एनआरएनए न्युयोर्क च्याप्टर अध्यक्षमा दोश्रो कार्यकालका लागि उठ्ने अधिकारीको घोषणा


प्रकाशित मिति : चैत्र २७, २०७५ बुधबार

एनआरएनए न्युयोर्क च्याप्टरमा अध्यक्षका रुपमा निर्वाचित भएपछिको दुईबर्षे कार्यकालमा राम्रै प्रशंसा बटुलेका रामहरि अधिकारीले दोश्रो कार्यकालका लागि पनि सोही पदमा उम्मेदवारीको घोषणा गरेका छन् । झण्डै दुईबर्ष अगाडि अध्यक्षमा निर्वाचित भएपछि उनले स्थानीय सरकारसमक्ष नेपालीका आवाज पुर्याउनमा समेत राम्रै पहल गरेका थिए ।

एनआरएनए न्युयोर्क च्याप्टर अध्यक्षमा उम्मेदवारीको घोषणा गर्दै उनले भनेका छन् व्यक्तिगत रुपमा मैले यस संस्थासंग हाल सम्म जोडिएर गरेका गतिविधि र यस संस्थाको गरिमालाई उचाईमा पुराउन खेलेको भूमिकाको मुल्याङकन यहाँहरुबाट हुने नै छ भन्ने मेरो विश्वास रहेको छ ।

सन् २०१५ को दुईबर्षे कार्यकालमा उनले एनआरएनए न्युयोर्क च्याप्टरको सचिवका रुपमा काम गरेका थिए ।

अधिकारीले भनेका छन्  – ‘सामाजिक यात्राको क्रममा यहाँहरूबाट प्रदान भएको सहयोग र हौसला नै मेरो उम्मेदवारीका कारण हुन्। यहाँहरूको अभिभावकत्वमा सामाजिक काममा भएको सफलताले अझ बढी कर्तव्यबोध भएको छ। सामाजिक कार्यक्षेत्र स्वयंमा नै पाठशाला भएको महसुस गरेको छु। सामाजिक कार्य सम्पादनको क्रममा विविध प्राविधिक कठिनाईका कारण जानी वा नजानी मेरो व्यक्तिगत तर्फबाट केही त्रुटी भएको रहेछ भने क्षमायाचना गर्दै सही सुझाव र मार्गदर्शन गरिदिनुहुनेछ भन्ने पनि विश्वास लिएको छु ।’

‘धेरै बुँदाका घोषणा पत्रमा भन्दा काममा विश्वास गर्ने भएकाले, निरन्तर काम गरिरहेको छु र आगामी दिनमा समेत नेपाली समुदायको बृहत्तर हितका लागि काम गरेर प्रमाणित गर्नेछु । यहाँहरूको मतको उच्च सम्मान गर्दै नेपाली गौरव र नेपाली पहिचान, नेपाल र नेपाली समुदायको समग्र उत्थानका लागि समर्पित रहने प्रण गर्दछु।’ –  अधिकारीले जारी गरेको वक्तब्यमा उल्लेख छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com