घरबारविहीन् रुकमैन परिवारको पालमुनि कष्टपूर्ण जीवन


प्रकाशित मिति : माघ १६, २०७३ आईतबार

“न त घरमा एक गाँस अन्न छ, न त लगाउने लुगा नै, कसरी दिन काट्नु रु साह्रै चिन्तामा डुबेकी छु,” यसरी आखाँबाट आँसु झार्दै शम्भुनाथ नगरपालिका–३ नरही टोल बस्ने रुकमैन रामले भनिरहँदा सप्तरी क्षेत्र नम्बर ५ का सांसद तेजुलाल चौधरी एकछिन स्तब्ध बने ।

आगलागीपछि घरबारविहीन बनेकी रुकमैनलाई गाउँमै भेट्न पुग्नुभएका सांसद चौधरी रुकमैनको पीडादायी अवस्था र कपडाको छाप्रोमा बसेको देखेर स्तब्ध मात्र भएन, उनको आँखासमेत रसाए । सांसदलाई आफ्नै खरानी भएको घरअगाडि पाएपछि भक्कानिएकी रुकमैनको आगलागीका कारण खाने, लगाउने, बस्ने सबै चिज खरानी भएपछि आफ्नो संसार उजाडिए झैँ लाग्न थालेको वेदनापूर्ण अवस्था सुनेपछि सांसद चौधरीले तत्काल राहतस्वरुप आफूसँग भएको नगद रु तीन हजार दिँदै थप सहयोगको आश्वासनसमेत दिए ।

सदरमुकाम राजविराजबाट करिब २५ किलोमिटर पश्चिम दक्षिणमा पर्ने शम्भुनाथ नगरपालिका–३ नरहीमा गत माघ १ गते राति भएको आगलागीमा परी रुकमैनको एक मात्र घर ९झुप्रो०सहित लत्ताकपडा, भाँडावर्तन सबै जलेर खरानी भएको थियो ।

मध्यरातमा भएको आगलागीबाट घरमा भएको सबै सामान जलेर नष्ट भएको सुनाउँदै रुकमैनले भन्छिन् –“उमेर पुगेकी छोरीको बिहेका लागि दुःखका साथ आर्जेको अन्नपात र लुगासमेत एकैछिनको आगलागीमा खरानी भएपछि मेरो सपना सबै चकनाचुर भएको छ ।”

अर्की श्रीमतीसँगै श्रीमान् सत्यनारायण राम राजधानी काठमाडाँैमा बस्न थालेपछि दुई छोराछोरीसँगै गाउँमा बस्दै आएकी रुकमैन छोराछोरी पाल्न दिनरात मजदुरी गर्ने, जङ्गलबाट दाउरा ल्याउने र बजारमा लगेर बिक्री गर्ने काम गर्दै आएकी छिन् । “आफनो र सन्तानको पेट भर्न दाउराको व्यापार गर्छु, जुन दिन दाउरा बिक्री हुँदैन त्यो दिन दुई सन्तान पनि भोकै पर्छन्,” रुकमैन भन्छिन्–“तर यतिबेला भने सम्पत्ति नभएर भन्दा पनि आफ्ना श्रीमान् र आगलागीले दिएको पीडा आफ्ना लागि पहाड भएको छ ।”

विवाह भएको ६ वर्ष नपुग्दै श्रीमान्ले घर छोडेर हिँडेपछि अहिलेसम्म खोजखबर गरेका छैनन्,” रुकमैनले भनिन् –“खै छिमेकीले काठमाडौँतिरै विवाह गरेर बसेका छन् भन्छन् । आफूहरुलाई न त भेट्न आउँछ, न त कुनै सोधखोज नै गर्छ ।”

छोरो जिवानन्द जन्मेको सात दिनपछि छोडेर हिँडेका श्रीमान् १३ वर्ष पुगिसक्दा पनि फर्केर आएका छैनन् । पतिले साथ नदिए पनि जेनतेन छोराछोरी हुर्काएकी रुकमैनलाई यतिबेला भने थप सङ्कट पर्न थालेको छ । अब कक्षा ८ मा पढ्दै गरेका छोरा जिवानन्दलाई कसरी पढाउने र छोरी जिबछीको विवाह कसरी गर्ने भन्ने चिन्ताले आफूलाई भोक न तिर्खा बनाएको बताउँदै रुकमैन भन्छिन् – “न जग्गा छ न त घर नै । के गरेर छोरालाई पढाउने रु अनि कसरी छोरीको बिहे गर्ने रु”

“करिब १९ वर्ष नाघिसकेकी छोरी जिबछीलाई विवाहका लागि प्रस्ताव आउन थालेपछि उनको विवाहको चिन्ता थपिएको छ,” रुकमैन अगाडि भन्छिन् – “छाक टार्न धौ–धौ छ । त्यसमाथि छोरीको विवाहको चिन्ता पनि थपिएको छ ।”

घरमा आगलागी भएपछि रुकमैनको परिवारलाई पुनर्बासका लागि कतैबाट सहयोग नभएको बताउँदै स्थानीयवासी रामपुकार राम भन्छन् – “आगलागी भएकै भोलिपल्ट रेडक्रसले केही राहत दियो । त्यसयता कसैले कुनै सहयोग गरेको छैन ।” विपद्मा परेकी रुकमैनको परिवारलाई सहयोगका लागि सहयोगी हात अघि बढ्नुपर्ने रामको भनाइ छ । राजु विश्वकर्मा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com