न्युयोर्कमा नीजि भाषण गर्दै बर्नी स्याण्डर्सले सुरु गरे राष्ट्रपतिका लागि चुनावी अभियान


प्रकाशित मिति : फाल्गुन १९, २०७५ आईतबार

संयुक्त राज्य अमेरिकाका वरिष्ठ सिनेटर बर्नी स्यान्डर्सले सन् २०२०मा हुने राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार बन्नका लागि चुनावी अभियान थालेका छन्।

उनले व्यवसायीहरूको लोभ लालचको आलोचना गर्दै राजनीतिक क्रान्ति सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले डोनल्ड ट्रम्प अमेरिकाको “आधुनिक इतिहासकै सबैभन्दा खतरनाक राष्ट्रपति” भएको टिप्पणी गरे।

ब्रुकलिन, न्यूयोर्कमा समर्थकहरू सामु बोल्दै स्यान्डर्सले चुनावमार्फत राष्ट्रपति डोनल्ड ट्रम्पलाई सत्ताबाट हटाउने प्रतिबद्धता व्यक्त गरे। भर्मन्टका ७७ वर्षीय सिनेटर स्यान्डर्सले सन् २०१६को चुनाव अघि डेमोक्र्याट उम्मेदवार हिलरी क्लिन्टनबाट पराजित भएका थिए।

उनले आर्थिक, जातीय र वातावरणीय न्यायका लागि लड्ने बताएका छन्। आफ्नो परिवारले आर्थिक चुनौतीहरूको सामना गरेको स्मरण गर्दै उनले भने, “म कहाँबाट आएको हुँ त्यो मलाई राम्रोसँग थाहा छ। त्यो म कहिल्यै बिर्सने छैन।”

स्यान्डर्स डेमोक्र्याटिक पार्टीको तर्फबाट चुनावी मैदानमा होमिने दश भन्दा बढी उम्मेदवारहरू मध्येका एक हुन्। स्वास्थ्य सेवामा सबैको पहुँच र नि:शुल्क विश्वविद्यालय अध्ययन जस्ता उनका नीतिलाई अन्य केही उम्मेदवारहरूले पनि आत्मसात गरिसकेका छन्।

उनले रोजगारी, आयस्तर र आप्रवासन नीतिमा सुधारलाई प्राथमिकता दिने बताएका छन्। चुनावी अभियान सुरु गर्दै स्यान्डर्सले सबै अमेरिकी जनतालाई एकै ठाउँमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com