अमेरिकी डलरसहित दुई महिला पक्राउ
प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ अवैध रूपमा लैजान लागिएको अमेरिकी डलरसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारकी सरला खड्का र रिंकु गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार बिहान साढे १० बजे विमानस्थल परिसरबाट पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले ६९ हजार ५ सय ५० अमेरिकी डलर बरामद गरेको छ । उनीहरूले उक्त रकम सुटकेसमा लुकाई नेपाल एयरलाइन्सबाट बैंकक लैजान खोजेका थिए ।
कार्यालयका एसएसपी सन्दीप भण्डारीले एक्सरे मेसिनबाट जाँच गर्ने क्रममा उनीहरूले लैजान खोजेको रकम बरामद भएको बताए । उनले भने, ‘नेपालको कानुनले पाँच हजार अमेरिकी डलर भन्दा धेरै रकम लिएर विदेश जान दिँदैन । तर, उनीहरू दुई जनाले झन्डै ७० हजार अमेरिकी डलर लैजान लागेको देखियो । यो कानुनविपरीत हो । त्यसो हुँदा उनीहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।’
प्रहरीका अनुसार गुरुङ पटक–पटक विदेश जाने आउने गरेको देखिन्छ । पटक–पटक विदेश जानुको कारण भने खुलेको छैन । एसएसपी भण्डारीले भने,‘ गुरुङ पटक–पटक विदेश जाने आउने गरेको देखिन्छ ।
किन यस्तो भइरहेको छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।’ प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान गर्न बरामद रकमसहित खड्का र गुरुङलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ ।