विदेशमा रहेका नेपालीले नेपालमा राखेको सम्पत्ति जफत होला ?
प्रकाशित मिति : चैत्र ३, २०७५ आईतबार

कुल आचार्य
संसदमा विचाराधीन नागरिकता विधेयकमा गैरआवासीय नेपाली नागरिकताबारे छलफल भैरहेको र सोहि सम्वन्धमा केहि संचारमाध्यममा प्रकाशित समाचारहरुका बारे साथीहरुले विभिन्न माध्यमबाट मलाई सम्पर्क गर्नुभएकाले मैले बुझेको कुराहरु स्पष्ट पार्न चाहन्छु।
१. नेपालको संविधानले राजनीतिक बाहेक सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकता दिन सकिने स्पष्ट व्यबस्था गरेको छ। नया कानूनले सोहि प्रावधानलाई कसरि लागू गर्ने भन्ने बारे व्यवस्थित गर्ने हो। नेपालमा सम्पत्ति राख्न पाउने, व्यबसाय गर्न पाउने लगाएतका हाम्रो अधिकार कटौती गर्ने होइन। त्यसैले नेपालमा रहेको हाम्रो सम्पत्ति सुरक्षित रहने बारे ढुक्क हुन र कुनै भ्रममा नपर्न म सबै साथीहरुलाई बिश्वस्त पर्न चाहन्छु।
२. गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न नेपाली नागरिकता त्यागेको प्रमाण पेश गर्नु पर्ने भन्नेबारे संसदमा छलफल भएको हुनसक्छ। तर यसबारे केहि निर्णय भै सकेको छैन। मैले संसदीय समितिमा रहेका माननीय सांसदज्यूहरुसंग बुझ्दा समयाभावका कारण सो विधेयक चालु सदनबाट पारित हुने सम्भावना नरहेको र आगामी बर्षे सदनमा छलफल जारी रहने बताउनु भएको छ।
३. तेसैले कुनै भ्रममा नपर्न र नेपालको संविधानमा उल्लेखित अधिकारलाई अरु सुदृढ गर्ने गरी नया कानून बनाउने वातावरण बनाउन आआफ्नो ठाउंबाट लबी गर्न सबै साथीहरुलाई फेरि आग्रह गर्दछु। “एक पटकको नेपाली सधैंको नेपाली” भन्ने मूल मन्त्रलाई सार्थक बनाउन संघको तर्फबाट हामीहरु क्रियाशील रहेको पनि जानकारी गराउँदछु । यसबारे छिट्टै संघको बैठक बसेर आधिकारिक धारणा सार्बजनिक ग़र्नेछौ।
उपाध्यक्ष, एनआरएनए आइसीसी