।’ चरा नआउन विमानस्थलभित्र र बाहिरको फोहोर व्यवस्थापन आवश्यक रहेको उनको सुझाब छ । नयाँ पत्रिका/वीरेन्द्र, अच्युत

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com