डिभीको लागि छनौट हुनुभएन ? कन्फर्मेशन नम्बर नफ्याक्नुहोस्
प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार
सन् २०२० को डिभी लोटरीका लागि छनौट भए नभएको चेक गर्दा छनौट नभएको विवरण प्राप्त गरेपनि आफ्नो कन्फर्मेशन नम्बर सन् २०२० को सेप्टेम्बर ३० सम्म आफैसँग राख्नुपर्छ । आफूलाई डिभी लोटरी परे नपरेको कुरा आगामी सेप्टेम्बर सम्म पनि चेक गर्न सकिने भएकाले कन्फर्मेशन नम्बर नफ्याक्न सुझाव दिइएको हो ।
ई–डिभीको वेबसाइटमा एन्ट्रेन्ट स्टेटस चेक मार्फत मात्र तपाईँलै आफू छनोट भए नभएको थाहा पाउन सक्नुहुन्छ । त्यसमा भिसा आवेदन तथा आप्रवासी भिसाको लागि अन्तर्वार्ता मिति र समयबारे थप जानकारी समेत दिइएको हुन्छ ।
कुनै पनि अध्यावधिक जानकारीका लागि आफ्नो कन्फर्मेशन नम्बर २०२० सेप्टेम्बर ३० सम्म राखिरहनुहोस् ।
अमेरिकी कङ्ग्रेसको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्ने गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३(सी) ले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई “डाइभर्सिटी आप्रवासी” का रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ । चिठ्ठा पर्ने आवेदकहरू (“विजेताहरू”) ले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ । भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।
डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि www.dvlottery.state.gov मा गई “एन्ट्रेन्ट स्टेटस चेक” (Entrant Status Check) मा क्लिक गरी आफ्नो युनिक कन्फर्मेशन नम्बर र व्यक्तिगत जानकारी हाल्नुहोस्। तपाईँंले आफू डिभीका लागि छनोट भए नभएको पत्ता लगाउन र आफ्नो आप्रवासी भिसा अन्तर्वार्ता अपोइन्टमेन्ट मिति चेक गर्नका लागि एन्ट्रेन्ट स्टेटस चेक प्रयोग गर्नु पर्दछ । अमेरिकी सरकारले तपाईँलाई प्रत्यक्ष रूपमा सूचित गर्दैन । एन्ट्रेन्ट स्टेटस चेक आफ्नो आवेदनको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने निर्देशनहरूको एक मात्र स्रोत हो ।