अष्ट्रेलियामा नेपाली विद्यार्थी अलपत्र : हल्ला, मिथ्या, यथार्थ र प्रोपोगाण्डा


प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार

केही दिनअघि नेपालको एक टेलिभिजन कार्यक्रममा अष्ट्रेलियाको सिड्नीबाट एक किशोरीले भक्कानिँदै फोन गरिन् । अष्ट्रेलियामा विद्यार्थी पठाउने शैक्षिक परामर्शदाताले दर्ता नभएको एआईबीटी कलेजमा नर्सिङ पढ्न पठाएको आरोप लगाइन् । “हाम्रा बाबा आमाले दु:ख गरेर कमाएको पैसा कन्सल्टेन्सीले खाइदियो, हामीलाई फल्स इन्फर्मेसन दियो” भनेर रोइदिइन् ।

एक हुल साथीसहित भिडियोमा देखिएकी उनले सम्झेजति लगभग दर्जन शैक्षिक परामर्शदाता कम्पनीको नाम लिइन् । त्यसपछि सुरु भयो आवेगमा बहकिएर शैक्षिक परामर्शदाताले ठगे भन्दै समाचार लेख्ने सिलसिला । नेपाल, अष्ट्रेलिया र अन्य देशबाट सञ्चालित नेपाली पत्रपत्रिका अनलाइन र अन्यमाध्यमका शिक्षा बिटमा समाचार लेख्ने पत्रकारले त्यो सूचनामा थपथाप गरेर समाचार बनाउन थाले ।

अष्ट्रेलियामा शिक्षा व्यवसाय गर्ने नेपालीमध्ये कोसँग कुन पत्रकारको पहुँच थियो, त्यसैको आधारमा बहकिँदै समाचार बाहिर आयो । आ–आफ्नो समूह स्वार्थलाई मलजल हुनेगरी खबर खेती चल्यो । समाचारमा आफ्नो नाम नदेखेपछि अन्य कन्सल्ट्यान्सीका सञ्चालकलाई कुरो के हो भनेर सोध्दा “खबरमा जे आएको छ, त्यही त होला नि तर मेरो नाम चाहिँ कोट नगर्नुहोला” भनेर जवाफ दिन थाले ।

नेपालका कतिपय ब्रोडसिट दैनिकमा शिक्षा बिट हेर्ने “बरिष्ठ” पत्रकार पनि समाचार पुष्टी गर्ने मुख्य श्रोतसम्म पुग्नै सकेनन् । एआईबीटी कलेज वा अष्ट्रेलियाको सरकारी निकायसम्म नपुगेपछि अधुरो स्रोतले दिएको मिथ्यांकसहितको खबर पस्किए । खबरमा आफ्नो नाउँ नजोडिएका परामर्शदाता लौ हामी त बचेछौँ भनेर भित्रभित्रै गदगद भए ।

टेलिभिजन कार्यक्रममा किशोरीले सबैभन्दा पहिले नाम लिएको एक्सपोर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज हेडक्वार्टरका निर्देशक बद्रि अर्याल भन्नुहुन्छ “ती किशोरी हामीमार्फत् अष्ट्रेलिया आएकी होइनन्, पत्रकारले हामीसँग सोधिदिएको भए सत्य बताउँथ्यौँ । हामीमार्फत् एआईबीटीमा नर्सिङ् पढ्न आएका ८ विद्यार्थीको व्यवस्थापनका लागि हामी सम्पर्कमा छौँ । तर सयौँ विद्यार्थी पठाएको झुटो आरोप हामीले खेप्नुपर्यो !” कसल्ट्यान्सीको तर्फबाट कसैलाई कुनै धम्की नदिइएको पनि अर्यालले दावी गर्नुभयो ।

