फेसबुकको ‘कुलत’ले बर्बादीः प्रेम, यौन, ठगीदेखि हत्यासम्म


प्रकाशित मिति : माघ २१, २०७३ शुक्रबार

१२ वैशाख ०७२ को भूकम्पमा ललितपुर धापाखेलकी अनिता कार्कीको घर तहसनहस भयो । एक वर्षपछि उनले अचानक बुवालाई गुमाइन् । त्यसपछि उनको जीवनमा अर्काे ठूलो पीडा फेसबुकले थपिदियो । फेसबुकमार्फत चिनेका एक बेलायती युवकले प्रेमको नाटक गरेर उनीसँग भएको सबै सम्पत्ति लुटिदियो । जुन पीडाले उनी मानसिक रोगको औषधि खानुपर्ने अवस्थामा पुगिन् ।  गत १३ भदौमा कार्कीको फेसबुकमा एउटा नोटिफिकेसन आयो, जुन नोटिफिकेसन बेलायती युवक कारोल एलेक्सान्डुको साथी बन्ने प्रस्ताव (फ्रेन्ड रिक्वेस्ट) को थियो । कारोल बेलायतका  धनी व्यवसायी भन्ने उनको फेसबुक प्रोफाइलमा उल्लेख थियो । प्रोफाइल हेरेपछि कारोलको फेसबुकमा साथी बन्ने प्रस्तावलाई उनले स्विकारिन् । १–२ दिनमै कारोल च्याटमा आए । च्याटबाट उनले आफू धनाढ्य व्यवसायी भएको, श्रीमतीको मृत्युपछि एक्लो रहेको भन्दै अनितालाई आफ्नो प्रभावमा पारे । बिहे गरेर युके नै लैजानेसम्मको सपना पनि देखाउन थाले ।

भूकम्पमा घर भत्किएकी कार्कीलाई कारोलले भूकम्पपीडितलाई सहयोग गर्न चाहेको भन्दै समाजसेवाको नाटक पनि गरे । बिस्तारै उनीहरूबीच फोनमै कुरा हुन थाल्यो । बेलायतको नम्बरबाट आफ्नो मोबाइलमा फोन आएपछि अनिता कारोल ठूलै व्यक्ति हुन् भन्ने कुरामा विश्वस्त भइन् । च्याटमा कुराकानी बाक्लिँदै गयो । उनी भर्चुअल प्रेम सम्बन्धमा गाँसिइन् । सम्बन्ध गाढा हुँदै गयो । कारोलले विभिन्न गिफ्ट पठाउने प्रस्ताव गरे । अनिताले स्विकारिन्  । फेसबुक च्याटमै उसले आफूले सपिङ गरेका गिफ्टको फोटो पठायो । आकर्षक गहनादेखि लाखौँ मूल्य पर्ने विभिन्न सामान थिए ती । जीवनमा राम्रो मान्छे भेटेकोमा अनिता दंग परिन् ।

जब बेलायतबाट गिफ्ट पार्सल भयो
कारोलले बेलायतबाट गिफ्ट पार्सल गरे । त्यसरी गिफ्ट पठाएकोे केही दिनपछि उनलाई भारतीय नम्बरबाट फोन आयो । ‘तपाईंको सामान भन्सारमा आइपुगेको छ, सामान क्लियरेन्स गर्न ६ लाख रुपैयाँ पठाउनुपर्छ,’ हिन्दीमा एक व्यक्तिले भने । लाखौँको सामान आउने बताएपछि उनी पैसा दिन तयार भइन् । बुवाको उपदानबापतको पैसा बैंकमा थियो, त्यही पैसा निकालेर एभरेष्ट बैंकको एक खातामा जम्मा गरिदिइन् ।
पैसा पुगेन भन्दै भारतबाट फेरि फोन आयो । उनले तीनपटक गरेर १३ लाख भन्दा धेरै पैसा पठाइन् । तर, सामान आएन । फेसबुकका साथी कारोल पनि बोल्न छाडे । सहयोगको आश्वासन दिएर नजिकिने ती बेलायती युवा समाजसेवी नभई एक नामुद ठग थिए । सम्पत्ति र प्रेमको नाटक गरेर उनले अनितालाई फसाएका थिए । भएको पैसा सबै सकिएपछि अनिता नक्कली फेसबुक प्रेमीबाट बर्बाद भइन् । ती व्यक्तिले अनिताजस्तै १५ जनाभन्दा बढी युवतीको बिचल्ली पारेको प्रहरीले जनाएको छ ।  उनको पैसा ठग्ने गिरोहका अनिलनाथ योगी र अनिता महर्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । तर, ठगीका प्रमुख नाइकेहरूको अत्तोपत्तो छैन । दुईजनालाई पक्राउ गरी अन्यको खोजी भइरहेको सिआइबीका निर्देशक डिआइजी नवराज सिलवाल बताउँछन् ।

