‘एनआरएनए अमेरिकाको सदस्यता चुहावटको सम्भावना अध्यक्ष पौडेल र निर्वाचन आयोगका सदस्यबाट मात्र’


प्रकाशित मिति : जेष्ठ १, २०७६ बुधबार

शैलेश श्रेष्ठ 

विघटित एनआरएनए अमेरिका सुपरिवेक्षण समितिका सदस्य तथा एनआरएनए कै बिषयमा चासो, चिन्ता, सरोकार अनि खबरदारी निरन्तर सम्प्रेषण गर्ने एकजना संचारकर्मीका हैसियतले सदस्यहरुको गोप्य वैयक्तिक विवरणहरु बाहिर आएको घटना प्रति घोर आपत्ति प्रकट गर्दै मौजुदा अमेरिकी कानुनले अपराधिक मान्ने र ठान्ने यस्ता गतिबिधिमा संलग्न जो कोही भएपनि तत्काल सर्वपक्षीय र स्वतन्त्र शक्तिशाली छानविन समिति गठन गरेर दोषीलाई कानुनको दायरामा ल्याउन म वर्तमान काम चलाउ कार्यसमितिका अध्यक्ष डा. केशब पौडेललाई हार्दिक आग्रह गर्दछु ।


हामीले भित्र बसेर काम गरिरहेकै अवस्थादेखि अहिलेसम्म लगातार सर्वर ईररदेखि विवरण चुहावटसम्मका शंकास्पद र संधिग्द गतिबिधिहरु संस्थापनबाटै भएको आशंका गर्न सकिने थुप्रै आधारहरु लिपिबध्द भईसकेका छन । संस्थापन र जसरी हुन्छ चुनाब जिताई छाड्ने राजनैतिक समुहको निर्देशन र गेमप्लानमा पटाक्षप हुने गरेका हरेक अपराधिक गतिबिधिलाई अब आम प्रवासी नेपालीहरुले चितुवा कराउनु र बाख्रा हराउनुको संयोग मात्र हो भनेर मान्न तयार छैनन । 


अन्तरिक प्रमाणीकरण समितिले सिफारिस गरेर हाम्रो समितिले प्रमाणित गरेको नामावलीमा तत्कालिन अवस्थामा अध्यक्ष डा. केशब पौडेल र हामी बाहेक अरुहरुसंग पहुँच नभएको हाम्रो बिश्वास अनि बुझाई थियो तर अहिले सदस्यहरुको निजि विवरण चुहावटको घटनाको स्वरूप हेर्दा नामावली हेर्ने पहुँच अरुहरुसंग पनि भएको आशंका गर्ने ठाउँ हामीले पाएका छौं । अहिले सार्वजनिक भएको फर्म्याट हामीले प्रमाणित गरेको भन्दा भिन्न छ त्यस अर्थमा मलाई के लाग्छ भने यसको चुहावटको सम्भावना मूलचावी हातमा भएका डा. केशब पौडेल र निर्वाचन आयोगका सदस्यहरुबाट मात्र छ । मूल चावी भएका मान्छेले चाहेमा कसले लग-अन गरेर कहिले अनि कतिबजे विवरण बाहिर पठायो त्यसको यान्त्रिक विवरण निकाल्न चाहने हो भने दुई मिनेट पनि लाग्दैन ।


त्यस अर्थमा म डाडुपन्यु र चावी आफ्नै हातमा भएका अध्यक्ष डा. पौडेललाई एउटा स्वतन्त्र र अधिकार सम्पन्न छानविन समिति गठन गरेर यस्ता गतिविधिमा सामेल भएकाहरुको नामावली सार्वजनिक गर्न चुनौती दिन्छु र म आफु पनि छानविनको दायरामा आउन सगर्व तयार भएको घोषणा यही बिज्ञप्ति मार्फत गर्दछु । 


संस्थापनका यिनै संधिग्द गतिबिधिहरुका कारण आसन्न निर्वाचन स्वतन्त्र हुने सम्भावना पटक्कै नरहेको आम मानिसमा लागिरहेको बेला सबैबाट प्राप्त प्रमाणिक जाहेरी र सुझाबहरुका आधारमा आज भर्खर एनआरएनए अमेरिकाका क्षेत्रिय संयोजन गौरीराज जोशी र क्षेत्रिय उप-संयोजक नबीन शेरचनले अहिलेको लागि चुनाब स्थगित गर्न गरेको आव्हानको म हार्दिक समर्थन र सम्मान गर्दछु । 


त्यसैगरि उनीहरुको तर्कसंगत निर्देशन र सुझाबलाई स्वीकार गर्दै अहिलेको लागि निर्वाचन स्थगित गर्न म अध्यक्ष केशब पौडेल र निर्वाचन आयोगलाई अनुरोध समेत गर्दछु । 


संचारकर्मी शैलेश श्रेष्ठ एनआरएनए अमेरिकाको विगठित सुपरिवेक्षण समिति सदस्य समेत हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com