एआईबीटी समस्यालाई लिएर शैक्षिक परामर्शदाता कम्पनीका ४ छाता संगठनले फागुन १५ गते काठमाण्डाैमा पत्रकार सम्मेलन गरे । सम्मेलनमा पत्रकारले शैक्षिक परामर्श व्यवसायलाई नै “ठगी” देखेकोमा आपत्ति प्रकट भयो । “सम्बन्धित परामर्शदाता, कलेज, अष्ट्रेलियन सरकार, नेपाल सरकारलगायत सबैले समस्या समाधानमा तदारुकता देखाइरहेको अवस्थामा अपमान एवम् अपत्तिजनक शब्दावलीहरु प्रयोग गरी व्यक्तिगत एवम् व्यवसायिक छवि धुमिल गराउने प्रकृतिका विषयवस्तुहरु प्रकाशित एवम् प्रसारित हुनु दःखद् पक्ष हो” संयुक्त विज्ञप्तिमा भनिएको छ ।

पत्रकार सम्मेलनमा “नेपालका मिडिया नै दुई धारमा छौँ” “शैक्षिक परामर्शदाता नजिकका अनलाइनले नै मिथ्यांकसहित अमुक कम्पनी लक्षित खबर बाहिर ल्याए” भन्ने कुरा पत्रकार हुँ भन्नेहरुले नै उठाए । झण्डै दुई दशकदेखि शिक्षा बिटको खबर लेखिरहेका पत्रकारले विद्यार्थी संख्याको विषयमा स्रोतले सही सूचना दिएको विश्वस्त भएर समाचार लेखेको दावी गरे।

एआईबीटी कलेज दर्ता निलंबनको ९ दिनपछि शैक्षिक परामर्श दाताहरुले काठमाण्डूमा गरेको पत्रकार सम्मेलनमा पत्रकारका प्रश्नको उत्तर दिँदै पेशागत संगठनका अध्यक्षहरु
एआईबीटी कलेज दर्ता निलंबनको ९ दिनपछि शैक्षिक परामर्श दाताहरुले काठमाण्डूमा गरेको पत्रकार सम्मेलनमा पत्रकारका प्रश्नको उत्तर दिँदै पेशागत संगठनका अध्यक्षहरु

 

एआईबीटी समस्याको चुरो

झण्डै ८ महिनाअघि अष्ट्रेलियाका तालिमे कलेजमा नर्सिङ पढिरहेका विद्यार्थीले अंग्रेजी भाषाको स्तर परीक्षा आईएलटीएसमा अनिवार्य ७ अंक ल्याउनुपर्ने प्रावधान लागू भयो । त्यसपछि अंग्रेजीमा कम अंक ल्याएका तर अष्ट्रेलियाका कलेजमा नर्सिङ पढिरहेका विद्यार्थी समस्यामा पर्ने पक्का भयो । विद्यार्थीले कि आईएलटीएसमा ७ ल्याउनुपर्थ्याे, कि विषय परिवर्तन गर्नुपर्थ्याे, कि देश फर्कनुपर्थ्याे, कि त अर्कै भिसा लगाउनुपर्थ्याे ।

एआईबीटीले नर्सिङ पढाउन अनुमति त पाएको थियो तर त्यो पढाईलाई पेशागत अनुगमनकारी निकायहरुले सम्बन्धन दिन बाँकी थियो । पढाइले नै सम्बन्धन पाउन बाँकी रहेको बेला अंग्रेजीको भाषास्तर तोकिनुले समस्या झन बढ्यो । यो समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा अष्ट्रेलियामा रहेका नेपाली सामुदायिक संस्थाका प्रतिनिधि र शैक्षिक परामर्श दाताहरुबीच सामान्य कुराकानी मात्रै भयो ।

त्यही भएर, अंग्रेजीमा उच्चस्तर ल्याउन नसक्ने तालिमे कलेजमा नर्सिङ पढिरहेका अन्तर्राष्ट्रिय विद्यार्थी झण्डै ८ महिनादेखि मानसिक रुपमा विक्षिप्त थिए । एआईबीटी प्रशासन र विद्यार्थीहरुबीच विभिन्न कुराकानी भए पनि समाधान निस्किएको थिएन ।