धनाढ्य महिलाहरू टार्गेटमा
उक्त समूहबाट ठगिनेमा सबै महिला छन् । कतिपयलाई बिहे गरेर बेलायत लैजाने आश्वासन दिएरसमेत ठगी गरेको सिआइबीका प्रहरी निरीक्षक सुरेश थापाले बताए । गिफ्ट पठाउने भन्दै विश्वासमा पारेर भारतबाट फोन गर्न लगाई पैसा मागेर योजनाबद्ध रूपमा ठगी गर्ने गरिएको उनले बताए । ठगिने सबै महिला पढेलेखेका र सम्पन्न्न परिवारका छन् । श्रीमान्ले थाहा पाए घरबार नै बिग्रने डरले केहीले उजुरी दिएका छैनन् । ‘गिफ्ट पठाएको भनेर एउटै समूहले ५–७ करोड रुपैयाँ ठगेको देखिन्छ,’ इन्स्पेक्टर थापाले भने । कारोलले केही महिलासँग आफूलाई लुइस मार्क भनेर पनि ठगी गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनिताजस्तै सोही गिरोहबाट करिब १५ जनाभन्दा धेरै व्यक्ति ठगिइसकेको सिआइबीका डिआइजी नवराज सिलवालले बताए । हालसम्म पाँचजनाले प्रहरीमा उजुरी दिइसकेका छन् । अरूले इज्जत जाने डरले उजुरी दिएका छैनन् । फेसबुकबाट चिनजान गरी विश्वासमा पारेर ठग्न सहज भएकाले फेसबुक ठगहरूको हतियार बन्दै गएको छ ।

पेन्टर र ब्युटिसियन फन्दामा
लुइसले अनिलनाथ बोकी श्रेष्ठको नाममा पैसा हाल्न लगाएका थिए भने लुइस मार्कले अनिता महर्जनको बैंक खातामा । दुवैजनाको एभरेष्ट बैंकमा खाता थियो । पक्राउ परेका अनिलनाथले आफूले पेन्टिङ बेचेवबापत आएको पैसा भएको बताएका छन् । उनले ठमेलमा पेन्टिङको पसल चलाउँदै आएका छन् ।  बेलायतमा आफ्नो ग्राहक रहेको र त्यही पैसा आएको उनको भनाइ छ । त्यस्तै अनिता ब्युटिसियन हुन् । ब्युटिपार्लरमा आउने एक ग्राहकले विदेशबाट आफ्नो पैसा आउँदै छ भनेर हाल्न लगाएको उनले बताएकी छिन् । उनीहरू केही दिनअघि धरौटीमा छुटेका छन् । यससँगै पीडितहरूको ठगिएको पैसा पाउने सम्भावना कम छ । किनकि मुख्य नाइकेको अझै अत्तोपत्तो छैन ।

त्यस्तै, सिआइबीले ठगीमा सहयोग गरेको आरोपमा झापामा बोधराज पोखरेललाई पनि पक्राउ गरिसकेको छ । ठगीमा संलग्न अन्तर्राष्ट्रिय गिरोहले उनको बैंक अकाउन्ट पनि दुरुपयोग गरेको थियो । एक बंगलादेशी नागरिकले व्यापारको पैसा लिन भनेर उनको खाता प्रयोग गरेको उनले बताए ।

अधिकृत पनि ठगिइन्
निजामती सेवामा अधिकृत तहकी एक महिलासमेत फेसबुक प्रेमीबाट ठगिएकी छिन् । बिहे गरेर बेलायत जाने प्रलोभनमा  उनी फेसबुकबाटै भर्चुलअ प्रेमीसँग भिडियो च्याट गर्थिन् । सोही च्याटको भिडियो रेकर्ड गरेर बेलायतमा रहेका युवाले पैसा माग्दै ब्ल्याकमेलिङ गर्न थालेपछि उनी छाँगाबाट खसेजस्तै भइन् । फेसबुकमा चिनेकै आधारमा विश्वास गर्दा उनको सम्पत्ति र इज्जत दुवै गुम्ने अवस्था आयो । आफ्नो बेइज्जत हुने डरले उनले पनि प्रहरीमा उजुरी दिएकी छैनन् ।

