प्रहरी र कर्मचारीकै सेटिङमा विमानस्थलबाट मानव तस्करी


प्रकाशित मिति : माघ १६, २०७३ आईतबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी र अध्यागमन कर्मचारीकै मिलेमतोमा मानव तस्करी हुन थालेको छ । दुई साताको बीचमा प्रहरीकै मिलेमतोमा भएका दुईवटा मानव तस्करीका घटनामा अनुसन्धान सुरु भएको छ । गत बुधबार मिनामाया तामाङलाई प्रहरीकै मिलेमतोमा भिजिट भिसामा दुबई पठाउने तयारी भएको थियो । वैदेशिक रोजगारीका लागि उनी प्रहरी र अध्यागमन डेस्कबाट चेकजाँच पूरा गरी विमान चढ्न स्टेलाइजर एरिया पुगेकी थिइन् । महानगरीय अपराध महाशाखाका प्रहरीले शंका लागेर पक्राउ गरी अनुसन्धान गर्दा नक्कली कागजपत्रको आधारमा प्रहरीकै मिलेमतोमा उनलाई दुबई पठाउन लागिएको खुलेको थियो ।नक्कली कागजपत्र बनाएर दुबई पठाउन खोज्ने तीन पक्राउ
नक्कली कागजपत्र बनाएर तामाङलाई दुबई पठाउन खोज्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई विमानस्थलमा सहयोग गर्ने एयरपोर्टका प्रहरी भने फरार छन् । अपराध महाशाखाले शुक्रबार गौशालास्थित एक्सिस करिअर सोलुसनका सञ्चालक कपनका सुदर्शन खड्का, जोरपाटीस्थित ओख्तुहाङ ट्राभल एन्ड टुर्सका सञ्चालक सुनसरीका जीवन जिमी राई र उक्त ट्राभल्सका कर्मचारी कृष्ण वाग्लेलाई पक्राउ गरेको हो । विमानस्थलमा कार्यरत प्रहरी जवान तोयानाथ विकस“ग मिलेर उनीहरूले युवतीलाई दुबई पठाउँदै आएको खुलेको छ । युवती पक्राउ परेलगत्तै जवान फरार छन् ।

भिजिट भिसामा युवतीहरूलाई विदेश
अपराध महाशाखाका प्रहरी निरीक्षक सत्यनारायण थापाका अनुसार वैदेशिक रोजगारीसम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन गर्ने खड्काले भिजिट भिसामा युवतीहरूलाई दुबई पठाउँदै आएका थिए । अविवाहित युवतीहरूलाई भिजिट भिसामा खाडी मुलुक जान प्रतिबन्ध छ । त्यसकारण तामाङको बिहे भएको भनेर नक्कली कागजपत्र बनाइएको थियो । सोही आधारमा श्रीमान्को मञ्जुरीनामालगायत कागजपत्र बनाएर तामाङलाई विदेश पठाउन लागिएको थियो । ओख्तुहाङ ट्राभल्सका सञ्चालकहरूले नक्कली कागजपत्र बनाएका थिए ।

एक हजार अमेरिकी डलरको प्रबन्धसमेत उनीहरूले नै गरिदिएका थिए । पक्राउ परेपछि आफूलाई बिक्री गर्न लागिएको भन्दै उनले उजुरी दिएपछि प्रहरीले दुबई पठाउन खोज्नेलाई पक्राउ गरेको हो । भिजिट भिसामा युवतीहरूलाई दुबई पठाएर त्यहाँबाट साउदी अरेबिया, कुवेतदेखि इराकसम्म पठाएर घरेलु कामदारका रूपमा नेपाली युवतीहरूको बिक्री भइरहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

युवती विदेश पठाएबापत दुई लाख
त्यसरी एउटा युवती पठाउँदा उनीहरूलाई दुई लाख रुपैयाँ आउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । त्यसमध्ये केही एयरपोर्टमा सेटिङ मिलाउन र कागजपत्र बनाउन खर्च हुन्थ्यो भने बाँकी एजेन्टहरूले बाँडेर लिँदै आएका थिए । तामाङलाई अध्यागमनका कर्मचारीले समेत दुबई जान स्वीकृत दिई डिपार्चरको छाप लगाइदिएका थिए । जबकि घुम्नकै लागि भिजिट भिसामा सर्वसाधारणलाई दुबई जान निकै कठिन छ । सामान्य अंग्रेजीसमेत बोल्न नजान्ने र विदेशी पैसासमेत नचिन्ने तामाङलाई घुम्न भनेर दुबई जान अध्यागम कर्मचारीले सजिलै अनुमति दिएका थिए ।

प्रारम्भिक अनुसन्धानमा फरार रहेका जवान विकले नै अध्यागमनका कर्मचारीलाई समेत सेटिङ मिलाउँदै आएको खुलेको छ । विक पक्राउ परेपछि उक्त घटनामा विमानस्थलका सिनियर प्रहरी र अध्यागमनका कर्मचारीसमेत तानिन सक्ने सम्भावना रहेको स्रोत बताउँछ । उनले सेटिङमा पठाइने व्यक्तिहरूबारे एसएमएसमार्फत अध्यागमन कर्मचारीलाई जानकारी गराउँदै आएका थिए ।

पक्राउ परेका खड्काले नेपाल वायुसेवा निगमका कर्मचारीहरूसँग समेत सेटिङ रहेको खुलेको छ । एक साताअघि अपराध महाशाखाले विमानस्थलमा कार्यरत जवान नितेश दाहाललाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई हिरासतमा राखी सरकारी छाप तथा दस्तखत किर्ते मुद्दामा कारबाही अघि बढाएको छ ।नवराज मैनाली/नयाँ पत्रिका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com