विद्यार्थी र एआईबीटी प्रशासनबीच नर्सिङ विषयको सम्बन्धनलाई लिएर समस्या बढेको बेला अष्ट्रेलियन स्किल क्वालिटी अथोरिटीले फेब्रुअरी १९ तारिखमा एआईबीटीको दर्ता नै खारेज गरिदियो । अब एआईबीटीमा अन्य विषय पढिरहेका विद्यार्थी पनि समस्यामा परे । त्यसपछि नेपाली मिडियाले बहकिँदै शैक्षिक परामर्शदाता कम्पनीले ठगे भन्दै समाचार लेख्न थाले ।

 

दर्ता खारेजीको निर्णय भएको मिति १९ फेब्रुअरी २०१९ बाट २८ दिनभित्र कलेजले दर्ता खारेजीविरुद्ध अपील गर्न पाउँछ । एआईबीटीले दर्ता खारेजीविरुद्ध अपील पनि गरिसकेको छ । अब कलेजको पुन: दर्ता भएमा नर्सिङबाहेक अरु विषयका विद्यार्थीको समस्या सकिन्छ ।

नर्सिङ् विषय पढिरहेका नेपाली विद्यार्थीलाई यो एकपटकलाई अंग्रेजी भाषाको स्तर परीक्षा आइएलटीएसमा कम अंक ल्याए पनि पढ्न दिने व्यवस्थाका लागि पहल भैरहेको छ ।

कसले कति विद्यार्थी पठाए एआईबीटीमा – जसअपजस सबैकाे

शैक्षिक परामर्शदाता कम्पनीहरु आफूले पठाएको विद्यार्थी संख्या संञ्चारमाध्यमलाई उपलब्ध गराउन मानिरहेका छैनन् । काठमाण्डाैको पत्रकार सम्मेलनमा पेशागत संगठनका अध्यक्षहरुले एआईबीटीमा पढिरहेका विद्यार्थीको यकिन तथ्यांक निस्किनै बाँकी रहेको बताए । तर यस्तो जवाफ पत्रकारले पत्याएनन् ।

यसको अर्थ नेपालबाट अष्ट्रेलियामा विद्यार्थी पठाउने चारवटा पेशागत संगठनमा आवद्ध सबै शैक्षिक परामर्शदाताले विद्यार्थी अष्ट्रेलिया पठाएको जस र अपजस लिन खोजेको देखिन्छ । अहिलेसम्म आएका तथ्यांकलाई आधार मान्ने हो भने एआईबीटीमा नर्सिङ पढिरहेका विद्यार्थीको सँख्या साढे सात सयदेखि हजारको हाराहारीमा रहेको बुझिन्छ ।

नेपालमा शिक्षा मन्त्रालयमा दर्ता भएका शैक्षिक परामर्श दाता (कन्सल्ट्यान्सी) को सँख्या १ हजार ४ सय ७३ छ । अहिले अप्ठ्यारोमा परेका विद्यार्थीको संख्या हजार मान्ने हो भने प्रत्येक कन्सल्ट्यान्सीको भागमा एकजना पनि विद्यार्थी पर्दैन । पेशागत संस्थामा आवद्ध नभएका कन्सल्ट्यान्सीले पनि एआईबीटीले विद्यार्थी पठाएको हुन सक्छ ।

काठमाण्डूमा शैक्षिक परामर्शदाताहरुको पत्रकार सम्मेलनमा पत्रकार भन्दा व्यवसायी धेरै
काठमाण्डूमा शैक्षिक परामर्शदाताहरुको पत्रकार सम्मेलनमा पत्रकार भन्दा व्यवसायी धेरै

नेपालबाट विदेशमा विद्यार्थी पठाउने शैक्षिक परामर्श पेशामा विदेशी लगानीका संस्थाले पनि शाखा खोलेर काम गरिरहेका छन् । नेपाली शैक्षिक परामर्शदाता कम्पनीहरु काम गर्न सक्षम हुँदाहुँदै यो पेशामा वैदेशिक लगानी भित्र्याउन नहुने तर्क नेपाली व्यवसायीको छ ।