फेसबुके प्रेमीद्वारा ४८ लाख झ्वाम
रुपन्देही बस्ने एक महिलाका श्रीमान् बेलायतमा छन् । तर, अमेरिकामा बस्ने एक युवक मार्टिन एन्थोनीमार्टसँग फेसबुकमार्फत उनी प्रेममा परिन् । उनीहरूबीच अमेरिकामै गएर बिहे गर्ने योजनासमेत बन्यो । मोबाइलमा पनि पटक–पटक कुरा हुन्थ्यो । उनीहरू गहिरो मायामा परे । मार्टिनले अमेरिकाबाट उनलाई हारलगायत महँगा सामान पठाएको बताए । सामान पठाएको केही दिनपछि भारतीय भन्सार कार्यालयको कर्मचारी भन्दै एक व्यक्तिको फोन आयो । ५० लाखबराबरको सामान आएको र सामान छुटाउन ३० लाख लाग्ने उनले बताए । महिलाले रक्सौलमा गएर ३० लाख हालिदिइन् । पछि विभिन्न बहानामा थप पैसा मागियो । ४८ लाख रुपैयाँसम्म उनले दिइन् । तर, सामान आएन । मार्टिनसँग कुरा गर्दा भारतमै बद्मासी भएको हुन सक्ने भन्दै पन्छिए । उनी पनि एक ठगको फन्दामा परेकी थिइन् । समयमै होसियार नहुँदा यतिवेला ती महिला अपराध महाशाखा र सिआइबी धाउँदै आएकी छिन् ।

प्रतिशोधबाट ठगीतर्फ
नेपालमा सामाजिक सञ्जाल फेसबुकको लोकप्रियता बढ्दै जाँदा अपराधको ग्राफ पनि बढ्दै गएको छ । फेसबुकको सदुपयोगभन्दा दुरुपयोग बढ्न थालेकोमा प्रहरीसमेत चिन्तित छ । विगतका वर्षमा फेसबुक प्रतिशोधका लागि दुरुपयोग हुन्थ्यो । खासगरी प्रेमिकाले धोका दिएपछि गोप्य तस्बिरहरू राख्ने तथा गालीगलौजपूर्ण स्टाटस राख्ने उजुरी धेरै हुन्थ्यो । यस वर्ष त्यस्ता उजुरी कम हुँदै गएको महानगरीय अपराध महाशाखाका डिएसपी पशुपति राय बताउँछन् । तर, फेसबुकबाट ठगीका घटना भने बढ्दो क्रममा छ । सिआइबीले फेसबुकबाट ठगी गर्ने तीनवटा समूहका एजेन्टलाई पक्राउ गरिसकेको छ । यसबाट विदेश मात्र बसेर फेसबुकबाट नेपाली ठग्ने ठूलै समूह सक्रिय रहेको प्रहरीको अनुमान छ । निकै मिहिनेत गरेर प्रहरीले ठगका केही एजेन्टलाई पक्राउ गरेको छ । भारत, बेलायत, बंगलादेशलगायतका देशका एजेन्टहरू राखेर उनीहरूले धेरैलाई ठगी गरिसकेको प्रहरी अधिकारीहरू बताउँछन् ।

चार साताअघि मात्र नवलपरासीका दीपेन्द्र सापकोटाले फेसबुकबाट सस्तोमा मोबाइल र ल्यापटप बेच्ने भन्दै ठगी गरे । उनले ६ जनाबाट साढे आठ लाख रुपैयाँ झ्याम पारे । फेसबुकमा एक पेज खोली सस्तोमा सामान बेच्ने भन्दै बैंक खातामा पैसा हाल्न लगाएर पैसा लिएपछि उनी बेपत्ता भएका थिए । सिआइबीले नै उनलाई पक्राउ गरेको थियो । कतिपयले फेसबुकबाटै चिनजान गरी विदेश पठाइदिन्छु भनेरसमेत ठगी गरेको घटनाहरू रहेका महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल बताउँछन् ।

फेसबुके प्रेमीकै कारण भेनिसाको ज्यान गयो
फेसबुकमा चिनजान भएका राजन राईसँग कपनकी भेनिसा लिम्बूको च्याटमा मात्र कुरा हुँदै आएको थियो । राईले गत वर्ष ८ फागुनमा लिम्बूलाई फोन गर्दै भेट्ने प्रस्ताव राखे । लिम्बूले भेट्न बौद्धमा बोलाइन् । तीनजना साथीसहित राई गाडीमा लिम्बूलाई भेट्न बौद्धगेटमा पुगे । ठमेलमा गएर केही समय रमाइलो गर्ने राईको प्रस्ताव स्विकार्दै लिम्बू गाडीमा बसिन् । लाइभ म्युजिक हुने ठमेलको हार्ड रक रेस्टुरेन्टमा गएर उनीहरूले बियर खाँदै रमाइलो गरे । करिब ५ बजे ठमेल पुगेकोमा ११ बजेसम्म उनीहरू त्यहाँ बसे । भेनिसाले पनि बियर पिइन् । मात्तिने गरी बियर पिएकी लिम्बूलाई  रेस्टुरेन्टमै राईसहित उनका साथीहरूले अश्लील क्रियाकलाप गरेका थिए ।

ठमेलबाट निस्किएर उनीहरू बौद्ध पुगे । राजन राई र सजित लामा गाडीबाट झरेर आ–आफ्नो घर गए । सनी लामा र गाडीधनी भने गाडीधनीको लाजिम्पाटस्थित अपार्टमेन्टतर्फ लागे । लाजिम्पाटको हिलटेक अपार्टमेन्टको छैटौँ तलामा मासिक ५० हजार तिरेर गाडीधनी युवकले फ्लाट भाडामा लिएका थिए । भेनिसालाई उनीहरूले त्यहीँ लगे ।

फेसबुकमार्फतको चिनजानबाटै भेनिसासँग सनी निकट भइसकेका थिए । पहिलो भेटमै उनीहरू एउटा कोठामा बसे । सहमतिमै दुईजनाबीच शारीरिक सम्बन्ध पनि भयो । रातको करिब १२ बजे फ्लाटका धनी युवक पनि भेनिसासँग सम्बन्ध राख्न कोठामा पुगे तर भेनिसाले मानिजन् । ती युवकले जबर्जस्ती गर्न खोजेपछि भेनिसा भागेर बाथरुम पुगिन् । बाथरुमभित्रै पसेर जबर्जस्ती गर्न खोज्दा नमानेपछि युवकले भेनिसालाई बाथरुमको झ्यालबाट धकेलिदिए ।

भेनिसा ६ तलामुनि भुइँमा खसिन् । सनी र अर्का युवक तल आएर भेनिसालाई गाडीमा राखे । उनी बेहोस अवस्थामा थिइन् । केही समयपछि उनको होस आयो । तर, अस्पताल नपुर्‍याई त्यत्तिकै घुमाइरहे । उनले पानी मागिन् र एक बोतल पानी पिइन् । पानी पिएसँगै सनीको काखमा बान्ता गरिन् । त्यसपछि फेरि बेहोस भएकी उनको होस खुलेन । फेसबुकमा चिनजान भएका साथीसँगको पहिलो भेटमा नै उनले ज्यान गुमाइन् ।

प्रहरीका अनुसार सनी र गाडीधनी मदिराको नसामा थिए । भेनिसा चल्न छाडेपछि उनको मृत्यु भएको ठानी उनीहरू नगरकोटतर्फ गए । एकान्तमा पुगेर भेनिसालाई गाडीबाट निकालेर बाँसको झाडीमुनि खाल्डोमा फालिदिए । घटनाको करिब एक महिनापछि प्रहरीले सनी लामासहित राजन राई र सजित पक्राउ गर्‍यो । घटनाको मुख्य अभियुक्त भने एक वर्षदेखि फरार छन् । फेसबुकका प्रेमीलाई विश्वास गरेर उनले भनेको ठाउँमा पुग्दा भेनिसाको ज्यान गएको थियो ।