शैक्षिक परामर्शदाताहरुका पेशागत संगठनले निकालेको संयुक्त विज्ञप्तीमा “सरकारबाट सेवा सञ्चालन स्वीकृति नलिइ अवैधानिक रुपमा परामर्श सेवा, भाषा शिक्षण लगायत औपचारिक, अनौपचारिक अस्वस्थ्य व्यवसाय गरिरहेका व्यक्ति, संस्था तथा कम्पनीहरुलाई तत्काल कार्वाही  तथा बन्द गर्नुपर्ने” माग गरिएको छ ।

विदेशीका कलेजले नेपालमा सिधै आएर मार्केटिङ गर्ने, यहाँ सञ्चालित एजेन्सीसँगको मिलेमतोमा काम गर्ने, सिधै विद्यार्थी लैजाने परिपाटी अन्त्य हुनुपर्ने शैक्षिक परामर्शदाताहरुको माग छ । नेपालमा पेशागत संगठनमा आबद्ध भएका, संगठनमा आबद्ध नभएका, सरकारबाट स्वीकृति प्राप्त गर्ने प्रकृयामा रहेका र विदेशी लगानीमा खुलेका गरी पाँच प्रकारका एजुकेशन कन्सल्ट्यान्सी सञ्चालनमा छन् ।

एआईबीटी समस्या समाधानका लागि भैरहेको पहल

एआईबीटी र अरु कलेजमा नर्सिङ पढिरहेका विद्यार्थीलाई सहयोगका लागि न्यू साउथ वेल्स राज्यमा नेपाली अवैतानिक महाबाणिज्यदूतको कार्यालयले हेल्प डेस्क स्थापना गरेको छ । विद्यार्थीको समस्या टिपोट गरेर सम्बन्धित निकायमा समाधान पहल गर्ने बाणिज्यदूतको कार्यालयले जनाएको छ । यो डेक्स अहिलेका लागि एक महिनासम्म सञ्चालनमा आउनेछ । विद्यार्थीले आफ्ना समस्या फोनबाट टिपाउन वा इमेलमा लेखेर पठाउन सक्छन् ।

यसअघि एआईबीटी कलेज दर्ता खारेजलगत्तै फेबु्रअरी २१ तारिखमा महाबाणिज्यदूतको सिड्नी कार्यालयमा गैरआवासीय नेपाली संघ, अष्ट्रेलियन एजुकेसन कन्सल्ट्यान्ट एलाइन्स (एक्का), अष्ट्रेलियामा रहेको अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संगठन (सिसा) वकिल, पत्रकारलगायत सरोकारवाला निकायसँग छलफल भएको थियो । छलफलले समस्या समाधान पहल गर्न कार्यदल गठन गरेको थियो ।

एआईबीटीको विषय सार्वजनिक हुनेबित्तिकै नेपालमा शिक्षा मन्त्रालयले छानबिन समिति गठन गर्‍याे । समितिले देशमा सञ्चालित शैक्षिक परामर्शदाता कम्पनीलाई विद्यार्थीको विवरण पठाउन अनुरोध गरेको छ । त्यसबाहेक सुक्ष्म रुपमा छानबिन गरिरहेको शिक्षा मन्त्रालयका अधिकृतहरुले पत्रकारलाई बताएका छन् ।

क्यानबेरामा रहेको नेपाली दूतावासले अष्ट्रेलिया सरकारको सम्बन्धित विभागलाई पत्र लेखेर समस्या समाधानको पहल गर्न अनुरोध गरेको छ । यसै विषयमा क्यनबेरामा शिक्षा विभागमा छलफलसमेत भयो । छलफलमा दूतावासका अधिकृतहरुले नेपाली विद्यार्थीको समस्या समाधानको पहल गरिदिन अनुरोध गरेका गरे ।

Ujyaalo Online 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com