अपहरणदेखि आत्महत्यासम्म
फेसबुककै कारण बलात्कारदेखि आत्महत्यासम्मका घटना नेपालमा भएका छन् । गोरखा गुम्दा घर भएका  ३१  वर्षीय शक्तिमान विक फेसबुकबाट चिनेकी प्रेमिका पिया थापाबाटै  अपहरणमा परे ।  फेसबुकबाट चिनजान भएकी  पियास“ग बिहे गरेर घरजम गर्ने योजनासहित उनी गत वर्ष माघमा नेपाल फर्र्किएका थिए ।  तर, उनै प्रेमिकाले अन्य युवा परिचालन गरी अपहरण गरेर उनको धनमाल लुटिन् ।

व्यापारका लागि भनेर भेट्न बोलाएर सहयोगी लगाई थापाले विकलाई अपहरण गराई पैसा र मोबाइल लुटपाट गराएकी हुन् ।  पिया र उनका वास्तविक प्रेमी ललितपुर इमाडोलका सन्तोष घिमिरेबाट गत वर्ष १४ फागुन बिहान ४ बजे विकको कोटेश्वरबाट अपहरण भएको थियो । त्यस्तै फेसबुकमा केटाले नै केटी भनेर एक युवालाई झुक्याएको घटना पनि गत वर्ष बाहिर आयो ।  न्युरोडका रोशन गुप्तालाई केटीको नाममा अकाउन्ट खोलेर दैलेखका विक्रम ज्ञवाली र केबिन केसीले ठगी गरेका थिए । गुप्तालाई विश्वासमा लिन उनीहरूले वेलावेला युवतीसँग कुरा गराई पैसा माग्ने गरेका थिए । पटकपटक गरी चार लाख १७ हजार रुपैयाँ उनले दिइसकेका थिए । पछिल्लो समय दुई लाख माग्दै धम्क्याएपछि उनी प्रहरीमा पुगे । प्रहरीले अनुसन्धान गरेपछि मात्र फेसबुकमा सधैँ च्याट गर्दै मायाको कुरा गर्ने प्रेमिका केटा भएको उनले चाल पाए ।

त्यस्तै प्रेमीले धोका दिएपछि गोप्य फोटोहरू फेसबुकमा सार्वजनिक गर्ने चेतावनी दिएपछि दुई वर्षअघि नवलपरासीकी एक युवतीले आत्महत्या गरेको अपराध महाशाखाका डिएसपी पशुपति रायले बताए । प्रहरीले प्रेमीलाई पक्राउ गरी मुद्दा चलाएको थियो । ललितपुरमा फेसबुकबाटै एक व्यक्तिले बच्चा अपहरणको धम्की दिएको घटना पनि गत वर्ष प्रहरीमा पुगेको थियो ।

फेसबुकबाट झुटो प्रेम
साइप्रसमा बस्दै आएकी कुसुम लामालाई करिब १  वर्षअघि जेभी लामाको आइडीबाट फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ आयो । उनले ‘एसेप्ट’ गरिन् । फेसबुकको त्यही फ्रेन्ड रिक्वेस्ट एसेप्ट गर्दा लामाको जिन्दगी बर्बाद भयो  । त्यसपछि उनले साइप्रसको जागिर मात्र  गुमाइनन्, विवाह गरेर क्यानडा जाने प्रलोभनमा  नौ लाख रुपैयाँसमेत  गुम्यो । फेसबुकमार्फत चिनजान गरी सिन्धुपाल्चोक माङ्खा  घर भएका  तुलबहादुर तामाङले योजनाबद्ध रूपमा उनलाई प्रेमको जालमा पारेर ठगी गरेका हुन् । तामाङलाई महानगरीय अपराध महाशाखाले गत साउनमा पक्राउ ग¥यो । आफू धनी व्यक्ति भएको भन्दै फेसबुकबाट झुक्याएर तुलबहादुरले उनलाई ठगी गरेका थिए । बिहे गरेर क्यानडा जाने भन्दै बोलाएर उनी पैसा लिई बेपत्ता भएका थिए ।

फेसबुकका प्रेमी गायब भएपछि
फेसबुककै प्रेमबाट बर्बाद पर्ने अर्को नाम हो, रिया शर्मा । खाडी मुुलुकमा काम गर्ने एक युवकसँग उनको फेसबुकमा चिनजान भयो । बिस्तारै उनीहरू भर्चुअल प्रेममा गाँसिए । गत वर्ष युवक प्रेमिकालाई भेट्न नेपाल आए । दुवैजना एक महिनासम्म सँगै बसे । अर्काेचोटि आउने वाचासहित उनी फर्किए । तर, त्यसपछि उनी फेसबुक डिएक्टिभ गरेर बेपत्ता भए । पीडित युवती प्रहरीमा पुगिन्, तर ती युवालाई प्रहरीले पत्ता लगाउन सकेन ।

नौ कक्षामै स्कुलबाट टाप
फेसबुकमा चिनजान भएका प्रेमीकै कारण रसुवाकी बिन्दु तामाङ यतिवेला जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा छिन् । ९ कक्षामा पढ्ने १७ वर्षीया तामाङको झापाका मनकुमार लिम्बूसँग फेसबुकमै चिनजान भयो । फेसबुकबाटै उनीहरू प्रेम सम्बन्धमा गाँसिए । गत ७ मंसिरमा तामाङलाई लिन भनेर लिम्बू टाटा सुमो गाडी लिएर गएका थिए । प्रज्वल पाठकसँग मिलेर गत ९ मंसिरमा सोही टाटा सुमोका चालक विशााल खड्कालाई रामेछापमा पुर्‍याई गोली हानी हत्या गरेको आरोपमा प्रेमी लिम्बूसहित उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । हत्यामा प्रत्यक्ष रूपमा उनको संलग्नता नभए पनि फेसबुकबाटै चिनजान भएकै लिम्बूलाई प्रेममा विश्वास गरेर उनको पछि लाग्दा उनी पनि ज्यान मुद्दामा फसेकी हुन् ।

फेसबुकले टेर्दैन नेपाललाई
फेसबुकले विज्ञापनमार्फत नेपालबाट लाखौँ रकम लगिरहेको छ । तर, फेसबुकसम्बन्धी कुनै अपराधको अनुसन्धानमा भने उसले सहयोग गर्दैन । प्रहरी अधिकारीका अनुसार नक्कली फेसबुक अकाउन्ट बन्द गर्न मात्र नेपाल प्रहरीलाई सहयोग गर्दै आएको छ । फेसबुकले नेपाल प्रहरीलाई असहयोग गर्दा ठगीलगायत अपराधको अनुसन्धान पत्ता लाग्ने गरेको छैन । उपहार पठाएको भनेर ठगी गर्ने व्यक्तिहरूले अहिले पनि त्यही फेसबुक अकाउन्टमार्फत अन्य व्यक्तिलाई ठगिरहेका छन् । उनीहरूको विस्तृत विवरण माग्दै प्रहरीले फेसबुकको सिंगापुरस्थित कार्यालयलाई इमेल गरेको थियो । तर, दिन नमिल्ने भन्दै कुनै डाटा नदिएको सिआइबीका अधिकारीहरू बताउँछन् । सिआइबीको नयाँदिल्लीस्थित क्षेत्रीय कार्यालयले व्यक्तिगत चिनजानका आधारमा सहयोग गरे पनि औपचारिक रूपमा फेसबुकसँग नेपाल प्रहरीको सहकार्य नरहेको सिआइबीका निर्देशक डिआइजी सिलवाल बताउँछन् ।

छिमेकी मुलुक भारतमा फेसबुकको क्षेत्रीय कार्यालय छ । फेसबुकसम्बन्धी कुनै घटनाको अनुसन्धानमा उनीहरूले सहयोग गर्छन् । नेपालमा  ६० लाखभन्दा धेरै फेसबुक प्रयोगकर्ता रहेकाले सरकारले पहल गरी कार्यालय खोल्न दबाब दिनुपर्ने प्रहरी अधिकारी बताउँछन् । साथै सामाजिक सञ्जालमा अन्य विकृति पनि बढ्दै गएकाले अनुगमन आवश्यक भएको प्रहरीको भनाइ छ ।

फेसबुक धेरै नेपालीको ‘कुलत’ बनिसकेको छ । अन्य कुलतजस्तै यसले पनि धेरैको जीवन बर्बाद भएको छ । ठगीमात्र होइन फेसबुककै कारण बलात्कारदेखि हत्यासम्मका घटना बढेका छन् ।

नेपालीहरु फेसबुक चलाउनै जान्दैनन्

  • गत महिना एक महिला फेसबुकमार्फत आफू बर्बाद भएको भन्दै सिआइबी पुगिन् । प्रहरी अधिकारीले उनलाई सोधे– इन्टरनेट भनेको के हो थाहा छ ? तर, उनले भन्न सकिनन् । उनलाई मोबाइल डाटा, मोबाइलको युजरनेम र पासवर्डबारे समेत जानकारी थिएन । घरकै एक परिवारले उनको मोबाइलमा फेसबुक अकाउन्ट खोलिदिएका थिए ।
  • प्रहरी अधिकारीका अनुसार कतिपय व्यक्तिलाई फेसबुकको पासवर्डसमेत थाहा हुँदैन । ‘हातहातमा मोबाइल भएपछि सबैले फेसबुक अकाउन्ट खोल्ने लहर चलेको छ,’ अपराध महाशाखाका डिएसपी पशुपति राय भन्छन्, ‘तर, फेसबुकका गोपनीयताबारे जानकारी छैन, त्यही कारण साइबर क्राइमको जोखिम  बढेको छ ।’ फेसबुकबाट भिडियो र फोन निःशुल्क गर्न मिल्ने भएकाले पनि वैदेशिक रोजगारका गएका व्यक्तिलाई फोन गर्नकै लागि धेरै नेपाली महिलाले पनि फेसबुक खोल्ने गरेका छन् । जथाभावी पासवर्ड अरूलाई दिने, नचिनेका व्यक्तिलाई साथी बनाउने गरेका कारण फेसबुकबाट धेरै पीडित हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

गुण्डादेखि नेतासम्म पक्राउ

  • फेसबुकसम्बन्धी अपराधमा गुन्डादेखि नेतासम्म पक्राउ परेका छन् । एक इन्जिनियरलाई फेसुबकमा गोली हानेर मार्ने धम्की दिएको आरोपमा गत २३ कात्तिकमा चाबहिल क्षेत्रमा गुन्डागर्दी गर्ने राम श्रेष्ठ पक्राउ परे । सोही आरोपमा श्रेष्ठलाई महाशाखाले विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलायो ।
  • त्यस्तै तत्कालीन  प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा गालीगलौज गर्दा संघीय समाजवादी फोरमका नेता तथा रुपन्देहीका जिल्ला सचिव रामअवतार यादव  पक्राउ परे । सिआइबीले गत वर्ष १६ फागुनमा उनलाई पक्राउ गरेको थियो ।

फेसबुके प्रेमीद्वारा ४८ लाख झ्वाम
श्रीमान् बेलायतमा रहेकी रुपन्देहीकी एक महिला फेसबुकमार्फत अमेरिकी युवक मार्टिन एन्थोनीमार्टसँग प्रेममा परिन् । मार्टिनले उनका लागि हारलगायत महँगा सामान पठाएको बताए । त्यसको केही दिनमै एक व्यक्तिले भारतीय भन्सार कार्यालयको कर्मचारी बताउँदै ‘तपाईंको ५० लाखबराबरको सामान आएको छ, सामान छुटाउन ३० लाख लाग्ने’ भनेर उनलाई फोन गर्‍यो । महिलाले पटकपटक सीमापारि रक्सौल पुगेर ४८ लाखसम्म हालिदिइन् । अहिले उनी अपराध महाशाखा र सिआइबी धाउँदै छिन् ।

धनाड्य महिला पहिलो निशानामा
सामाजिक सञ्जालबाट ठगी गर्नेहरूले पैसा भएका हुनेखाने परिवारका महिलालाई पहिलो निशाना बनाउने गरेका छन् । अहिलेसम्म १५ भन्दा धेरै महिला ठूलो ठगीमा परिसकेका छन् । तर, बदनामीको डरले सबैले प्रहरीकहाँ उजुरी दिएका छैनन् ।

नेपाली युवामा सेक्सटिङको लत
नेपाली युवा फिलिपिनी युवतीको सेक्सटिङ (अश्लील भिडियो च्याट)को कुलतमा पनि फस्दै छन् । केटीहरूले नै फ्रेन्ड रिक्वेस्ट पठाइ अश्लील भिडियो च्याट गरी रेकर्ड गर्ने गर्छन् । पछि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्छन् ।

९० प्रतिशत उजुरी फेसबुकसम्बन्धी
प्रहरीमा साइबर अपराधसम्बन्धी धेरै उजुरी पर्ने गरेका छन् । गत वर्ष अपराधका ८ सय ३० उजुरी परेका थिए । गत साउनयता मात्रै ५ सय ३३ उजुरी परेका छन् । जसमध्ये ९० प्रतिशत उजुरी फेसबुकसम्बन्धी नै छन् । नयाँ पत्रिकार/नवराज मैनाली

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com